२९ आश्विन २०८३, बिहिबार

नक्कली नागरिकता बनाउने अधिकृत पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nagariktaसप्तरी, २२ असार । कीर्ते गरी नागरिकता बनाएको आरोपमा जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृतसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा प्रशासकीय अधिकृत तेजेन्द्रबहादुर कार्की, काचन गाविसका सचिव नवोनाथ मिश्र र प्रहरी चौकी काचनमा कार्यरत प्रहरी सहायक निरीक्षक सत्यनारायण महतो रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीनैजनामाथि मुद्दा दर्ता गरी कारबाही थालिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए ।

काठमाडौं महानगरपालिका–१ बस्ने प्रल्हाद शम्शेरको छोरा ज्योतिशम्शेर राणाको नाममा सप्तरी काचन–२, ३, ४, ६ र ७ मा रहेको २४ बिघा जग्गा हडप्ने नियतले स्थानीय एक व्यक्तिलाई जग्गाधनी ज्योतिशम्शेरका नाममा झुटो विवरण पेस गरी नागरिकता बनाइदिएको अभियोगमा तीनैजनालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक बैदवारले बताए ।

ज्योतिशम्शेर राणाको नाममा कीर्ते नागरिकता बनाउने व्यक्तिको नाम, थर र वतन प्रहरीले खुलाएको छैन । ज्योतिशम्शेर वर्षौंदेखि भारतको दिल्लीमा रहँदै आएको मौका छोपी सप्तरीको काचन गाविसस्थित २४ बिघा जग्गा काचन गाविसकै स्थानीयवासीले भाडामा लगाई उपभोग गर्दै आएका छन् ।

ज्योतिशम्शेरको नामबाट ती अपरिचित युवकको फोटो टाँस गरी गत वैशाख २९ गते जिल्ला प्रशासन कार्यालय सप्तरीबाट नागरिकता लिइएको थियो । ती व्यक्तिको नाममा जारी भएको १६–०१–७१–००५९४ नम्बरको नागरिकता प्रमाणपत्रमा प्रशासकीय अधिकृत तेजेन्द्रबहादुर कार्कीको हस्ताक्षर रहेको छ ।

नागरिकता लिएका ती व्यक्तिले मालपोत कार्यालय सप्तरीमा जग्गा नामसारीका लागि आवेदन दिएको बखत सोधपुछ गर्दा नागरिकता कीर्ते रहेको पाइएपछि उहाँहरुलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक बैदवारले बताए ।