१२ कार्तिक २०८३, बिहिबार

क्यान्सर अस्पतालको ६० करोडको भवन समयमा बनेन, बजेट बढाउने चलखेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhawan photo

– तीर्थ नेपाल
चितवन, १० मंसिर । वीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा ६० करोडको लागतमा निर्माण गर्न ठेक्कामा दिइएको भवन समयमा तयार नभएपछि बजेट र समय बढाउने चलखेल शुरु भएको छ ।

प्रेरा आशिष जेभी निर्माण कम्पनीले २०६९ असोज २९ गते ३३ महिनाभित्रमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेकामा ६५ प्रतिशत भन्दा बढी निर्माण हुन सकेको छैन् । अस्पतालका कार्यकारी निर्देशक डा.चिनबहादुर पुनका अनुसार सोही वर्षको मंसिर २० गते निर्माण कम्पनीले कार्यादेश पाएको थियो । जस अनुसार २०७२ भदौ २० गतेभित्रमा अस्पताललाई भवन निर्माण सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने हुन्थ्यो । यद्यपी विभिन्न कारण देखाएर निर्माण कम्पनीले काम सक्नका लागि थप १८ महिना माग गरेको डा.पुनले बताउनुभयो । निर्माण कम्पनीले समय थपका साथै बर्तमान मूल्य वृद्धि अनुसार बजेट पनि बढाउन माग गरेको छ ।

“अस्पताल वोर्डलाई समय र बजेट बढाउन कम्पनीले पत्र पठाएको छ, यसमाथी बोर्डले नै आवश्यक छलफल गरेर टुंगोमा पुग्नेछ”– निर्देशक पुनले भन्नुभयो ।

अस्पतालका निर्देशक पुनले निर्माण कम्पनीलाई भुक्तानीमा ढिलाई नगरिएको बताउनुभयो । एक वा दुई महिना कुनै वेला ढिला भएको होला तर नियमित भूक्तानी भैरहेको छ, अहिले सम्म ३९ करोड रुपैया भुक्तानीको माग भएकोमा ३८ करोड दिइसकिएको छ– पुनले भन्नुभयो ।तर, प्रेरा निर्माण सेवाका प्रबन्ध निर्देशक प्रेमकुमार मल्लले समयमा अस्पतालले भुक्तानी दिन नसकेका कारण निर्माण रोकिएर निर्धारित समयमा भवन बन्न नसकेको दावी गर्नुभयो । उहाँले निर्माण थाल्दा सरसफाई, र अस्पतालका पाईपलाईन व्यवस्थापनका कारणले पनि काममा ढिलाई भएको बताउनुभयो । अव हामीलाई समय र बजेट दुवै बढाउनुपर्छ, अहिलेको मुल्य वृद्धि अनुसार बजेट थप गर्नुपर्ने हुन्छ– मल्लले भन्नुभयो ।

निर्माण कम्पनीले अस्पताललाई पठाएको पत्रमा भने भूकम्प, ढुंगा, गिटी, बालुवा निकासीमा अवरोध, बन्द, हड्ताल लगायतका कारण समयमा निर्माण सम्पन्न हुन नसकेको दावी गरिएको छ ।

अस्पतालको झण्डै दोब्बर क्षमता बढाउने लक्ष्यका साथ थालिएको भवन सम्पन्न नहुँदा अस्पताल संचालनमा कठिनाई परेको छ । सो भवनमा थप दुई सय शैया संचालन गर्ने लक्ष्य राखिएको छ । हाल अस्पतालमा एक सय ९४ शैया मात्रै संचालनमा छन् । जसमध्ये ९४ शैया आन्तरिक स्रोतबाट संचालित छन् । नयाँ भवनमा सघन उपचार कक्ष, बोनम्यारो प्रत्यारोपण, अत्याधुनिक ढंगको आठ वटा शल्यक्रिया कक्ष समेत संचालन गर्ने योजना छ ।
नयाँ भवन सम्पन्न भएसँगै १५ प्रतिशत हाराहारीमा खर्च बढेर दोब्बर बिरामीलाई सेवा दिन सकिने अस्पतालले जनाएको छ ।

अस्पतालमा वार्षिक एक लाखभन्दा बढी बिरामीले सेवा लिंदै आएका छन् । सन् २०१४ मा एक लाख ११ हजार बिरामीले सेवा लिएको अस्पतालका उपनिर्देशक डा.देजकुमार गौतमले बताउनुभयो । जसमध्ये ६ हजार जना नयाँ क्यान्सर बिरामी थपिएका छन् । थप मध्येमा पनि चार सय ४८ जना भारतीय रहेको उहाँले बताउनुभयो ।

नयाँ भवनको निर्माण समयमा सम्पन्न हुन नसक्दा राज्यलाई ब्ययभार हुनुका साथै अस्पतालको सेवा विस्तारमा प्रभावित भएको छ ।