भक्तपुर, १९ मङ्सिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले मधेस आन्दोलनको साँचो देशबाहिर रहेको बताउनुभएको छ ।
नेकपा (एमाले) नगरकोट नगर कमिटीले आज सुडालमा आयोजना गरेको पहिलो स्थापना दिवस कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले मधेस आन्दोलनको रिमोट देश बाहिरबाट चलेको बताउनुभएको हो ।
मधेस आन्दोलन भारतको इशारामा चलेको तर्फ सङ्केत गर्दै मन्त्री पोखरेलले भन्नुभयो – “मधेसी मोर्चाको माग आफ्नै माग नभई अन्यत्रबाट निर्देशित हो, त्यसको रिमोट पनि देशभित्र छैन, देश बाहिरैबाट सञ्चालित छ ।”
उहाँले मधेसी मोर्चाका नेताहरुसमेत देश बाहिरबाटै निर्देशित भएकाले यसको समाधान पनि उनीहरुसँग नभई देश बाहिरै खोज्नुपर्ने औँल्याउनुभयो ।
मन्त्री पोखरेलले अन्तर्राष्ट्रिय विमानस्थलमा एक हप्ताभित्र सुधार गरिने बताउँदै नेपालको वायुसेवालाई बलियो नबनाएसम्म मुलुक आत्मनिर्भर बन्न नसक्ने चर्चा गर्नुभयो ।
पर्यटन व्यवसायमार्फत मुलुकको मुहार फेर्न सकिने बताउँदै नेपालको पर्यटकीय क्षेत्रको राष्ट्रिय गुरुयोजना निर्माण गर्न सरकार लागेको उहाँको भनाइ थियो ।
पर्यटकीय क्षेत्र नगरकोटको विकासका लागि सरकार सक्दो सहयोग गर्न तयार रहेको बताउँदै उहाँले नगरकोट जाने वैकल्पिक मार्ग कमल विनायक–कलमसी–सुडाल–नगरकोट सडकको स्तरोन्नति एवम् यस क्षेत्रको विकासका लागि गुरुयोजना बनाएर आए मन्त्रालय सहयोग गर्न तयार रहेको बताउनुभयो ।
उहाँले एकसय वर्षभन्दा अघिका धार्मिक एवम् ऐतिहासिक पुरातात्विक संरचना भूकम्पले भत्काएको भए पुनःनिर्माणमा सहयोग गर्न सरकार तयार रहेको उहाँको भनाइ थियो ।
एमाले नगरकोट नगर कमिटीका अध्यक्ष विष्णु तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेकपा (एमाले) भक्तपुर जिल्ला उपाध्यक्ष बच्चन देउजा, एमाले भक्तपुर जिल्ला सचिव हरिशरण लामिछानेलगायतले देशको इन्धन सङ्कट हटाउन सबै पक्षले कदम चाल्नुपर्ने बताउनुभयो । रासस












प्रतिक्रिया