गौशाला, २३ कात्तिक । विगत तीन महिनादेखि कडा बन्द हडतालको मारमा परेका महोत्तरीका बजार आजबाट खुलेका छन् ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले एक विज्ञप्ति जारी गर्दै आज बिहानदेखि दीपावली तथा छठ पर्वलाई मध्य नजर गर्दै मङ्सिर १ गते सम्मका लागि जिल्लाका विभिन्न हाटबजारलाई खुकुलो पारिएको जनाएको छ ।
मोर्चाको तर्फबाट सङ्घीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष रामनरेश राय, तमलोपाका नेता रामशङ्कर मिश्र, सदभावना पार्टीका जिल्ला अध्यक्ष रामबाबुप्रसाद साह र तमसपा जिल्ला अध्यक्ष नरेन्द्र यादवद्वारा संयुक्त रुपमा हस्ताक्षरित सो विज्ञप्तिमा मोर्चाले जिल्लाको बैंक तथा वित्तीय संस्थालाई कारोबार गर्न खुल्ला गरिएको जनाएको छ ।
मोर्चाले चाडवाडको बेला जलेश्वर उद्योग वाणिज्य सङ्घको विशेष अनुरोधमा सदरमुकाम जलेश्वरसहित जिल्लाका विभिन्न हाटबजार र बैंक तथा वित्तीय संस्थालाई खुला गरेको विज्ञप्तिमा उल्लेख छ ।
मोर्चाद्वारा जिल्लाका हाटबजार खुकुलो पारिएसँगै आज बिहानैदेखि महोत्तरीको सदरमुकाम जलेश्वरका सबै पसल बजार खुलेका छन् भने बिहानैदेखि बजारमा किनमेल गर्नेको चलहपहल बढेको छ । रासस















प्रतिक्रिया