३१ आश्विन २०८३, शनिबार

अब राहदानी लिन हातले फाराम भर्नुनपर्ने, मन्त्री थापाले सुरु गरे ‘प्रत्यक्ष दर्ता प्रणाली’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

foreign minister Kamal Thapa MRP Signature-4

काठमाडौँ, ७ मङ्सिर । परराष्ट्र मन्त्रालयले राहदानी वितरण प्रणालीलाई सहज र दु्रत बनाउन आजदेखि ‘प्रत्यक्ष दर्ता प्रणाली’ (लाइभ इन्रोलमेन्ट सिस्टम) आरम्भ गरेको छ ।

यो प्रणाली सुरु भएपछि राहदानी लिन हातले फाराम भर्नुपर्दैन । साथै राहदानी वाहकको तस्बिर, औंठा छाप र हस्ताक्षर राहदानी लिने स्थानमा कम्प्युटरबाट फाराममा भरिन्छ । राहदानीमा यो प्रणाली लागू भएपछि व्यक्तिको सबै विवरण ‘बायोमेट्रिक’मा रहने र सबै काम ‘डिजिटलाइज्ड’ हुने मन्त्रालयले जनाएको छ ।

नयाँ प्रविधि भएकाले सुरुमा पहिलो चरणमा मङ्गलबारदेखि कूटनीतिक अधिकारी तथा विशिष्ट पदाधिकारीलाई सो प्रणालीमार्फत कूटनीतिक राहदानी उपलब्ध गराइने राहदानी विभागले जनाएको छ । अबको दुई सातापछि सर्वसाधारणलाई विभागबाट र विदेशस्थित नियोगबाट समेत सो प्रविधिबाट राहदानी प्रदान गरिने छ ।
foreign minister Kamal Thapa MRP Signature
मन्त्रालयमा आयोजित कार्यक्रममा सो प्रणालीको उद्घाटन गर्दै उपप्रधानमन्त्री कमल थापाले उक्त प्रणाली लागू भएपछि राहदानी लिन सर्वसाधारणलाई सहजता र तीव्रता हुने विश्वास व्यक्त गर्नुभयो । परराष्ट्रमन्त्री थापाले सो प्रणाली लागू भएपछि विदेशमा रहेका हस्तलिखितवाहक नेपाली नागरिकलाई यन्त्रले पढ्न सकिने राहदानी (एमआरपी) लिन सहज हुने बताउनुभयो ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)को निर्देशनानुसार नेपालले सन् २०१० देखि एमआरपी राहदानी वितरण सुरु गरेको हो । हालसम्म ३८ लाख एमआरपी राहदानी वितरण भइसकेको र अब ५०÷६० हजार हस्तलिखित राहदानी एमआरपीमार्फत विस्थापित गर्न बाँकी छ ।

foreign minister Kamal Thapa MRP Signature-1“राहदानीमा सहज र सरल प्रक्रिया बनाउन मन्त्रालयले अब पाँच दिनमा द्रुत सेवामार्फत राहदानी लिन सकिने व्यवस्था गरेको छ, जिल्लामा फाराम भरेर आएकालाई १० दिनमा राहदानी प्रदान गरिने छ, विदेशस्थित नियोगबाट भने पाँच दिनमा राहदानी उपलब्ध गराईने छ” उपप्रधानमन्त्रीले भन्नुभयो ।

आइकाओले विश्वभरबाट हस्तलिखित राहदानी विस्थापित गर्न आजसम्मको अन्तिम मिति निर्धारण गरेको थियो । मन्त्रालयले हस्तलिखित राहदानीलाई एमआरपीले यथाशीघ्र विस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

विभागका महानिर्देशक लोकबहादुर थापाले पहिलेको प्रणालीमा भरिएका फारामलाई ठीक बेठीक छुट्याउँदा लामो प्रक्रिया भए पनि अब त्यो प्रक्रिया छोटियो भन्नुभयो ।

एमआरपीमार्फत हालसम्म करिब १७ लाख हस्तलिखित राहदानी प्रतिस्थापन गरिएको जानकारी गराउँदै महानिर्देशक थापाले हस्तलिखित राहदानी भएकाहरुलाई यथाशक्य आफू नजिकको केन्द्र वा कार्यालयमा गएर छिटो गएर एमआरपी लिनका लागि आवेदन दिन आग्रह गर्नुभयो । रासस