कञ्चनपुर, २७ कात्तिक । कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका– १० मा रहेको आयुर्वेदिक औषधालयमा साइनबोर्ड नहुँदा बिरामी उपचारबाट वञ्चित भएका छन् ।
साइनबोर्ड नहुँदा धेरै सर्वसाधारणलाई औषधालय रहेको भन्ने बारेसमेत जानकारी हुन नसकेको हो ।
औषधालय मुख्य सडकभन्दा भित्रपट्टि रहेकाले बिरामीलाई यसबारे जानकारी नहुँदा सेवा लिन नसकेको स्थानीयवासी रामबहादुर धामीले बताउनुभयो ।
“कतिपय बिरामी औषधालय रहेको स्थान पत्ता लगाउन नसकेरै घर फर्कने गरेका छन्” – उहाँले भन्नुभयो । नजिकका बिरामीले मात्रै औषधालयको सेवा लिँदै आएका भए पनि टाढाका बिरामी सेवा लिनबाट वञ्चित रहेका छन् ।
आयुर्वेदिक औषधिले शरीरमा रहेको विकारलाई नियन्त्रण गरी पूर्णतया रोगलाई निवारण गर्ने भएकाले बिरामीलाई यसबारे जानकारी हुन नसक्दासमेत औषधालयमा बिरामीको सङ्ख्या बढ्न सकेको छैन ।
साइनबोर्डको व्यवस्था गरिदिन भन्दै महेन्द्रनगरमा रहेको महाकाली अञ्चल आयुर्वेदिक औषधालयमा लिखित र मौखिक रुपमा जानकारी गराउँदासमेत सुनुवाइ हुन नसकेको औषधालयमा कार्यरत वैद्य दिवाकर जोशीले बताउनुभयो ।
उहाँले भन्नुभयो – “आर्थिक अभावले सडकमा त साइनबोर्ड छैन, औषधालय रहेको ठाउँमा समेत साइनबोर्ड राख्न सकेका छैनौँ ।” झलारी पिपलाडी नगरपालिका कार्यालयका कार्यकारी अधिकृत रधुनाथ अवस्थीले साइनबोर्ड राख्नका लागि सम्बन्धित कार्यालयमा पत्राचार गरिने बताउनुभयो ।
उहाँले साइनबोर्डकै कारण बिरामी औषधालयमा नपुग्नु कार्यालयकै ठूलो लापर्बाही भएको बताउनुभयो ।
औषधालयमा बिरामीलाई वैद्य र कविराजको प्रत्यक्ष निगरानीमा राखेर उपचार गरिनुपर्ने भए पनि कविराजको दरबन्दी एक दशकदेखि रिक्त रहेको छ ।
औषधालयमा पर्याप्त औषधिसमेत उपलब्ध नहुँदा उपचारका लागि पुग्ने बिरामीको उपचार गर्नसमेत अप्ठ्यारो पर्दै आएको वैद्य जोशीले बताउनुभयो ।
आयुर्वेदिक औषधालयमा बिरामीको रोग यकिन गरी अविपर्तिकर, सिटोप्लावी, रक्त लवम्गवी, सम्डिपन, हिमकाष्ट, सतरावी, विलम्वी, भुवनेश्वरी वटी, अतिसार चूर्ण र विभिन्न भष्मबाट उपचार गरिन्छ । रासस















प्रतिक्रिया