काठमाडौं । अघोषित नाकाबन्दी र मधेस आन्दोलनले नेपालीहरूको जनजीवन निकै कष्टकर भएको नेपालमा रहेका रेडक्रस तथा रेडक्रिसेन्ट अभियानका अंगहरुले जनाएको छ ।
भूकम्पबाट प्रभावित तथा मुलुकका सवै क्षेत्रमा बसोवास गर्ने संकटासन्न अवस्थाका मानिसहरूले व्यहोर्नु परेको कष्टपूर्ण अवस्थाप्रति रेडक्रसले गम्भीर चासो व्यक्त गरेको छ ।
मंगलबार संयुक्त रूपमा प्रकाशित प्रेस नोटमा भनिएको छ, ‘धिमा गतिमा अघि बढेका पुनर्लाभका गतिविधिहरू, खाद्यान्न औषधिमूलो र इन्धन लगायतका अत्यावश्यक उपभोगका सामग्रीको संकट तथा तराई/मधेसका क्षेत्रमा भएका निरन्तर असामान्य परिस्थितिको प्रभाव देशैभरि देखिएको छ ।’
वर्तमान परिस्थितिमा रेडक्रसका गतिविधिहरू पनि संकुचित भएको उसले जनाएको छ । ‘भूकम्प प्रभावितहरूको सहयोगार्थ आवश्यकता पहिचान, स्थानीय तहका छलफल तथा जाडो समयको लागि गरिने सहयोग, समन्वयको लागि फिल्ड क्षेत्रमा गर्नुपर्ने यात्राहरूमा भारी कटौती गर्नुपरेको छ’, प्रेस नोटमा भनिएको छ, ‘रक्तदानका क्याम्पहरू सञ्चालनमा पनि बाधा पुगेको छ । एम्बुलेन्स सेवा तथा रक्त आपूर्ति सेवामा अप्ठेरो पर्नाले लाभान्वित वर्गमा मर्का परेको छ । हामी दुःखी छौं ।’
भूकम्प पीडितहरूको अवस्था जाडो मौसमको आगमनसँगै थप प्रतिकूल हुने स्थितिप्रति रेडक्रस विशेष चिन्तित भएको नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देवरत्न धाख्वाले बताए । तराई मधेसको उल्झिइरहेको समस्या, औषधिमूलोको नियमित आपूर्तिमा परेको असर, दुर्गम तथा अन्य केही जिल्लाहरुमा देखिएको स्वास्थ्य सेवाको पहुँचमा कठिनाई एवं एम्बुलेन्स गाडीहरुमा हुँदै आएका आक्रमणका घटनाहरुले थप जटीलता उत्पन्न भएको उनले बताए ।















प्रतिक्रिया