नेपालगञ्ज, ३ मंसिर । उप–प्रधान, परराष्ट्र एवम् स्थानीय विकास मन्त्री कमल थापाले भारतको विरुद्ध नेपालले कहिल्यै नराम्रो नगरे पनि बेलाबेलामा दुख दिने गरेको बताएका छन् ।
भारतविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिएको बताउँदै थापाले राम्रो गर्दा गर्दै भारतले विभिन्न वहानामा नेपालमाथि अंकुश लगाउने गरेको बताए ।
राप्रपा नेपालले विहीबार नेपालगन्जमा आयोजना गरेको ‘स्वागत तथा कार्यकर्ता भेला’ लाई विहीबार सम्बोधन गर्दै मन्त्री थापाले भारतविरुद्ध नेपालले कहिल्यै नराम्रो सोच्न नसक्ने स्पष्ट पारे ।
शान्ति प्रक्रियामा महत्वपूर्ण सहयोग गरेको भारतले संविधान जारी भएपछि खुसी मनाउनुपर्ने ठाउँमा नाकाबन्दी गरेर देशमा चरम अभाव सिर्जना गराएको बताए । भारतले पारवहन र आपूर्ती ब्यवस्था रोकेर नेपालमाथि अमानविय ब्यवहार गरेको बताए ।
नाकाबन्दी गरेर भारतले छिमेकीले गर्ने ब्यवहार नगरेको बताउँदै मन्त्री थापाले भारतले मानवीय समबेदना समेत गुमाएको धारणा राखे । नेपालले भारतको विरुद्ध कहिल्यै नराम्रो नगरेको बताउँदै स्थानीय विकास मन्त्री समेत रहेका मन्त्री थापाले असल छिमेकीको ब्यवहार गर्न भारतलाई आग्रह गरे ।
उनले अर्काको देसको संविधानलाई लिएर भारतले टाउको दुखाउने पर्ने कारण नभएको बताउँदै भारतले किन नेपाललाई दुख दिएको बुझ्न नसकिएको बताए ।
धेरै समय बर्तमान राजनीतिक परिवेश र नाकाबन्दीमा खर्चिएका मन्त्री थापाले भूपरिवेष्ठित राष्ट्रले पाउने कानूनी अधिकारबाट भारतले नेपाललाई बञ्चित गराएको बताए । उनले दुई देशबिचको सम्बन्धलाई नबिगार्न सुझाव दिए । बार्ता टोलीको संयोजक समेत रहेका थापाले भने, ‘नेपाल–भारतबीच सदियौँदेखिको सम्बन्ध नविगार्न म भारतसँग आग्रह गर्दछु ।’
संविधानका केहि बुँदामा राप्रपा नेपालको असहमति भएपनि बर्तमान संविधानले धेरै अधिकार दिएकोले असहमतिका बाबजुद सहमति गरेको जानकारी दिए । नेपालको संविधान विश्वकै उत्कृष्ट भएको स्पष्ट पार्दै उनले बर्तमान संविधानले मधेसीलाई उपेक्षा गरेको नभई अधिकार सम्पन्न बनाएको उल्लेख गर्दै थापाले तराईमा जारी आन्दोलनको कुनै तुक नरहेको बताए ।
मधेसका यूवामा भ्रम छरेर मधेस केन्द्रित दलका नेताहरुले आफ्नो राजनीतिक अभिष्ठ पूरा गर्न खोजेको उनले बताए । ‘संविधानमा भएका कुरालाई गलत भएको भ्रम छरेर आन्दोलन उतार्नु गलत हो,’ उनले भने, ‘सडकमा आन्दोलन गरेर समस्या समाधान नहुने भएकोले बार्तामा आउनुस् सरकार माग पूरा गराउन तयार छ ।’
भारतले लगाएको अघोषित नाकाबन्दीका कारण देशको अर्थतन्त्र तहसनहस भएको उनले बताए । राप्रपाका अध्यक्ष समेत रहेका मन्त्री थापाले नेपाल प्रति भारतले गरेको ब्यवहारका बारेमा नेपालले बुझ्नै नसकेको बताए । उनले भने, ‘भारतले के गर्न खोजेको हो र के चाहेको हो ? नेपालले त के विश्वले नै बुझ्न सकेको छैन ।’
मधेस केन्द्रित दलको मागलाई सम्बोधन गर्न अहिलेसम्म आधा दर्जन बढि औपचारिक अनौपचारिक बार्ता र छलफल भइसकेको उल्लेख गर्दै बार्ता समितिका संयोजक समेत रहेका उप–प्रधान मन्त्री थापाले सवै माग सम्बोधन गर्ने प्रतिवद्धता जनाउँदा जनाउँदै पनि आन्दोलन नरोकिएको बताए । उनले तराईमा २ प्रदेशको माग गर्ने मधेस केन्द्रित दललाई अन्य दल र तराईमा बसोबास गर्ने अन्य जनताको चित्त बुझाउन मधेस केन्द्रित दललाई सुझाव दिए ।
उनले भने, ‘संविधानले दिएको अधिकार प्रयोग गरेर सडक आन्दोलन गर्नु अपराध नभएपनि देसलाई तहस नहस बनाउने गरी आन्दोलन गर्नु राम्रो होइन । त्यसैले बार्तामा आउन म मधेसी दललाई आग्रह गर्दछु ।’
राप्रपा नेपाल बाँकेका अध्यक्ष ऋषिराज देवकोटाको अध्यक्षताम भएको कार्यक्रममा राप्रपा नेपालका बरिष्ठ उपाध्यक्ष धवल शम्शेर राणा, संघीय तथा स्थानीय विकास राज्य मन्त्री एवम् राप्रपा नेपालका सह–महामन्त्री कुन्ती शाही, ओमप्रकाश आजाद लगायतले बोलेको कार्यक्रम सञ्चालन कमल विके (निर्मोही) ले गरेका थिए ।















प्रतिक्रिया