वाशिंगटन डिसी, ३० कात्तिक । अमेरिकामा बस्दै आएका नेपालीहरूले नेपालमा भारतले गरेको नाकाबन्दीविरुद्ध आक्रोश व्यक्त गर्न अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन ह्वाइट हाउस अगाडि प्रदर्शन गर्ने भएका छन् । त्यसका लागि अमेरिकामा बसोबास गर्ने नेपालीहरूले संघर्ष समिति समेत गठन गरेका छन् ।
अमेरिकाको डिसी महानगर क्षेत्रमा बिभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्वयम सेवकहरुसहित बसेको बैठकले महत्वपूर्ण निर्णय गर्नुका साथ डिसी बिरोध एकता योजना समिति गठन गरेको छ ।
डिसी बिरोध एकता योजना समितिको पहलमा आगामी नोभेम्बर २२ तारिख वाशिंगटन डिसीस्थित व्हाइट हाउस अगाडि व्यापक बिरोध प्रदर्शनी गर्ने निर्णय भएको छ ।
चार घण्टासम्म बसेको बिशेष भेलामा १० बुँदामा केन्द्रित भै छलफल हुनुका साथै सर्बसम्मति तथा पूर्ण प्रजातान्त्रिक रुपले सबै १० बुँदालाई पारित भेलाले गरेको उक्त समितिका सदस्य तथा मेरिल्याण्ड राज्यको इण्डियन हेड सिटीका नगर उपप्रमुख किरण सिटौलाले बताए ।
आइतबार भएको भेलामा डिसी महानगर क्षेत्रका ३५ जना विभिन्न संघ तथा संस्थाका प्रतिनिधि तथा स्वयम् सेवकहरुको उपस्थितिमा उपसमिति समेत निर्माण गरी नाकाबन्दीबिरुद्ध बिबिध कामको जिम्मेबार प्रदान गरिएको छ ।
नेपालमा रहेका नेपालीहरुले भोगीरहेका अघोषित नाकाबन्दीले दुःख र पीडा पाईरहेका नेपालीहरुको लागि भारतले गरेको अघोषित नाकाबन्दी अन्तर्राष्ट्रिय पारवहन बिपरित रहेकोले त्यो खोल्न दबाब दिने तथा भारतीय सरकारप्रति एक जुट भै बिरोध जनाउने भएको छ ।
यसको लागि अमेरिका भर रहेका सबै संघसंस्था तथा सबैमा ऐक्यबद्दता जनाउन अनुरोधका साथ आगामी नोभेम्वर २२ तारिखमा ह्वाईट हाउस अगाडि बिरोध जुलुसमा सहभागी हुन् आग्रह समेत समितिले गरेको छ ।
















प्रतिक्रिया