कलैया, ३० कात्तिक । बारा जिल्ला गढीमाई नगरपालिका वडा नं ९ मा गएराति ट्रक दुर्घटना हुँदा चालक र सहचालक गरी दुईजनाको मृत्यु भएको कुरा जिल्ला प्रहरी कार्यालयबाट थाहा भएको छ ।
ना ४ ख २५९८ नंको ट्रकमा फलाम लोड गरी वीरगन्जबाट पथलैयातर्फ गइरहेको सो ट्रक अचानक सडक छेउमा रहेको रुखमा ठोक्किँदा लोड गरिएको फलामले घोची चालक र सहचालक गम्भीर घाइते भई वीरगन्ज अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरीबाट थाहा भएको छ ।
मृत्यु हुनेमा गोरखा बस्ने ५५ वर्षीय टङ्कबहादुर बानियाँ चालक, र सोही ठाउँ बस्ने सहचालक प्रमोद गोगती रहेको कुरा थाहा भएको छ ।
गोली प्रहारबाट घाइते
बारा जिल्ला सिम्रौनगढ नगरपालिका वडा नं ३ बस्ने बृजकिशोर यादव अज्ञात समूहको गोलीबाट घाइते भएको कुरा प्रहरीबाट थाहा भएको छ ।
घाइते यादव आफ्नो घरमा सुतिरहेको अवस्थामा अज्ञात समूहले हिजो राति करिब १ बजे घरको झ्यालबाट गोली प्रहार गरी फरार भएको थियो । घाइते यादवको वीरगन्ज अस्पतालमा उपचार गरी घर फर्किसकेको थाहा भएको छ ।
प्रहरीले गोली प्रहार गर्ने अज्ञात समूहको खोजतलास गरिरहेको छ । घाइते स्थानीय विद्यालयका शिक्षक हुन् । रासस















प्रतिक्रिया