काठमाडौँ, ३० कात्तिक । भारतको अघोषित नाकाबन्दीका कारण इन्धन आपूर्ति सहज हुन नसक्दा दसैँ अघिदेखि बन्द भएका काठमाडौँ उपत्यकाका अधिकांश निजी विद्यालय अझै पूर्णरुपमा खुल्न सकेका छैनन् ।
इन्धन अभावकै कारण तिहारपछि खुल्ने भनिएपछि अधिकांश विद्यालय खुल्न सकेका छैनन् ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएन (एनप्याब्सन) का अध्यक्ष कर्णबहादुर शाहीले प्रवेशिका परीक्षा नजिकिँदै गरेको अवस्थामा कक्षा १० को पढाइ रोक्न नहुने भन्दै विद्यालय बन्द नहुने व्यवस्था सरकारले गर्नुपर्ने बताउनुभयो । आगामी चैतमा प्रवेशिका परीक्षा सञ्चालन हुन्छ ।
निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) का महासचिव डिके ढुङ्गानाले विद्यालयलाई अत्यावश्यक सेवाअन्तर्गत राखेर सञ्चालन गर्नुपर्ने माग राख्दै विद्यालयका लागि भनेर सरकारले छुट्टै पेट्रोल पम्पको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।
लिटिल एञ्जलका प्रिन्सिपल मुकुन्द शर्माले काठमाडौँ उपत्यकाका २० ठूला विद्यालय एक दिन बन्द भए करिब सवा लाख विद्यार्थी प्रभावित हुने बताउँदै सरकारले इन्धनको व्यवस्था नगरिदिए एक हप्ताभन्दा बढी समय विद्यालय सञ्चालन गर्न नसकिने जनाउनुभयो ।
‘शैक्षिक क्यालेन्डर’ मा दसैँको फूलपातीदेखि मात्र विद्यालय बन्द भनिए पनि विद्यालयले यसअघिदेखि नै विद्यालय बन्द गरेका थिए । तराई मधेसका जिल्लाका अधिकांश विद्यालय पनि आन्दोलनका कारण प्रभावित छन् । रासस















प्रतिक्रिया