काठमाडौँ, ४ मङ्सिर । प्रधानसेनापति राजेन्द्र क्षत्रीले संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा तैनाथ हुन जाने नयाँ सबुज गण छैटौं डफ्फाको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा सञ्चालित तालिमको आज अन्तिम निरीक्षण गर्नुभयो ।
उक्त अवसरमा प्रधानसेनापति क्षेत्रीले नेपाली सेनाका परमसेनाधिपति राष्ट्रपति विद्या भण्डारीको शुभकामना सन्देश पढेर सुनाउनुभएको थियो । सन्देशमा राष्ट्रपति भण्डारीले विश्वका द्वन्द्वरत राष्ट्रमा राष्ट्र सङ्घले शान्ति कायम गर्न गरेको प्रयासमा नेपालको पूर्ण समर्थन र सहयोग रहिआएको बताउँदै मानवाधिकारको उच्च सम्मान, लोकतन्त्र र लोकतान्त्रिक आचरण तथा मानवीय सहयोगको भावना राखी विश्व शान्तिप्रति नेपालको प्रतिबद्धताको सन्देश संसारमा फैलाउने कार्यमा नेपाली सेना सफल हुने विश्वास व्यक्त गर्नुभएको छ ।
.सो अवसरमा प्रधानसेनापति क्षेत्रीले नेपालको परराष्ट्र नीतिबमोजिम नेपाली सेनाले नेपाल र नेपालीको प्रतिनिधित्व गर्दै विश्व शान्तिका लागि विभिन्न द्वन्द्वग्रस्त स्थानमा शान्ति सैनिक तैनाथ गरी उल्लेख्य रुपमा योगदान दिँदै आइरहेको बताउनुभयो ।
छ दशकदेखि अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा नेपाली सेनाले हालसम्म एक लाखभन्दा बढी शान्ति सैनिक ४१ मिसनमा खटिई काम गरेका छन् । हाल १५ मिसनमा चार हजार ३८५ शान्ति सैनिक कार्यरत रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । रासस















प्रतिक्रिया