काठमाडौं, ४ मंसिर । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यक्रर्ताले वीरगञ्जमा औषधि बोकेको ट्रकमा पेट्रोल बम प्रहार गरेका छन् ।
विहीबार औषधि र स्वास्थ्य उपकरण निवार्ध रुपमा भित्र्याउन दिने र त्यसका लागि सरकारलाई सहयोग गर्ने निर्णय गरेको मोर्चाले २४ घण्टा नबित्दै उक्त निर्णय उल्ट्याउँदै औषधि बोकेकै ट्रक छानेर पेट्रोल बम प्रहार गरेको हो ।
मोर्चाका कार्यकर्ताको आक्रमणबाट ट्रकमा लोड गरिएको झन्डै २० लाख रुपैयाँ बराबरको एन्टिबायोटिक औषधि जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

वीरगन्ज उपमहानगरपालिका–१४ स्थित गोदाम अगाडि लोड गरेर पार्क गरिएको ना२ख ८२९२ नम्बरको ट्रकमा आगजनी गरिएको पर्सा प्रहरी नायव उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।
मोर्चाले औषधि ल्याउन दिने निर्णयपछि व्यवसायीहरुले गोदाममा थन्किएको औषधि राति लोड गरेका थिए । ‘अति आवश्यक औषधि’ लेखिएको ब्यानर समेत ट्रकको अगाडि झुन्डयाइएको थियो । तर, राति करिब १ बजेको समयमा मोर्चाका कार्यकर्ताले ट्रकमाथि ३ वटा पेट्रोल बम प्रहार गरेका हुन् ।
उक्त ट्रक औषधि बोकेर जनकपुरतिर गइरहेको थियो । विहीबार राजधानीमा बसेको मधेसी मोर्चाको बैठकले औषधि र स्वास्थ्य उपकरण आपूर्तिमा सरकारलाई सहयोग गर्ने निर्णय गरेको थियो ।















प्रतिक्रिया