काठमाडौं, १८ असार । भारतीय गृहराज्यमन्त्री किरण रिजिजुले नेपालमा रहेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को सचिवालय दिल्लीमा बन्दै गरेको बताएपछि नेपालस्थित यस क्षेत्रका कूटनीतिक निकाय आश्चर्यमा परेका छन्।
रिजिजुलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाको अनलाइन संस्करणमा आइतबार यस्तो समाचार सार्वजनिक भएको थियो।
सार्क सचिवालय काठमाडौंमा छ। नेपालले आगामी शिखर सम्मेलन आयोजना गरेको छ। यस विषयमा कहीं छलफल नभई एक्कासि सञ्चारमाध्यममा आएपछि सदस्य मुलुकले चासो दिन थालेका छन्।
सार्क सदस्य राष्ट्र पाकिस्तानको काठमाडौंस्थित दूतावासका प्रवक्ता खालिद राणाले समाचारप्रति आश्चर्य व्यक्त गरे। उनले भने, ‘काठमाडौंमा सचिवालय छ, अन्य केही जानकारी छैन। कुरा भएको पनि थाहा छैन, बुधबार यसबारे हामी थप बुझ्नेछौं।’
भारतीय दूतावासका प्रवक्ता अभय कुमारले यसबारे आफूलाई औपचारिक जानकारी नरहेको बताए। यसरी एक मुलुकमा रहेको सचिवालय सार्ने कुरा पत्रिकामा आउनुलाई आफूहरूले पनि सहज रूपमा नलिएको स्पष्ट पार्दै उनले भने, ‘यो विषयमा हामी पनि बुझ्दैछौं।’ अन्नपूर्ण पोष्ट दैनिकबाट













प्रतिक्रिया