१ कार्तिक २०८३, शनिबार

भूकम्पले भत्किएको विद्यालय बनाउन अमेरिकाबाट सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal_School_Childrenरत्ननगर (चितवन), ७ मङ्सिर । भूकम्पप्रभावित विद्यालय भवन पुनःनिर्माण अभियानमा रहेको ‘हामीले नगरे कसले गर्ने ?’ नामक संस्थालाई अमेरिकाबाट आर्थिक सहयोग प्राप्त भएको छ ।

हाल अमेरिका रहनुभएका भरतपुर– १० निवासी रामचन्द्र बस्ताकोटीमार्फत संस्थालाई करिब रु एक लाख ५० हजार सहयोग प्राप्त भएको हो ।

संस्थाका अमेरिका संयोजकसमेत रहेका बस्ताकोटीले संस्थाको लोगो अङ्कित ३५ थान टिसर्ट बिक्री गरेर सङ्कलन गरेको करिब ५० हजार नेपाली रुपैयाँमा व्यक्तिगत रुपमा थप गरी एक हजार ४०० अमेरिकी डलर अर्थात् करिब एक लाख ५० हजार नेपाली रुपैयाँ संस्थालाई उपलब्ध गराउनुभएको हो ।

गत वैशाख १२ गतेको विनाशकारी भूकम्पमा परी क्षतिग्रस्त लोथर–७, स्यामराङको श्री दुङ्बाङ राष्ट्रिय प्राथमिक विद्यालयको दुईकोठे भवन बनाउनका लागि सहयोग सङ्कलन गरिरहेको संस्थाले अब भवन निर्माणका लागि आवश्यक बजेट पुगेको जनाएको छ ।

प्राप्त सहयोगको केही भाग आर्थिक रुपमा कमजोर विद्यार्थीको अध्ययनमा खर्च गरिने संस्थाका उपाध्यक्ष विनोद रिजालले जानकारी दिनुभयो । संस्थाले आर्थिक रुपमा विपन्न सरिता चेपाङलाई भरतपुर अस्पतालमा नर्सिङ पढाइरहेको छ । सहयोग रकम हस्तान्तरणपछि दाता बस्ताकोटीले शिक्षा क्षेत्रमा सहयोग गर्ने पहिलेदेखि नै चाहना भए पनि उपयुक्त स्थान नभेटिएको उल्लेख गर्नुभयो । रकम सङ्कलन भएपछि उक्त विद्यालयको भवन निर्माण सुरु भएको छ । रासस