काठमाडौं । म्याच फिक्सिङको आरोपमा विशेष अदालतबाट धरौटीमा छुटेका नेपाली फुटबल राष्ट्रिय टोलीका कप्तान सागर थापासहित पाँच खेलाडीसँग एसियाली फुटबल महासंघ(एएफसी) ले बयान लिने भएको छ ।
कप्तान सागर थापा, उपकप्तान सन्दिप राई, गोलकिपर रितेश थापा, पूर्व खेलाडी विकाससिंह क्षेत्री र प्रशिक्षक अञ्जन केसीसँग बयान लिने बताइएको समाचार यूनाइटेड पोष्ट साप्ताहिकले छापेको छ ।
डिसेम्बर ५ देखि १५ तारिखसम्म बयान लिने र फिक्सिङको विषयमा उनीहरुसँग सोधपुछ हुने स्रोतको दावी छ । बयानका क्रममा उनीहरुले एन्फाका निलम्बित अध्यक्ष गणेश थापाको नाम पोलेको खण्डमा थापा पनि पक्राउ पर्नेछन् ।
म्याच फिक्सिङमा थापा र उनका छोरा गौरव समेत संलग्न रहेको बताइएको छ । एएफसीले म्याच फिक्सिङको विषयमा नेपालमा अनुसन्धान गरिरहेको महानगरिय प्रहरी अपराध महाशाखालाई नेपाली खेलाडीको संलग्नतालाई लिएर पहिले नै रिपोर्ट बुझाइसकेको छ ।
यस्तो अवस्थामा एएफसीले खेलाडीसँग उनीहरु बाहेक अन्यको संलग्नता बुझ्ने प्रयास गर्नेछ । फिक्सिङमा अन्य व्यक्तिको नाम फेला नपरेको खण्डमा खेलाडीहरुलाई आजीवन प्रतिबन्ध लगाउने सम्भावना प्रबल रहेको छ ।
देशको झण्डा बोकेर, राष्ट्रिय गानमा छातीमा हात राखेर खेल मैदानमा उत्रने खेलाडीहरुले कम्तिमा ६ खेलमा म्याच फिक्सिङ गरेको प्रहरी अनुसन्धानबाट खुलिसकेको छ ।
एउटा खेल हार्न पाँच लाख रुपियाँ लिने गरेको प्रहरीसँगको बयानमा उनीहरुले स्वीकारेका थिए । अदालतले सन्दिप राई र विकाससिंह क्षेत्रीलाई ५०–५० हजारमा धरौटीमा रिहा गरेको थियो भने गोलकिपर रितेश थापा र प्रशिक्षक अञ्जन केसीलाई जनही पाँच लाख धरौटी लिएर छाड्न आदेश दिएको थियो ।
प्रहरीले उनीहरुलाई राज्यविरुद्धको अपराधमा जन्मकैदको माग गर्दै मुद्दा दायर गरेको थियो । विश्व विख्यात फिक्सर विलसनराज पेरुमलसँग दरबार मार्गस्थित एक रेष्टुरेण्टमा भेटेर फिक्सिङको योजना बुनेको अभियोग लागेका सागर थापालाई एक लाख ५० हजार धरौटी लिएको थियो ।
यस्तै एएफसीको स्पोर्टराडार सेक्युरिटी सर्भिसेज् र नेपाल प्रहरीको संयुक्त छानबिनमा नेपालले सन् २००८ यता खेलेका २३ मध्ये अफगानिस्तान, मलेशिया, फिलिपिन्स, भारत, सियरालियोन र दक्षिण कोरियासँगको प्रतिस्पर्धामा यस्तो अपराध प्रमाणित भएको थियो ।















प्रतिक्रिया