वीरगन्ज, ९ मङ्सिर । नेपालकै प्रमुख राजस्व असुली केन्द्र वीरगन्ज भन्सार कार्यालयबाट आयात निर्यात ठप्प भएपछि राजस्व असुलीमा गम्भीर असर परेको छ ।
मधेसकेन्द्रित दलको आह्वानमा नेपाल–भारत मुख्य नाकाको सीमामा पर्ने मितेरी पुलमै गत असोज ७ गतेदेखि आन्दोलनकारी धर्नामा बसेर नाका जाम गरेपछि वीरगन्ज भन्सारबाट हुने आयात निर्यात पूर्णरुपमा ठप्प भएको हो । आयात निर्यात ठप्प हँुदा वीरगन्ज भन्सार कार्यालयको कात्तिक महिनाको राजस्व असुलीमा ९९ प्रतिशतले कमि आएको छ ।
चालु आवको कात्तिक महिनामा रु सात अर्ब ३० करोड ५९ लाख राजस्व असुली गर्ने लक्ष्य तोकिएकोमा कार्यालयले उक्त अवधिमा रु सात करोड ३९ लाख ९३ हजार मात्र राजस्व असुली गर्न सकेको छ । वीरगन्ज भन्सार कार्यालयका अनुसार, गत आवको कात्तिक महिनामा कार्यालयले लक्ष्यको तुलनामा २ दशमलव ८३ प्रतिशत बढी अर्थात् रु छ अर्ब ७५ लाखभन्दा बढी राजस्व असुली गरेको थियो ।
बन्द र हड्तालका कारण चालु आवको असोज महिनामा पनि कार्यालयले झन्डै ७५ प्रतिशत कम राजस्व असुली गरेको थियो । असोज महिनाका लागि रु सात अर्ब ७८ करोड ६७ लाख ८९ हजार राजस्व असली गर्ने लक्ष्य लिएकोमा कार्यालयले उक्त अवधिमा रु दुई अर्ब ६४ लाख ६७ हजार मात्र राजस्व असुली गरेको कार्यालयका सूचना अधिकृत सुशिल शर्माले जानकारी दिनुभयो ।
बन्द र हड्तालका कारण चालु आवको भदौ महिनाको राजस्व असुलीमा समेत प्रतिकूल प्रभाव परेको थियो । भदौमा कार्यालयले लक्ष्यको तुलनामा ५५ दशमलव ६५ प्रतिशत मात्र राजस्व असुली गरेको थियो । भदौका लागि रु आठ अर्ब ८२ करोड ५० लाख २८ हजार राजस्व असुली गर्ने लक्ष्य तोकिएकोमा कार्यालयले उक्त अवधिमा रु चार अर्ब ९१ करोड १३ लाख ३७ हजार मात्र राजस्व असुली गर्न सकेको थियो ।
आयात निर्यात ठप्प भएपछि चालु आवको पहिलो महिना साउनवाहेक बाँकी तीन महिनाको राजस्व असुली प्रभावित भएपछि वीरगन्ज भन्सार कार्यालयका लागि पहिलो चौमासिकमा तोकिएको लक्ष्यभन्दा ४५ दशमलव ८९ प्रतिशत मात्र राजस्व असुली भएको कार्यालयका प्रमुख भन्सार अधिकृत मित्रलाल रेग्मीले बताउनुभयो । “यस्तै अवस्था रहे कार्यालयले लिएको वार्षिक राजस्व असुलीको लक्ष्य पुरा गर्न सकिँदैन” उहाँले भन्नुभयो ।
मुलुकको कुल भन्सार राजस्व असुलीमध्ये वीरगन्ज भन्सार कार्यालयलाई मात्र ५१ प्रतिशतभन्दा बढी राजस्व असुलीको लक्ष्य दिएको छ । भन्सार विभागले चालु आवका लागि कुल रु दुई खर्ब पाँच अर्ब भन्सार राजस्व असुली गर्ने लक्ष्य लिएको छ । तीमध्ये वीरगन्ज भन्सार कार्यालयलाई मात्र रु एक खर्ब तीन अर्ब राजस्व असुली गर्ने लक्ष्य तोकिएको रेग्मीले बताउनुभयो । रासस















प्रतिक्रिया