१२ कार्तिक २०८३, बिहिबार

सप्तरीमा नापी कार्यालयको गाडीमा आगजनी, काँग्रेस कार्यालयमा पनि प्रयास

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Lahan-Morcha (2)सप्तरी, ७ मङ्सिर । आज दिनभर आक्रोशित रहेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले निषेधाज्ञा तोड्दै आज साँझ सप्तरीको राजविराजस्थित नापी शाखा कार्यालयको गाडीमा आगजनी गरेका छन् ।

कार्यालयभित्रै पार्किङ गरी राखेको बा १ झ ३४०९ नंको गाडीमा मोर्चाका कार्यकर्ताले आगजनी गरेको प्रहरीले जनाएको छ । आगजनीबाट गाडी पूर्णरुपमा जलेर नष्ट भएको बताइएको छ ।

यस्तै, आन्दोलनकारीले राजविराजमै रहेको नेपाली काँग्रेसको पार्टी कार्यालयमा समेत आगजनीको प्रयास भएको सो कार्यालयले जनाएको छ ।

कार्यालयमा मोर्चाका कार्यकर्ताले तोडफोड गरी आगजनीको प्रयास गरेको प्रहरीले जनाएको छ । यता प्रहरीको विशेष सुरक्षाका कारण आगो लगाउनबाट जोगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै, सप्तरीको तिलाठीस्थित बेल्ही भन्सार कार्यालय राजविराजमा आन्दोलनरत मधेसी मोर्चाले आज आगजनीको प्रयास गरेको छ ।

जिल्लाका विभिन्न ठाउँमा आन्दोलनकारी र प्रहरीबीच झडपमा मृत्यु भएको आक्रोसमा सप्तरी प्रशासनले लगाएको निषेधाज्ञालाई तोडेर प्रदर्शन थालेपछि बेल्ही भन्सार कार्यालयमा आगजनीको प्रयास गरेको प्रहरीले जनाएको छ ।

सो कार्यालयमा आगजनी र क्षति हुनबाट प्रहरीले जोगाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यस्तै सप्तरीको सदरमुकाम राजविराजसहित जिल्लाका विभिन्न ठाउँमा आन्दोलनकारी र प्रहरीबीच आज बिहानैदेखि झडप भइरहेको बताइएको छ ।

राजविराजस्थित दर्शनचोक, गजेन्द्रचोक, तैतरीगाछी, महावीर चोकमा प्रहरी र आन्दोलकारीबीच झडपको क्रम जारी नै रहेको बुझिएको छ ।

सो क्रममा प्रहरीले नियन्त्रण गर्नका लागि तीन दर्जन अश्रुग्यास र १० राउण्ड हवाई फायर गरेको जनाएको छ ।

यस्तै, राजमार्गको भारदह, कञ्चनपुर, रुपनी, बिसनपुर, कदमहा सडकखण्डमा प्रहरी र प्रदर्शनकारीबीच झडप भइरहेको बताइएको छ ।

अहिले राजविराजलगायत जिल्लाका विभिन्न स्थानमा मोर्चाका कार्यकर्ताले प्रदर्शन जारी नै राखेका छन् र सो ठाउँमा प्रहरीसमेत परिचालन गरी नियन्त्रणमा लिने प्रयास गरेपनि स्थिति तनावग्रस्त रहेको बताइएको छ ।

गत शनिबार पूर्व पश्चिम राजमार्गमा बाटो खुलाउने क्रममा र आइतबार राजविराजमा मोर्चाका कार्यकर्ता र प्रहरीबीच भएको झडपमा गरी प्रहरीको गोलीबाट तीन जनाको मृत्यु भएको थियो ।

सो क्रममा भारदहमा १८ वर्षीय वीरेन्द्र राम, रुपनीमा २२ वर्षीय नागेश्वर यादव, राजविराज नगरपालिकामा ३५ वर्षीय दिलीप साह र करेन्ट लागेर शिवशङ्कर दासको मृत्यु भएको थियो । चारै जनाको शव धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको बताइएको छ ।

रुपनी र भारदहको झडपमा परी गोली लागेर गम्भीर घाइते भएका करिब एक दर्जनभन्दा बढीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य शैलेन्द्रप्रसाद साहले जानकारी दिनुभयो । रासस