– वासुदेव मिश्र
कास्की, १२ मङ्सिर । क्लिक, क्लिक र क्लिक ! एकनासले दबाइएका क्यामेराका सटरस्पिडले दिने अनौठो आवाज । शरद ऋतु । खुलेको मौसम । आँखैमा टाँस्सिन आइपुग्ने अन्नपूर्ण र कुमारी माछापुच्छे । फेवातालको कञ्चन पानी अनि त्यही पानीमा देखिने अन्नपूर्ण र माछापुच्छेको छाया ।
“सुन्दर पोखरालाई तस्बिरमा उतार्ने हिमाल खुलेकै बेला हो,” पोखराका पाका पत्रकार तथा व्यावसायिक फोटोग्राफर विश्व शाक्यले भन्नुभयो, “यो मौसममा पोखरा प्रस्टै खुल्छ ।”
पोखरा हरेक मौसममा सुन्दर देखिन्छ । शाक्यले आफूले उतारेकामध्ये शरद ऋतुकालीन तस्बिर नै बढी मात्रामा राम्रा र देश विदेश पुगेको सुनाउनुभयो । विसं २०२० तिरदेखि फोटो खिच्न थाल्नुभएको हो शाक्यले । पोखरा र वरपरको दृश्यलाई ‘पैसा’मा परिणत गर्ने श्रेय पाउनुभएका उहाँले असोजदेखि माघसम्म पोखराको सबै ठाउँ फोटो खिच्न उपयुक्त हुने बताउनुहुन्छ ।
यस क्षेत्रमा पाकेको धानबाली, गाउँले महिलाको दैनिकी तथा सुन्दर हिमालको संयोजन मिलाएर बढी तस्बिर खिचिन्छ । तस्बिरका बारेमा लेखिएको विवरण (क्याप्सन) नै नलेखे पनि यो पोखराको तस्बिर हो भनेर चिन्न सकिने भएकाले पनि पोखरा फोटोग्राफरको लागि प्रिय ठाउँ भएको प्रमाणित हुन्छ ।
पोखरा दृश्यमा सबैभन्दा बढी समेटिएको उपत्यका भएको पोखरेली फोटोग्राफरहरूको अनुभव छ ।
पोखराका पुराना डाक्टर कुमार शम्शेर राणाको घरमा पोखराकै हिमालको तस्बिर देखेपछि पोखराको सौन्दर्यलाई बेच्न सकिन्छ भन्ने सोच बनाएका शाक्यले स्वदेशी र विदेशीलाई माछापुच्छे«, अन्नपूर्ण र फेवाताललगायतका दृश्यको सयौँ तस्बिर बेचेको सुनाउनुहुन्छ ।
“विसं २०३९ तिर पोखराको सौन्दर्य बेच्न सकिन्छ भन्ने लागेपछि जर्मन म्यामियर क्यामेराबाट खिचेका फोटोलाई फ्रेममा सजाएर बेच्न थालेँ,” उहाँले अतीत सम्झँदै भन्नुभयो – “बढीमा रु आठ हजारसम्ममा एउटा फोटो बेचेको याद छ ।”
उहाँलाई मात्र होइन, मनको आँखाले देखेका हिमाली सौन्दर्यलाई रङ र कुचीले क्यानभासमा उतार्दै आएका प्रख्यात चित्रकार तथा काटुर्निष्ट दुर्गा बरालको अनुभव पनि उस्तै छ ।
“हाँस्दा मान्छे राम्रो देखिने जस्तै त हो नि !,” उहाँले आफ्नै शैलीमा भन्नुभयो – “हिमाल राम्रो खुल्ने नै शरद ऋतुमा हो । चित्र र दृश्य राम्रो पनि यही बेला कै हुन्छ ।”
कामकाजी जीवनको सुरुवाततिरको एक वर्ष जति जन्मथलो पोखरामा व्यावसायिक फोटो स्टुडियो र त्यसपछिका १६ वर्ष ‘इगल आइ’ नामक कला स्टुडियो सञ्चालन गर्दाको अनुभव सुनाउँदै बरालले थप्नुभयो– “पोखराको चिनारीसँग फेवाताल र माछापुच्छे« जोडिन्छ । अनि तस्बिर खिच्दा होस् वा चित्र बनाउँदा, पाश्र्व दृश्य सुन्दर देखिनाले पनि पोखरा फोटोग्राफीको लागि सुन्दर ठाउँ बन्न पुग्छ ।”
पोखरामा अग्ला घर बन्न थालेपछि माछापुच्छे«, अन्नपूर्ण र धौलागिरि हिमशृङ्खलाको तस्बिर खिच्न पोखरा वरपरका सराङ्कोट, निर्मलपोखरीलगायतका डाँडामा जानुपरेको अनुभव यहाँका फोटोग्राफर सुनाउँछन् । लेखनाथकै गगनगौँडा क्षेत्रबाट लामो हिमाली दृश्य क्यामेरामा कैद गर्न सकिन्छ । “सुन्दर प्राकृतिक सौन्दर्यकै कारण पोखराको फोटो संसारभर लोकप्रिय छ,” फोटो पत्रकार राम गुरुङ भन्नुहुन्छ ।
पोखराको सुन्दरतालाई शब्दमा र तस्बिरमा वर्णन गर्न थालिएको धेरै भयो । बिहानको लालीमासँगै माछापुच्छे« र अन्नपूर्ण फेवातालमा पौडी खेल्छन् । दिन ढल्दै जाँदा माछापुच्छे« र अन्नपूर्णले रुप बदल्छन् । अनि, तामाजस्तै टल्कन्छन् । दिनमा तीनपटक रङ बदल्ने भनिएको रुपाताल सौन्दर्यको त झन् कुरै भएन ।
