दार्चुला, ४ मंसिर । दार्चुलामा जीप व्यवसायीहरुले मनपरी भाडा असुल्न थालेका छन् । इन्धन अभाव देखाउँदै व्यवसायीहरुले यात्रुहरुबाट मनपरी भाडा असुल्न थालेका हुन् ।
जीप व्यवसायीहरुले टिकट काउन्टरमा टिकट काट्न रोकेका छन् । यात्रुहरुलाई बीच बाटोमा रोकेर मनपरी भाडा असुल्न थालेको यात्रुहरुले बताएका छन् । सदरमुकाम खलंगाबाट ७२ किलोमिटरमा रहेको गोकुलेश्वरसम्मको भाडा पाँच सय देखि सात सयसम्म असुलेका छन् । गोकुले खलंगाको भाडा जीपमा २ सय ५० रुपैयाँ छ । यस्तै लटिनाथसम्मको भाडा कहिलेकाही २ हजारसम्म नै लिने गरेको बताइएको छ ।
केही यात्रुको गुनासो पछि जीप धनीलाई चेतावनी दिइसकेको महाकाली जीप व्यवसायी समितिका सचिव सर्पराज बडुले बताए । उनले डिजेज महङ्गो किन्नु परेको कारण भाडा बृद्धि भएको स्वीकार गरे । गुनासो आएजतिको भाडा बृद्धि छैन उनले भने, तर १ सयसम्म भाडा बढि लिइएको छ । यो हाम्रो बाध्यता हो । सजिलै डिजेल पाउने भएपछि हामी भाडा बृद्धि गर्दैनौ उनले जिल्ला प्रशासनमा भने, भारतीय नाकाबाट ल्याएको डिजेलले जीप चलाउनुपर्दा यसलाई स्वभाविक मान्नुपर्ने उनको भनाइ छ ।
भाडामा मनपरी गरेको गुनासो जिल्ला प्रशासनमा पुगेपछि निमित्त प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइकेलले सर्वपक्षीय बैठक डाकेका थिए । अहिले टिकट काउन्टरमा टिकट काट्न छोडेर व्यवसायीले बाटोमा भाडा असुल्ने गरेको उनले बताए ।
प्रहरीलाई सादा पोसाकमा परिचालन गरि भाडाको बारेमा बुझ्दा १ हजारसम्म लिएको पाइएको छ । निमित्त प्रजिअ कुइकेलले विशम् परिस्थितीमा कालोबजारी कम गरी यात्रुलाई मार्का नपार्न आग्रह गरे । रु ५० देखि १ सयसम्म भाडा बृद्धि स्वभाविक भएपनि दोब्बर तेब्बरले बृद्धि गर्नु मानवीय धर्म नहुने उनले बताए । उनले आगामी दिनमा मनपरी भाडा असुल नगर्न व्यवसायीलाई आग्रह गरे ।
यस्तै जिल्लामा देखिएको ग्याँस आपूर्तिको लागि पहल भइरहेको उनले जनाए । ग्याँसलाई सबैलाई पुग्ने गरि वितरण गर्न ग्याँस विक्रेतासँग उनले आग्रह गरे ।
















प्रतिक्रिया