
– केशव विश्वकर्मा
मुस्ताङ, २३ कात्तिक । नेपाल र चीनबीच ७ वटै नाका खोल्ने व्यापारिक सम्झौता भएसँगै चीनको एक टोली मुस्ताङ आइपुगेको छ ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी गणेश बहादुर अधिकारी नेतृत्वको ६ सदस्यीय नेपाली टोलीले छिमेकी जिल्ला तिब्बतको ढोङवासेनका काउन्टी चिफ माइझ्जुङ र सुरक्षा प्रमुख एक्जुमेटिभ चिफ डेन्जिङसँग शुक्रबार लोमान्थाङमा भेटवार्ता गरेको छ ।
वार्ताको क्रममा तिब्बती (चिनियाँ) पक्षले नेपालतर्फको सुरक्षा लगायतका सबै पूर्वाधार निर्माण गरी राजदूतावास मार्फत नाका खोल्न प्रक्रिया अगाडि बढाउने वित्तिकै आफूहरु नाका खोली द्धिपक्षीय व्यापार गर्न तयारी अवस्थामा रहेको र नेपालतर्फबाट प्रक्रिया अगाडि बढाउन ढिलाई नगर्न आग्रह गरेका छन् ।
चीन संग सीमाना जोडिएको उपल्लो मुस्ताङको कोरला नाकाको भौतिक अवस्था (सडक र पूर्वाधार) बारे अध्ययन गर्न उपल्लो मुस्ताङ पुगेको प्रजिअको टोलीले चिनियाँ पक्षसँग भेटवार्ता गरेको हो ।
कोरला नाका खोल्नको लागि त्यसको भौतिक अवस्था (सडक र पूर्वाधार) बारे प्रमुख जिल्ला अधिकारी गणेश बहादुर अधिकारी नेतृत्वमा स्थानीय विकास अधिकारी हरि प्रसाद बास्तोला, भीमदल गणका कर्णेल अर्जुन बस्नेत, प्रहरी निरीक्षक राजकुमार रावल, सशस्त्र प्रहरी निरीक्षक हिमनाथ कंडेल र जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत महेन्द्र बहादुर थकालीसहितको ६ सदस्यीय टोलीले स्थलगत अध्ययन गरेको छ ।
प्रजिअ अधिकारी नेतृत्वको टोलीले जोमसोमदेखि कागबेनी, छुसाङ, चैले, झैते, घमी, चराङ, लोमान्थाङ, छोसेर र छोन्हुपदेखि कोरलासम्मको सडकको अवस्था अवलोकन गरेको छ । तिब्बत नाका जोड्ने चैलेस्थित कालीगण्डकीमा २०७१ असारमा डोलीडार कम्पनीसंग ठेक्का सम्झौता गरिएको पक्की पुलको निर्माण कार्य शुरु गर्न लागिएको प्रजिअ अधिकारीले बताए ।
अनुगमनको क्रममा चैलेदेखि समरको उकालोको सडकमा ठूला गाडीहरु संचालनको लागि मोड सुधार वा बैकल्पिक सडक निर्माण गर्नुपर्ने अवस्था देखिएको, समर भिरको ट्रिपल आर एसडिपीको आयोजनाको अख्तियारद्धारा रोकिएको बाटोको ट्रयाक खोल्नुपर्ने र घमी खोला, चराङ खोला, लोमान्थाङ खोला छोसेर खोलामा पुल वा कल्वर्ट बनाउनुपर्ने देखिएको छ ।
सडकको स्तरोन्नती तथा भौतिक पूर्वाधार निर्माणको जिम्मा ठेकेदार कम्पनी वा नेपाली सेनालाई दिँदा उपयुक्त हुने प्रजिअ अधिकारीले बताए । सीमा क्षेत्रमा पर्याप्त जग्गा भएकोले भन्सार तथा गोदाम, अध्यागमन, क्वारेन्टाइन, सीमा सुरक्षा, बैंक लगायतका पूर्वाधार निर्माणको तयारीमा लाग्नुपर्ने प्रजिअ अधिकारीको भनाई छ ।
उनले भने- उच्च हिमाली क्षेत्र भएकाले त्यस क्षेत्रमा बढी चिसो हुँने हुँदा विद्युत लगायतका इनर्जीको उचित व्यवस्थापन गर्नुपर्छ । साथै नेपाली सेनाको पोष्ट उक्त क्षेत्रमा राख्ने योजना भएकाले पोष्टको लागि जग्गा पनि हेरिएको भीमदल गणका प्रमुख सेनानी अर्जुन बस्नेतले बताए ।
प्रजिअ अधिकारीका अनुसार तिहार लगत्तै नाकाको पूर्वाधारको लागि जग्गा प्राप्ती गर्न नापी टोलीलाई त्यसतर्फ पठाउने र नेपाल तर्फको आन्तरिक पूर्वाधार निर्माण गर्न जिल्ला प्रशासन कार्यालय र सरोकारवाला निकायसंग समन्वय गरी छिटोभन्दा छिटो काम अगाडि बढ्नेछ ।
जिल्ला सदरमुकाम जोमसोमदेखि एक सय किलोमिटर उत्तरतर्फ अवस्थित कोरला नाकालाई निर्माणको अन्तिम चरणमा रहेको रुपन्देहीको बेलहियादेखि लोमान्थाङ सम्मको ४०६ किलोमिटर चीन र भारत जोड्ने छोटो दुरीको कालीगण्डकी करिडोरले पनि समेटेको छ ।
कोरला नाका सञ्चालनमा आउन सकेमा ब्यापारमा भारतसंगको परनिर्भरता हट्ने, धौलागिरी क्षेत्र ब्यापारीक केन्द्रको रुपमा विकास हुने मात्र नभई कालीगण्डकी करिडोरमा जलविद्युत र पर्यटन विकासमा पनि महत्वपूर्ण योगदान पुग्ने बताइएको छ ।
६ गाविसलाई लाखौंको खाद्य सामग्री अनुदान
सो अवसरमा शुक्रबारै तिब्बतले उपल्लो मुस्ताङको सिमावर्ती ६ गाविसहरुलाई विगतको सम्झौता अनुुसार अनुदान स्वरुप दिँदै आएको गैर खाद्य वस्तु सिमेन्ट, छड, जस्ता र खाद्य वस्तु चिनी, भोटेचिया, चामल, उवा, नुन लगायतका सामग्री वितरण गरेको छ ।
उक्त सामग्री स्थानीयको माग अनुसार तिब्बती पक्षले उपलब्ध गराउँदै आएको र यसवर्ष ३० लाख नेपाली रुपैयाँ बराबरको समाग्री उपलब्ध गराएको लोमान्थाङका गाविस सचिव घ्यूर्मि आङग्याल विष्टले जानकारी दिए ।















प्रतिक्रिया