टेक्सास (अमेरिका)। विनाशकारी भूकम्पमा पर्दा समेत मृत्युलाई जित्न सफल केही नेपालीहरुको कथालाई समेटेर तयार पारिएको चर्चित वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु– मिराकल सर्भाइभल इन नेपाल अर्थक्वेक’ शुक्रबार टेक्सासमा प्रदर्शन हुने भएको छ ।
नेपाली समाज टेक्सासको आयोजनामा आउने शुक्रबार (नोभेम्बर २७ तारिख) साँझ साँढे पाँच बजे टेक्सासस्थित एनसीएससको भवनमा प्रदर्शन गर्न लागिएको हो । भाग्यले बाँचेकाहरुको शो अहिले अमेरिकाको विभिन्न शहरमा भइरहेको छ । अमेरिकाको विस्कनसिन र सिकागो शहरमा यसै साता प्रदर्शन गरेपछि डकुमेन्ट्रीका निर्देशक गणेश पाण्डे टेक्सास आइपुगेका छन् ।
‘भूकम्पको वास्तविक कथामै बनेको डकुमेन्ट्री टेक्सासका नेपाली समुदायले पनि हेर्ने मौका पाउन भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।’, नेपाली समाज टेक्सासका महासचिव विजयराज भटट्राईले भने– यसबाट संकलित रकम नेपालमा भूकम्पबाट भत्किएका विद्यालय पुनर्निर्माणमा लगानी गरिने समेत गरिनेछ ।’
शुक्रबार टेक्सासमा प्रदर्शन भएपछि आइतबार नेपाली समाजको आयोजनामा कोलोराडो, मंगलबार साँझ साँढे ८ बजे बजे नेपाल एकता समाज लस एन्जलसको आयोजनामा ताराज हिमालयन रेष्टुरेष्ट, नेपाली महिला समाज सन फ्रान्सिस्कोको आयोजनामा शनिबार साँझ ५ बजे डाउनटाउनको इलिस स्ट्रिटस्थित ओम मन्डला हल, आइतबार प्रवासी नेपाली मञ्चको आयोजनामा न्युयोर्क र सोमबार न्युयोर्ककै सिटी विश्वविद्यालयको आयोजनामा विश्वविद्यालयमा प्रदर्शन हुँदैछ ।
५५ मिनेट लामो डकुमेन्ट्रीमा धराहरा ढल्दै गरेको प्रत्यक्ष भिडियोदेखि बैशाख १२ गतेको महाभूकम्पमा परेर बाँच्न सफल केही प्रतिनिधिमुलक पात्रका कथालाई समेटिएको छ ।
डकुमेन्ट्रीमा बैशाख १२ को विनाशकारी भूकम्पमा परेर पनि आश्चर्यजनक रुपमा नयाँ जीवन पाएका ७ जना नेपालीहरुको कथा छ । काठमाडौँको सुन्धारास्थित काठमाडौँ मल अगाडि ट्राफिक प्रहरी करण भण्डारीलाई बचाउने हिरामाया नेपालीको जीवनकथा निकै मार्मिक रुपमा पर्दामा उतारिएको छ । यसैगरी, पाँच तले घरले पुरिएर २२ घण्टापछि जीवितै उद्दार गरिएका भक्तपुरका सोनिस अवाल, सोनिसलाई जीवितै उद्दार गर्ने नेपाली सेनाका सुबेदार दीपक राई र सिपाही विकास केसीको कथा डकुमेन्ट्रीमा समेटिएको छ । आफ्नै घर ढलेर आमाबाबुको बिचल्ली हुँदा समेत सोनिसको उद्दारमा खटिएका सिपाही केसी र उनको परिवारका मर्मलाई पनि डकुमेन्ट्रीमा बेजोड रुपमा उतारिएको छ ।
यसैगरी, धराहराबाट खसेर बाँच्न सफल लमजुङकी बबिता सेढाईँ, काठमाडौँको नयाँ बसपार्कबाट १ सय १२ घण्टापछि सकुशल उद्दार गरिएका नुवाकोटका पेम्बा तामाङ, काठमाडौँको बसपार्कमै सात तले घरले थिचिँदा ८२ घण्टासम्म आफ्नै पिसाब खाएर बाँचेका अर्घाखाँचीका ऋषि खनाल, काठमाडौँको बसपार्कमै होटलमा किचिएर दुवै खुट्टा गुमाएका दैलेख बाँसीका रमेश खत्री, भूकम्प आएपछि आफ्नै घरको आँगनको इनारमा पुरिएपछि जीवितै उद्दार गरिएकी भक्तपुरकी ७५ बर्षीया शिवकुमारी खागी, आफ्नै बाबुले सिकाए अनुसार भूकम्प आएपछि खाटमुनि छिरेर जीवन गुमाएकी नुवाकोट तुप्चेकी उत्सना शर्मा र काठमाडौँको काभ्रेस्थलीमा छिमेकीको घरले किच्दा एउटा खुट्टा गुमाएकी मकवानपुरकी प्रिया बिकको पीडादायी कथालाई डकुमेन्ट्रीमा समेटिएको छ ।
यसैगरी, भूकम्पमा परेकालाई जीवितै उद्दार गरेर वाहवाही कमाएका सशस्त्र प्रहरी निरीक्षक लक्ष्मण बस्नेत, नेपाल प्रहरीका निरीक्षक प्रदीप क्षेत्री र एउटै चितामा पाँच–सात जनाको शव जलाउनु पर्दा विक्षिप्त बनेका भक्तपुरका सविन ख्याँजुको कथा–व्यथादेखि भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारी तथा १९९० साल र २०७२ सालका दुई ठूला भूकम्प देखेका राष्ट्रकवि माधवप्रसाद घिमिरेसम्मका अनुभवलाई पर्दामा उतारिएको छ ।
डकुमेन्ट्रीको निर्माण शारदा गैरे, छायाँकन विनोद विष्ट, सम्पादन कुमार शाह, लेखन तथा स्वाराङ्कन दीपक कोइराला र अंग्रेजी अनुवाद विकास बस्नेतले गरेका छन् । साइन मिडिया प्रालिद्वारा निर्मित डकुमेन्ट्रीमा जुगल डंगोलले संगीत भरेका छन् भने सम्राट मुभिजले पोष्ट प्रडक्सन गरेको छ । हेर्नुस् ट्रेलर:
















प्रतिक्रिया