काठमाडौं, २२ असार । संविधानसभाको प्रक्रिया बाहिर रहेको नेकपा-माओवादीको केन्द्रीय समितिमा पार्टीको भावी कार्यदिशाबारे दुई धारबाट बहस चलेको छ ।
आगामी राष्ट्रिय सम्मेलनलाई केन्द्रित गरी ४ दिन देखि राजधानीमा जारी बैठकमा केन्द्रीय सदस्यहरुले राजनीतिक दस्तावेजमा बहस केन्द्रीत गरेको पोलिटब्यूरो सदस्य एवं प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।
बैठकमा अध्यक्ष मोहन वैद्यले पेस गरेको दस्तावेजमा अहिलेकै जनयुद्धको जगमा जनविद्रोहको कार्यदिशालाई समृद्ध गर्नुपर्ने उल्लेख छ । त्यसमा फरक प्रस्ताव राख्दै सचिव नेत्रविक्रम चन्दले भने नयाँ ढंगको जनयुद्धको खाँचोसहितको दस्तावेज पेस गरेका छन् ।
दुवै दस्तावेजमाथि भएको बहस र छलफलले समग्रमा पार्टीको भावी दिशालाई मजबुत बनाउने भएकाले सबैले सकरात्मक ढंगले लिएको केन्द्रीय सदस्य सुरेश आलेमगरले प्रतिक्रिया दिए ।
‘दस्तावेज र केन्द्रीय समितिमा भएका छलफलले अब नयाँ ढंगको क्रान्ति गर्नुपर्ने देखाउँछ । त्यसलाई आगामी सम्मेलनले नै अन्तिम रुप दिनेछ’, नेता आलेमगरले भने ।
प्रवक्ता भुसालका अनुसार शनिवारसम्म २४ जना केन्द्रीय सदस्यले आफ्ना धारणा राख्दै अहिलेको कार्यदिशालाई समृद्ध र सुधार गर्नुपर्नेमा जोड दिएका थिए । बैठक अझै २ दिन लम्बिनेछ । पदाधिकारीसहित ४३ जना केन्द्रीय समिति बैठकपछि वैकल्पिक केन्द्रीय सदस्यसहितको पूर्ण बैठक राख्ने तयारीमा माओवादी छ । कान्तिपुर दैनिकबाट













प्रतिक्रिया