पोखरा, ११ मङ्सिर । गोरखाको पुनःनिर्माणका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाउन आजदेखि यहाँ दाता सम्मेलन सुरु भएको छ ।
भूकम्प गएको सात महिना हुँदासमेत पुनःनिर्माण प्राधिकरण गठन नभएको बेला भूकम्पप्रभावित गाउँ, बस्ती पुनःनिर्माणका लागि रणनीतिक योजना बनाउन दाता सम्मेलन गरिएको हो ।
पुनःनिर्माणका लागि आवश्यक योजनाहरु तयार गर्न आयोजित गोष्ठीमा भूकम्पपछि गोरखा जिल्लामा काम गर्दै आएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दातृ निकायका प्रमुख तथा प्रतिनिधिहरु, जिल्ला दैवी प्रकोप उद्धार समिति, जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि र भूकम्पपीडितलाई सहयोग गरिरहेका सङ्घसंस्थाका प्रतिनिधिहरु पनि सहभागी छन् ।
गोष्ठीको उद्घाटनमा बोल्दै दातृ निकायका प्रतिनिधिहरुले पुनःनिर्माण प्राधिकरण तत्कालै गठन हुनुपर्नेमा जोड दिए । नेपाली काँग्रेसका जिल्ला सभापति हरि घलेले भूकम्पपीडितका लागि आएका सङ्घसंस्थाले पुनःनिर्माणको योजना बनेपछि खुरुखुरु काम गर्नुपर्नेमा जोड दिनुभयो । गोरखाका १३ हजार जनता पुनःनिर्माणको पर्खाइमा बसेको भन्दै उहाँले सरकारी मापदण्डअनुसार तत्काल घर बनाउनुपर्ने बताउनुभयो ।
चिसोले भूकम्पपीडित कठ्याँग्रिएको भन्दै उहाँले भन्नुभयो – “पुनःनिर्माणमा सघाउन आएका सङ्घसंस्थाहरु आकाश हेरेर बस्ने होइन, खुरुखुरु काम गर्नुप¥यो ।” काम नगर्ने सङ्घसंस्थालाई जिल्लामा बस्न नदिइने प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमल्सेनाले बताउनुभयो । केन्द्रले पुनःनिर्माण प्राधिकरण गठन नगरेपछि गोरखाको पुनःनिर्माणलाई कसरी अघि बढाउने भन्ने रणनीति तयार गर्ने उहाँको भनाइ छ ।
दाता सम्मेलनमा अहिलेसम्म भएका उद्धार तथा राहतका कामबारे समीक्षा गर्ने र पुनःनिर्माणका लागि दातृ निकायसँग कति बजेट छ भन्नेबारे जानकारी गराइने स्थानीय विकास अधिकारी प्रेमराज गिरीले बताउनुभयो । “कुन संस्थासँग कति बजेट छ भन्नेबारे पत्ता लगाएर ठोस योजना बनाउँछौँ” – उहाँले भन्नुभयो ।
सम्मेलनमा डिएफआइडी, सिआरएस, अक्सफाम, इको नेपाल, पिपुल इन निड, युएनडिपीलगायत ठूला दातृ निकायका प्रमुख तथा प्रतिनिधिहरु सहभागी छन् । १३० जनाको सहभागिता रहेको सम्मेलन भोलिसम्म चल्नेछ ।
वैशाखमा गएको भूकम्पले गोरखामा ५८ हजार घरधुरी ध्वस्त हुनुका साथै ४७२ जनाको मृत्यु र एक हजार एक सयजना मानिस घाइते भएका थिए । रासस















प्रतिक्रिया