१२ कार्तिक २०८३, बिहिबार

चीन, रुस र साइबेरियाबाट आएका पाहुनाचरा खोज्न विज्ञहरुको टोली पोखरामा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bird

– वासुदेव मिश्र

कास्की, ४ मङ्सिर । कास्कीमा आगन्तुक चराहरुको गणना सुरु गरिएको छ । अहिले कास्कीको काँडेस्थित पाउदुरकोटमा चरा गणना थालिएको हो ।

कास्कीको पाउदुरकोट र जोमसोमको कालीगण्डकी भ्याली अन्तर्राष्ट्रियस्तरमै बसाँइसराई गर्ने चराको गणना गर्ने उपयुक्त स्थान मध्येमा पर्दछ ।

हिउँदको बेला नेपालको उत्तरी भाग, चीन, रुस, मङ्गोलिया र साइबेरिया क्षेत्रबाट यस्ता चरा नेपाल भित्रने गर्छन् । चरा बसाँइसराई गर्ने बेलामा गणना गर्नकालागि विदेशी अनुसन्धाता नेपाल आउने गरेका छन् ।

“अहिलेसम्म करिब तीन हजार जति चरा गनिएको छ हामीले यहाँ आएका मांसाहारी चराहरुको मात्र गणना गरेका हौँ”, चरा गणनामा सङ्लग्न रहुनभएका नेपाली विज्ञ सूर्य गुरुङले भन्नुभयो, “उता चिसो भएपछि आहाराको खोजीमा चरा बसाइँ सरेका हुन् ।”

गोमायो चिल (स्टिपइगल) भनिने चरामध्ये केहीले यतै बच्चा कोरल्ने र गर्मी सुरु भएपछि फेरी अन्यत्र जाने गरेको उहाँले बताउनुभयो ।

पाहुना चरा गणनाको लागि अहिले कास्कीको लुम्ले क्षेत्रमा विशेषज्ञको टोली नै खटिएको छ । अमेरिकी प्राणीशास्त्री रोबर्ट डि क्यानडिडासहित टोलीमा जर्मनी, बेलायत, अष्टे«ेलिया, फ्रान्स, भारत, मलेसियालगायत देशका विज्ञ खटिएको गिद्ध संरक्षण अभियानमा क्रियाशिल पत्रकार कृष्णमणि बरालले बताउनुभयो ।

उहाँका अनुसार टोलीमा संलग्न सूर्य गुरुङ, सन्देश गुरुङ, हेमन्त ढकालले चरा गणना गरिरहेका छन् भने अमेरिकाका चराविद रोबर्ट, चरामा विद्यावारिधी गरेका डा हेमसागर बराल, भारतका रिसाड नोरोजी, मलेसियाको मलेसियन नेचर सोसाइटीका लीम आन टीहालगायतका चरा विशेषज्ञ र फोटोग्राफरले चराको अध्ययन र गणनाको अनुगमन गरेका छन् ।

चरा गणनामा खटिनुभएका हेमन्त ढकालका अनुसार नेपालमा वर्षेनी १५० प्रजातिका चरा बसाँइसराईका क्रममा नेपाल भित्रने गर्छन् । अङ्ग्रेजी पात्रोअनुसार सेप्टेम्बर अर्थात असोजदेखि नै पाहुना चराहरु नेपाल भित्रने गरेको उहाँको भनाइ छ । नेपाल आउने धेरैजसो चराहरु कोशीटप्पु बन्यजन्तु आरक्षमा बस्ने गर्छन् भने मांसाहारी अन्य चराहरु देशका विभिन्न भागमा पुग्ने गर्छन् । चैत सकिँदासम्म चराहरुले बच्चा कोरलेर फेरी बाटो लाग्ने गरेको अमेरिकी प्राणीशास्त्री रोबर्टले बताउनुभयो ।

घुमन्ते चराहरुको अध्ययनका निम्ति कास्कीको लुम्ले क्षेत्रमा डेरा जमाएर बसेको टोलीले सो क्षेत्रमा आएका चराको प्रकार, आनिबानी तथा चराको प्रजनन् प्रक्रियाबारे समेत अनुसन्धान गर्दै आएको छ । कोशीटप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, कोशी र कर्णालीका सहायक नदीहरु, शुक्लाफाँटा, बर्दिया राष्ट्रिय निकुञ्जसहित अन्नपूर्ण संरक्षण क्षेत्र परियोजनाको भू–भागमा समेत पाहुना चराहरु आउने गरेको चराविज्ञ सूर्य गुरुङले जनाउनुभयो ।

पर्या पत्रकारिताबारे रुचि राख्ने पत्रकार कृष्णमणि बरालका अनुसार पर्या प्रणालीको अभिन्न अङ्ग मानिने चराको आनिबानी बुझ्न तथा चरा अवलोकनबाट मनोरञ्जन लिने पर्यटकको सङ्ख्या पनि बर्सेनी बढ्दो रहेको छ । “पोखरा र आसपासको क्षेत्रमा पनि हरेक वर्ष चरा अवलोकन गर्नेहरु आउँछन्, यसलाई व्यवस्थित गर्नसके चरा अवलोकन पर्यटनबाट समेत समुचित लाभ लिन सकिन्छ ।”

यो टोलीले १२ वर्षदेखि निरन्तर चराको अध्ययन गर्दै आएको छ । सन् १९६८÷०६९ तिर अन्नपूर्ण क्षेत्रको पदयात्रामा आउने पर्यटकले यहाँको आकास हँुदै ठूलो सङ्ख्यामा चरा बसाँइसराई गरेको देखेपछि पदयात्रुको भनाइलाई आधारमान्दै चराको अध्ययन र गणना कार्य सुरु गरिएको हो । सन् १९७० मा कालीगण्डकीको टुकुचे भ्यालीवाट बेलायती नागरिकले चरा गणना गरेको चराविद् डा हेमसागर बरालले बताउनुभयो । उहाँका अनुसार, सन् १९८३ मा कास्कीको ढिकुरपोखरीस्थित पाउदुर, काँडेबाट डच नागरिकले चरा गणना गरेका थिए ।

विज्ञहरुका अनुसार यो क्षेत्र हुँदै सिकारी जातका चराहरु, गौँथली प्रजातीका चराहरु बढीमात्रामा बसाइँसराइ गर्ने गर्छन् । चिल, महाचिल, गिद्ध, बाजलगायतका विभिन्न प्रजातीका सिकारी चरा ठूलो सङ्ख्यामा बसाँईसराइ गर्ने गर्दछन् ।

बाह्र वर्षअघि गणना हुँदा काँडे, लुम्ले, पाउदुर क्षेत्रको आकासहँुदै हजारौँ सिकारी चराहरु बसाइँसराइ गर्ने गरेको बताइएको छ । अहिलेको गणनामा केही घटेको भएपनि ३५ प्रजातिका १० हजारभन्दा बढी चराले बसाइँसराई गर्ने गरेको पाइएको पनि विज्ञ डा बरालले बताउनुभयो । रासस