२९ आश्विन २०८३, बिहिबार

यस्तो देखियो संसद्को घोचपेच…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

BiCC_CA_Savasad1

काठमाडौँ, १७ असार । व्यवस्थापिका–संसद्को मंगलबारको बैठकमा केही दलका शीर्ष नेताले विभिन्न पार्टीका नेताको नाम नै किटेर घोचपेच गरे ।

सरकारद्वारा आगामी आर्थिक वर्षका लागि प्रस्तुत नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा राप्रपा नेपालका सभासद् कमल थापाले एनेकपा(माओवादी)का नेता डा बाबुराम भट्टराईलाई कलेजकालका आफ्ना सहपाठी भन्दै उहाँको दलले अवलम्बन गरेको गणतन्त्र र धर्म निरपेक्षताको बाटोप्रति असहमति जनाउनुभयो ।

उहाँले खुलेरै काठमाडौँ उपत्यकाको सडक विस्तारका लागि नेता भट्टराईले गर्नुभएको निर्णयको स्वागत गर्दै कृतज्ञता ज्ञापन मात्र गर्नुभएन, राजसंस्था र हिन्दू राष्ट्रको सम्मिश्रणबाटैै नयाँ नेपाल निर्माण हुने बताउनुभयो ।

नेता भट्टराईले सत्तारुढ दलका नेताहरूको सामूहिक छलफलबाट बनेको नीति तथा कार्यक्रम ‘दुई भिन्न पशुबीचको समागमबाट जन्मिएको खच्चड जस्तो र त्यसले वंशवृक्षलाई विस्तार गर्न नसक्ने’ विचार व्यक्त गर्नुभएको थियो ।

डा भट्टराईद्वारा चित्रित खच्चड अरु कोही नभएर तत्कालीन नेकपा(माओवादी)ले बनाएको उल्लेख गर्दै नेता थापाले भन्नुभयो, “मेरो मान्यतामा नेपाली काँग्रेस र नेकपा(एमाले)लाई विचारबिहीन तपाइँहरूले बनाइदिएको हो ।”

ती दुई दलले २०४६ सालमा ल्याएको व्यवस्था र संवैधानिक राजतन्त्रलाई माओवादीको नेतृत्वमा भत्काइएको उहाँको कथन थियो ।

त्यसैगरी, मधेसी जनअधिकार फोरम(लोकतान्त्रिक)का सभासद् विजयकुमार गच्छदारले निर्धारित समयमा संविधान जारी गर्नेगरी काम गर्न नसके सारनाथ तीर्थवास जानुको विकल्प नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेललगायत नेतासँग नभएको सन्दर्भ आफूले यसअघिको बैठकमा प्रस्तुत गरेको निःसङ्कोच उल्लेख गर्दै संविधान बनाउने दिशामा सबै सभासद्को ध्यान केन्द्रित हुनुपर्ने प्रसङ्गमा आफूले त्यसो भनेको स्पष्ट गर्नुभयो ।

नेता गच्छदारले गगन थापा, चन्द्र भण्डारी, रामहरि खतिवडालगायतका युवा पुस्ताका नेताले सन्दर्भ नबुझी उत्तेजित हुनु उपयुक्त नभएको बताउँदै सुशील कोइराला र शेरबहादुर देउवाको स्थान भविष्यमा थापा, भण्डारी र खतिवडाले लिने भएकाले आजैदेखि संयमित हुन व्यङ्ग्यात्मकरुपमा सुझाव दिनुभयो ।

राप्रपाका नेता थापाको २०४६ सालपछि देश बिगार्ने दलका रुपमा प्रजातन्त्र पुनःस्थापनापछिका स्थापित राजनीतिक दलप्रतिको आक्षेपको बचाउ गर्दै नेता गच्छदारले पञ्चायतकालमा देशलाई विकासविमुख बनाउने काममा उहाँले निर्वाह गरेको भूमिका नबिर्सन झक्झक्याउनुभयो ।

आफ्ना अभिव्यक्तिमा प्रशस्त टुक्का र लोकोक्तिको प्रयोग गर्ने एमाले नेता केपी शर्मा ओली र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले मंगलबार सांसद र समाचार सङ्कलन गर्न सदनमा उपस्थित भएका सञ्चारकर्मीलाई सालिन भाषामा बोलेर चकित पार्नुभयो ।