काठमाडौ, २२ असार । सुखानीमा मारिएका झापा विद्रोही रामनाथ दाहालकी जेठी पत्नी जानुका भन्छिन्, ‘मेरो घरमा जब नयाँ-नयाँ मान्छे आउन थाल्छन्, तब मलाई थाहा हुन्छ, फेरि फागुन २१ गते आएछ ।’
झापा-इलाम सीमास्थित सुखानी जंगलमा तीन सहकर्मीसँगै २०२९ फागुन २१ गते मारिएका थिए उनका पति । चन्द्रगढीबाट इलाम जेल सार्ने भन्दै लगिएका रामनाथ, कृष्ण कुइँकेल, वीरेन राजवंशी र नेत्रलाल अभागीलाई पञ्चायती प्रशासनले बाटैमा हत्या गरेको थियो ।
मार्न त झापालीहरूले पनि सामन्त र सुराकीका नाममा ९ जना मारेकै हुन् । तर आज झापा विद्रोहका नाइकेदेखि कार्यकर्तासम्म स्वीकार्छन्, त्यो माक्र्सवादको नाममा नजानीकन गरिएको व्यक्ति हत्याको राजनीति थियो ।
यसो भन्नेमा एमाले नेता केपी ओली, माले महासचिव सीपी मैनाली, नेताहरू मोहनचन्द्र अधिकारी, राधाकृष्ण मैनाली, नरेश खरेललगायत एकमत देखिन्छन् । सीपी भन्छन्, ‘त्यो उचित विद्रोह थियो, तर शैली उग्रवादी भयो ।’
झापा विद्रोहकै परिणामस्वरूप ०३२ सालमा कोअर्डिनेसन केन्द्र, ०३५ मा नेकपा माले हुँदै आजको दोस्रो ठूलो दल एमाले निर्माण हुन सकेको हो ।
त्यही एमाले अहिले नवौं महाधिवेशन गरिरहँदा उम्मेदवार र प्रतिनिधिका रूपमा झापा विद्रोहका हस्तीहरूसमेत सामेल छन् । तर ती असंख्य गुमनामहरू, जो राजनीतिमा स्थापित हुन सकेनन्, आज कहाँ छन् त ?
नक्खु जेल तोडेर उम्केका झापाली विद्रोही जीवन मगर ०२९ माघ १ गते कृष्ण कुइँकेल र नारायण श्रेष्ठसँगै समातिएका थिए । तीमध्ये कृष्ण र नारायण सुखानीमै मारिएका थिए । लामो राजनीतिक क्रियाशीलतापछि उनी सामान्य जीवन बिताइरहेका छन् । भन्छन्, ‘राजनीतिमा लाग्ने थप मोह छैन ।’ कान्तिपुर दैनिकबाट













प्रतिक्रिया