हावाको दूरीमा पोखराबाट करिब ३५ किलोमिटर टाढाका माछापुच्छे« र फेवातालबीचको यही साइनोलाई गायक प्रेमप्रकाश मल्लले शब्दमा उतारेर भन्नुभयो – “माछापुच्छे« फेवातालमा पौडी खेल्दो रै’ छ, पोखरा त साँच्चिकैको पोखरा पो रै’ छ ……”
अझ, नेपाललाई विश्वमाझ चिनाउन महत्वपूर्ण भूमिका खेलेका जापानी भिक्षु एकाइ कावागुचीले सन् १८९९ मा पोखरा भ्रमण गरेपछि भन्नुभएको थियो – “यदि संसारमा कहीँ स्वर्ग छ भने त्यो पोखराको उत्तरी भागबाट सुरु हुन्छ ।”
माछापुच्छे« र अन्नपूर्णको सुन्दर दृश्यले लोभिएका स्वीस नागरिक टोनी हेगनले यिनै तस्बिरमार्फत संसारभर जापानी भिक्षुको सन्देशलाई पु¥याउने काम गर्नुभयो । सन् १९५० ताका नेपालको १४ हजार किलोमिटर भूभाग पैदलयात्रा गर्नुभएका उहाँले पोखराको सुन्दर तस्बिरलाई विश्वमाझ पु¥याउनु भयो ।
हेगनकै तस्बिरमार्फत नेपालले विश्वमाझ नयाँ परिचय पाएको पर्यटनविद् श्रीकान्त खतिवडा बताउनुहुन्छ ।
हेगनको तस्बिरमा देखिने स्वच्छ फेवाताल र त्यसमा पर्ने माछापुच्छे« र अन्नपूर्णको छायाले नेपाललाई अद्वितीय सुन्दर राष्ट्रको रुपमा परिचय दिएको पर्यटनविद् खतिवडाको बुझाइ छ ।
नेपालीले मात्र नभएर केही प्रख्यात विदेशी फोटोग्राफरले समेत पोखराको तस्बिर व्यावसायिकरुपमै विश्वमाझ पु¥याएको अर्का फोटो पत्रकार कृष्णमणि बराल बताउनुहुन्छ । खुलेको हिमाललाई पृष्ठभूमिमा पारेर तस्बिर खिच्दा अर्कै मज्जा आउने उहाँको अनुभव छ । उहाँ भन्नुहुन्छ – “पोखरा र वरपरका दृश्य समेटिएका सयौँ पोष्टकार्ड र फोटो विश्वमाझ पुगेका छन् र अधिकांश फोटा असोजदेखि माघभित्र खिचिएका नै छन् ।”
हालसालै हिमालकै तस्बिर खिच्न भनेर ४० फोटोग्राफरको नेतृत्व गर्दै पोखरा आएका कोरियन फोटोग्राफी एसोसियसन (हान्गुक साजिन छाक्का हेफ्फे) का टोली नेता किम साङ युनका अनुसार यति कम उचाइबाट त्यति अग्लो सुन्दर साङ (हिमाल) को तस्बिर खिच्न पाएकामा कोरियाली फोटोग्राफर आफूलाई भाग्यमानी सम्झिरहेका छन् । उहाँले पोखराको पर्यटन प्रवद्र्धन गर्न फोटोग्राफीका लागि वरपरका डाँडामा ‘फोटोग्राफी स्पट’हरू बनाउन सुझाव समेत दिनुभयो ।
तर, बढ्दो प्रदूषणले पोखरा पहिलाजस्तो भने छैन । पोखरामा अग्ला घर बनेपछि हिमाली दृश्य छेकिन थालेको छ । फोहरले फेवातालमा माछापुच्छे«को छाया परेको दृश्य हेर्नसमेत धौ–धौ पर्न थालेको छ ।
“तर पनि ताल र हिमाल अनि यहाँको जनजीवनको दृश्य खिच्ने प्रवृत्तिमा भने कमी आएको छैन, व्यावसायिकतासँगै शोखले फोटो खिच्न यहाँ आउने पर्यटक पनि अत्यधिक नै छन्,” अर्का फोटो पत्रकार सुदर्शन रञ्जितले भन्नुभयो ।
माङ्गलिक कार्य तथा अन्य पर्वमा तस्बिर खिच्नेको सङ्गठन पोखरा फोटोग्राफर सङ्घमा समेत आबद्ध रञ्जितले त्यस्ता अवसरको तस्बिर लिँदा पनि खुलेको माछापुच्छे« पृष्ठभूमिमा देखाउन पाउनु नै पोखराको विशेषता भएको बताउनुभयो ।
सुन्दर दृश्यले नै मानिसलाई तस्बिर खिच्न उक्साउने गर्छ । पोखराको दृश्यमा फोटो खिच्न उक्साउने जादु छ । फोटो खिच्दा आँखालाई पानी जस्तै बग्न दिनुपर्ने, प्रकाशको संयोजन मिलाउनु पर्ने तथा दृश्य सजीव छ÷छैन भन्नेमा ध्यान दिनुपर्ने हुन्छ ।
“आँखा दौडाएर भाव खोज्न सकिने फोटो सजीव हुन्छन्, फोटो खिच्नु कलाकारिता नै हो र कला चेतले फोटो राम्रो हुने हो,” अग्रज फोटोग्राफर शाक्य आफ्नो अनुभवलाई यसरी व्यक्त गर्नुहुन्छ । रासस
















प्रतिक्रिया