२९ आश्विन २०८३, बिहिबार

जनप्रदर्शन नगर्ने

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UMLकाठमाडौं, १९ असार । आधुनिक प्रविधिको अधिकतम उपयोगसहित नवौं महाधिवेशनको अन्तिम तयारीमा जुटेको नेकपा एमालेले बिहीबार उद्घाटन सत्रमा विगतजस्तो जनप्रदर्शन नगर्ने भएको छ। वर्षाका साथै खेतीको समयलाई मध्यनजर गरी जनप्रदर्शन स्थगित गरिएको महाधिवेशन मूल तयारी समितिले जनाएको छ।

यसको सट्टा उद्घाटन स्थलमै अघिल्ला महाधिवेशनका मुख्य झाँकी प्रदर्शन गरिनुका साथै पार्टीले आफ्नो वेबसाइटबाट उद्घाटन र अन्य कतिपय कार्यक्रमको प्रत्यक्ष प्रसारण गर्नेछ। राष्ट्रिय सभागृहमा अलग्गै स्त्र्किन राखेर कार्यक्रम हेर्नसक्ने व्यवस्था पनि मिलाइएको छ।

‘यसपालिको महाधिवेशन उद्घाटन विगतको भन्दा फरक हुनेछ,’ एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले महाधिवेशनस्थल भृकुटीमण्डपमा बुधबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘हामी जनतालाई दुःख हुने गरी सडकमा जनप्रदर्शन गर्नुको साटो सामाजिक सञ्जालहरूको अधिकतम उपयोग गर्नेछौं।’

यसपालि विगतजस्तो सहरबजारका भित्ता पोस्टर र नाराले नरंगाउने निर्णयसमेत गरिएको उनले बताए।

एमाले अध्यक्ष झलनाथ खनालले दिउँसो १ बजे भृकुटीमण्डपमा महाधिवेशनको औपचारिक सुरुवात गर्ने छन्। रोबोटमा जडान गरिएको पानसमा मेसिनबाट बत्ती बालेर महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ।

अध्यक्ष खनाल उद्घाटनका लागि मञ्चमा उक्लेपछि स्वचालित रूपमा पानस माथि आउनेछ। त्यससँगै पोडियम पनि मञ्चमा देखापर्नेछ। यसका लागि अत्याधुनिक ढंगमा प्रकाश संयोजन र रोबोटको व्यवस्था गरिएको पार्टीले जनाएको छ।

एमाले अध्यक्ष झलनाथ खनालले बुधबारै महाधिवेशन तयारीको निरीक्षण गरेका थिए। यस क्रममा रोबोटले कसरी उद्घाटन गर्छ र मञ्चमा बत्तीको बन्दोबस्त लगायतबारे उनले चासो राखेका थिए। ‘नवौं महाधिवेशनको तयारी पूरा भएको छ,’ खनालले पत्रकार सम्मेलनमा भने, ‘यो एकताको महाधिवेशन हुनेछ।’

एमालेले राजनीतिक प्रतिवेदन केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित गरी मातहत कमिटीमा पठाएको छ भने विधान संशोधन र सांगठनिक प्रतिवेदनलाई पनि सहमतिका आधारमा अन्तिम रूप दिएको छ। वैचारिक एकता नै नवौं महाधिवेशनको मुख्य विशेषता भएको दाबी गर्दै अध्यक्ष खनालले त्यसकै आधारमा सहमतिका साथ नेतृत्व चयन हुने दाबी गरे।

देशभरिका २ हजार ३ सय २५ प्रतिनिधि सहभागी हुने महाधिवेशनले पाँच वर्षका लागि पार्टीको नीति र नेता टुंगो लगाउने छ। जिल्ला प्रतिनिधि काठमाडौं आइसके पनि केन्द्रीय कमिटीले १ सय ११ प्रतिनिधि मनोनित गर्न बाँकी नै छ। त्यसका लागि केन्द्रीय कमिटी बैठक बस्नुपर्छ तर त्यसको सम्भावना कम बन्दै गएको छ। नागरिक दैनिकबाट