१२ कार्तिक २०८३, बिहिबार

सूचना प्रविधिमार्फत समृद्धिका लागि सरकार क्रियाशीलः मन्त्री राई

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ser-dhan-raiकाठमाडौँ, ११ मङ्सिर । सूचना तथा सञ्चार प्रविधि मन्त्री शेरधन राईले सूचना प्रविधिको प्रयोग बढाएर मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउन वर्तमान सरकार क्रियाशील रहेको बताउनुभएको छ ।

विज्ञान तथा वातावरण मन्त्रालय र नेपाल राष्ट्र बैंकको सहयोगमा सूचना प्रविधि सुरक्षण आकस्मिक प्रत्युत्तर समूह नेपाल (आइटिएसआरटी)ले आज यहाँ आयोजना गरेको ‘वित्तीय समावेशीता र भुक्तानी प्रणाली सुरक्षण’ विषयक तीनदिने सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो ।

आधिकारिक, भरपर्दो, विश्वसनीय, सुरक्षित, सरल एवम् सहज सेवा प्रवाहका लागि सूचना तथा सञ्चार प्रविधिसँग समाहित भएर मुलुकलाई आर्थिक उन्नयनको पथमा डो¥याउन आवश्यक भएको मन्त्री राईले बताउनुभयो ।

सूचना तथा सञ्चार प्रविधिको अधिकतम उपयोगलाई प्रवद्र्धन गर्दै त्यस निम्ति नीति, नियम र ऐनलाई समयसापेक्ष तुल्याउन सूचना तथा सञ्चार प्रविधि मन्त्रालय प्रतिबद्ध रहेको बताउँदै उहाँले सूचना प्रविधिलाई देशभर स्थापित गराउन आफू लागिपरेको स्पष्ट गर्नुभयो ।

सूचना तथा सञ्चार प्रविधिसम्बन्धी नीति, त्यसले गरेका व्यवस्थाको प्रभावकारी कार्यान्वयन तथा प्राथमिकीकरणजस्ता विषयलाई मन्त्रालयले उच्च प्राथमिकता दिएको जानकारी दिँदै उहाँले विद्युतीय कारोबार ऐनलगायत नियमनकारी नीतिलाई समयानुकूल तुल्याउन सम्बद्ध निकायका विज्ञ र जानकारसँग परामर्श गरेर अघि बढ्ने नीति मन्त्रालयले अङ्गीकार गरेको बताउनुभयो ।

“विद्युतीय कारोबार ऐन वर्तमान परिप्रेक्ष्यमा पर्याप्त छ÷छैन, त्यसबारेमा अध्ययन भइरहेको छ, निजी क्षेत्रसँग मिलेर उपयुक्त ऐन कानुन तर्जुमा गर्नेतर्फ पनि मन्त्रालयले अध्ययन गरिरहेको छ” – ऐन नियम अद्यावधिक गर्न उत्तिकै आवश्यक भएको बताउँदै मन्त्री राईले भन्नुभयो ।

सूचना तथा सञ्चार प्रविधिसम्बन्धी भौतिक पूर्वाधार निर्माणलाई पनि सरकारले उत्तिकै महत्व र प्राथमिकता दिएको उहाँले बताउनुभयो । “वर्तमान युग सूचना तथा सञ्चार प्रविधिको हो” – आधुनिक प्रविधिसँग मुलुक जोडिनुपर्ने र त्यसबाट अधिकतम लाभ लिनबाट मुलुक चुक्न नहुने अभिमत व्यक्त गर्दै उहाँले भन्नुभयो ।

संविधान जारी भएसँगै राष्ट्र निर्माणको आधार खडा भएकाले सरकार, मातहतका निकाय, निजी क्षेत्र, नागरिक समाज, गैरसरकारी संस्था सबैले मुलुकको विकासलाई केन्द्रमा राखेर सुरक्षा, पारदर्शिता, जवाफदेहिता, सुशासनसहित आर्थिक विकासको बाटोमा अगाडि बढ्न मार्ग प्रशस्त भएको उहाँले उल्लेख गर्नुभयो ।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका कायममुकायम सचिव कविराज खनालले मुलुकका सबै भागमा सूचना तथा सञ्चार प्रविधिको विकास एवम् प्रवद्र्धन गर्ने लक्ष्यका साथ मन्त्रालयले आवश्यक काम गरिरहेको बताउँदै २–४ वर्षमा नेपालका कुनाकन्दरामा ‘ब्रोडब्यान्ड’ सेवा विस्तार गरिने जानकारी दिनुभयो ।

आइटिएसआरटीका अध्यक्ष रञ्जनराज पन्तको सभापतित्वमा भएको उद्घाटन समारोहमा सूचना प्रविधि विभागका महानिर्देशक वीरेन्द्रकुमार मिश्रले सञ्चार प्रविधिको उपयोग विभिन्न ढङ्गले भइरहेको र सुरक्षणका उपाय अपनाउन पनि अपरिहार्य भएको बताउनुभयो ।

सम्मेलनमा दिइएको जानकारीअनुसार देशभरका १९४ बैंक तथा वित्तीय संस्थाले तीन हजार ४०० शाखामार्फत भुक्तानी सेवा प्रवाह गरिरहेका र एक करोड ५० लाखले निक्षेप खाता सञ्चालन गरेका छन् ।

ती संस्था र निकायमा आबद्ध निक्षेपकर्ताले भुक्तानी कारोबार कसरी गरिरहेका छन् । बाह्य प्रवाह र विदेशबाट रकमको आप्रवाह कसरी भइरहेको छ भन्नेबारेमा यकिन तथ्याङ्क नभएको सन्दर्भमा भुक्तानी प्रणाली सुरक्षणको आवश्यकता मुलुकलाई खट्किएको छ । रासस