भोजपुर, ३० कात्तिक । दुवै मिर्गौला फेल भएकी सीमा प्रधानलाई ‘मेरो प्यारो भोजपुर फेसबुक ग्रुप’ले आर्थिक सहयोग गरेको छ ।
विगत एक वर्षदेखि मिर्गौलाको उपचारार्थ भोजपुर, गुप्तेश्वर– ९ की सीमा प्रधानलाई ‘मेरो प्यारो भोजपुर फेसबुक ग्रुप’का एडमिनहरुले एक लाख ७० हजार रुपैयाँ आइतबार हस्तान्तरण गरेका हुन् ।
मिर्गौलापीडित प्रधानलाई मेरो प्यारो भोजपुर फेसबुक ग्रुपका एडमिनहरुले सीमा प्रधान सहयोग सङ्कलन कार्यक्रम चलाएका थिए । उक्त अभियानबाट सङ्कलित रकम पीडित प्रधानलाई एक कार्यक्रमका बीच भोजपुरमा हस्तान्तरण गरिएको छ ।
सो रकम भोजपुरको विकास र सचेतनाका लागि सामाजिक संस्था सोडाका अध्यक्ष नवीन प्रधानले हस्तान्तरण गर्नुभएको हो । सो सङ्कलित रकम जापानमा रहेका विनोद प्रधानले रु ३७ हजार १५८, मलेसियामा रहेका मौसम राईले रु १९ हजार ४१६, दुवइमा रहेकी सन्ध्यालक्ष्मी राईले रु नौ हजार ४६९, मलेसियामा रहेकी जोनताजीले रु १२ हजार ८९३, ललितपुरका दिलीप रेखा प्रधान राईले रु पाँच हजार, बास्तिमका युगेशकिशोर राईले रु पाँच हजार १२, चौकीडाँडाका अशोक राईले रु ३० हजार, साउदीबाट शमशेर प्रधानले रु ३० हजार ६१७, मलेसियाबाट अनिश विरही विष्टले रु १७ हजार १२८, मलेसियाबाट राम इशारा राईले रु नौ हजार ५६४, काठमाडौँबाट सिर्जना वान्तवाले रु नौ हजार १४५, कटुञ्जेका सुचा राईले रु पाँच हजार ७३५, मलेसियाबाट जिन्दगी अधुरोले रु पाँच हजार ५७८ र हसनपुरका सफल राईले रु एक हजार ३६४ सहयोग प्राप्त भएको सो ग्रुपका विनोद प्रधानले जानकारी दिनुभयो ।
भोजपुरबाट वैदेशिक रोजगारका लागि विदेशमा रहेका भोजपुरे युवाले मेरो प्यारो भोजपुर नामको फेसबुक ग्रुप खोलेर सामाजिक काम गरिरहेका छन् । यो ग्रुपले यसअघि नै मलेसियामा दाहिने हात गुमाएका वैकुण्ठे– ५ का देवान राईलाई रु एक लाख ७२ हजार ६३९ हस्तान्तरण गरिसकेको छ ।
देउसी भैलोबाट रु एक लाख ५० हजार
यसैबीच, रुद्र कुलुङ बचाउ अभियान उपसमिति सोलुखुम्बुले देउसी भैलो कार्यक्रमबाट रु एक लाख ५० हजार बढी सहयोग रकम सङ्कलन गरेको जनाएको छ ।
सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा देउसी भैलो कार्यक्रम गरी रु एक लाख ६० हजार रकम सङ्कलन गरेको सो उपसमितिले जानकारी दिएको छ ।
सिभिल अस्पताल काठमाडौँका बोनम्यारो विशेषज्ञ डाक्टर विशेष पौडेलले कुलुङको उपचारार्थ बोनम्यारो ट्रान्सप्लान्टबाट मात्र सम्भव हुने र यसका लागि कम्तीमा रु ४० देखि रु ५० लाखसम्म रकम लाग्ने भएपछि देश विदेशमा रुद्र बचाउ अभियान सुचारु गरिएको हो । कुलुङको आर्थिक अवस्था कमजोर रहेकाले सो अभियान थालिएको र हालसम्म रु १५ लाख सङ्कलन भएको समेत उनका दाजु केशव कुलुङले बताउनुभयो ।
एप्लास्टिक एनिमिया रोगबाट ग्रसित छेस्काम–८ सोलुखुम्बु निवासी २३ वर्षीय कुलुङको नेपालमा उपचार हुन नसकेर भारतको नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेज अस्पतालमा उपचारार्थ रहेका छन् । रासस















प्रतिक्रिया