३१ आश्विन २०८३, शनिबार

मुस्ताङका सबै गाविसमा सञ्चार सुविधा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mobilePhoneमुस्ताङ, ८ मङ्सिर । मुस्ताङ जिल्लाभर सञ्चार सुविधाको पहुँच पुगेको छ । सोह्र गाविस रहेको यस जिल्लाका सबै बस्तीमा सञ्चार सुविधा पुगेको छ ।

नेपाल टेलिकम मुस्ताङका कार्यालय प्रमुख हुमबहादुर भुजेलले पर्याप्त मात्रामा नमस्ते र सिडिएमए सिमकार्ड वितरण गरिएपछि जिल्लाका सबै क्षेत्रमा सञ्चार सुविधा पुगेको जानकारी दिनुभयो । जिल्लामा ११ हजार नमस्ते र तीन हजार सिडिएमए गरी १४ हजार सिमकार्ड वितरण गरिएको छ ।

मागका आधारमा सिमकार्ड वितरण गरिएकाले हिमाली जिल्लामा सञ्चार सुविधा सहज भएको कार्यालयले जनाएको छ । हरेक बस्तीमा सञ्चार सुविधा पुगेसँगै सर्वसाधारणलाई सूचना आदानप्रदानमा सहज भएको छ ।

उपल्लो मुस्ताङको छोसेर, छोण्हुप, लोमान्थाङ, चराङ र सुर्खाङ क्षेत्रमा सिडिएमए र तल्लो क्षेत्रमा नमस्ते मोबाइलको सिमकार्ड बढी मात्रामा वितरण भएको छ । सञ्चार सुविधा विस्तारसँगै खासगरी उपल्लो क्षेत्रका सूचना सदरमुकामबाटै थाहा पाउन धेरै सजिलो भएको स्थानीयवासीले बताएका छन् ।

जिल्लाको कुञ्जो, लेते, कोबाङ, टुकुचे, मार्फा, जोमसोम, कागबेनी, मुक्तिनाथ, झोङ, छुसाङ र घमी गाविसमा नमस्तेको सिमकार्ड वितरण भएको टेलिकमले जनाएको छ । “सबै क्षेत्रमा सेवा विस्तारका लागि जिल्लामा विभिन्न १५ स्थानमा नमस्ते र पाँच स्थानमा सिडिएमए मोबाइलको टावर निर्माण गरेका छौँ, ग्राहक सङ्ख्या पनि बढ्दै गएको छ,” कार्यालय प्रमुख भुजेलले भन्नुभयो – “अब गुणस्तरीय सेवा प्रदान गर्न लागिपरेका छौँ ।” रासस