१२ कार्तिक २०८३, बिहिबार

तिब्बत–छेकम्पार नाकासम्म सडक पुराउन आग्रह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Created with Nokia Smart Cam
Created with Nokia Smart Cam

गोरखा, १ मङ्सिर । महाभूकम्पले घर भत्केको सात महिना बितिसक्दा पनि सरकारले पुनःनिर्माणको कामलाई प्राथमिकता नदिएपछि जिल्ला दैवी प्रकोप उद्धार समिति गोरखाका संयोजकसहित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर तत्कालै पुनःनिर्माणको काम सुरु गर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीलाई सोमबार बालुवाटारमा भेटेर प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमल्सेना, नेपाली काँग्रेसका मुख्य सचेतक चीनकाजी श्रेष्ठ, केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे, काँग्रेस सभापति हरिबहादुर घले, एमाले केन्द्रीय सदस्य रामशरण बस्नेत, जिल्ला अध्यक्ष प्रेम गुरुङ, एमाओवादी सांसद छमबहादुर गुरुङ, जिल्ला प्राविधिक कार्यालयका प्रमुख सहदेवबहादुर भण्डारी, जिविसका कर्मचारी गोपी कोइरालाले पुनःनिर्माणको काम सुरु गर्न आग्रह गरेका हुन् ।

सो अवसरमा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, अर्थमन्त्री विष्णु पौडेल पनि उपस्थित हुनुहुन्थ्यो ।

जाडोले भूकम्पपीडित कठ्याङ्ग्रिएको भन्दै प्रजिअ तिमल्सेनाले बुझाएको ज्ञापनपत्रमा तत्कालै पुनःनिर्माण प्राधिकरण गठन गरेर जिल्ला–जिल्लामा कार्यालय स्थापना गरी गाउँ, बस्ती पुनःनिर्माणमा जुट्नुपर्ने उल्लेख छ ।

साथै चीनले बाह्रै महिना खुलाउने निर्णय गरेको तिब्बत–छेकम्पार नाकादेखि गोरखा सदरमुकामसम्म सडकको ट्र्याक खोल्न डोजर र बजेटको व्यवस्था गरिदिन आग्रह गरिएको छ ।

“उत्तरी सात गाविसको विकास र समग्र गोरखाको विकासका लागि तिब्बत नाकादेखि सदरमुकामसम्म सडक खोल्नुपर्छ”, प्रधानमन्त्री ओलीलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख छ – “अवरुद्ध मनास्लु पदमार्ग सञ्चालन गर्न ढिलो भइसक्यो ।”

बारपाक–लाप्राक हुँदै अहिले गुम्दा गाविससम्म सडकको ट्र्याक खनिएको छ । हिउँदमा गुम्दासम्म साना जिप र ट्रक पुग्छन् । बर्खा लागेपछि सो बाटो भत्किन्छ ।

त्यस्तै सात महिनादेखि अवरुद्ध रहेको मनास्लु पदमार्ग खोल्न आवश्यक बजेट अभाव रहेको जिविसले जनाएको छ । पदमार्ग खोल्न करिब ५० लाखभन्दा बढी बजेट आवश्यक पर्छ ।

ज्ञापनपत्र बुझेपछि प्रधानमन्त्री ओलीले पालुङ्टार, च्याङ्ली, विमलनगर, लम्जुङ क्षेत्रलाई उपयुक्त हुने गरी एकीकृत बस्ती विकास गर्ने सरकारको योजना रहेको बताउँदै सम्बन्धित मन्त्रालयको बैठकमा ग्रामीण बस्ती विकासबारे छलफल गर्ने र उपयुक्त निर्णय लिने प्रतिबद्धता जनाउनुभएको प्रजिअ तिमल्सेनाले जानकारी दिनुभयो ।

“पुनःनिर्माणको कामलाई छिट्टै थाल्ने र तिब्बत नाकासम्म पुग्ने सडक खुलाउन डोजरको व्यवस्था गरिदिनेबारे प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ” प्रजिअ तिमल्सेनाले भन्नुभयो – “उत्तरी गोरखाको निरीक्षण भ्रमण गर्ने इच्छा प्रधानमन्त्रीको छ ।”

ज्ञापनपत्र बुझाउन पुगेको टोलीले भूकम्पपछिको अवस्थाबारे स्थलगत जानकारी लिन प्रधानमन्त्री ओलीलाई गोरखा भ्रमणको निम्तो पनि दिएको जनाइएको छ । रासस