सिड्नी । नेपालमा संविधान प्राप्त भएको र परिवर्तन अन्तर्गत प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति लगायतको निर्वाचन समेत सम्पन्न भएको खुशीयालीमा अष्ट्रेलियामा स्वागत कार्यक्रम गरिएको छ ।
नेपालीका विभिन्न ठूला चाडहरुको सन्दर्भसमेत पारेर एनआरएनका अभियन्ता भवानीप्रसाद ओली र अञ्जना ओलीले कार्यक्रमको आयोजना गर्नुभएको हो ।
आइतबार आयोजना गरिएको कार्यक्रममा अष्ट्रेलियामा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधिका साथै नागरिक अभियानका अगुवाहरु सहभागी थिए । कार्यक्रममा बोल्दै ओलीले देशलाई यतिबेला सहयोगको आवश्यकता भएको बेला एनआरएनले सही रुपमा आपूmलाई प्रस्तुत गर्न नसकेको भन्दै आलोचना गर्नुभयो ।
विश्वमा १ सय ७० देशमा एनआरएन छौं । विगतमा २०६२ को आन्दोलनका बेला पनि हामीले अष्ट्रेलियाबाट, विदेशमा पनि विभिन्न ठाउँबाट नेपालमा भइरहेको परिवर्तनप्रति ऐक्यबद्धता जनाएका हौं । यतिबेला देशमा रहेकाहरुलाई भारतीय नाकाबन्दीले संकटग्रस्त बनाउँदा समेत हामी किन चुपचाप बसेका छौं ? ओलीको प्रश्न थियो । नेपालीका लागि आर्थिक सहयोग गर्ने कुरा सबैले गर्नसक्ने तर, विश्वभरबाट एकैसाथ भारतीय नाकाबन्दीको विरोध गरेर विश्वको ध्यान आकृष्ट गर्ने काम एनआरएनहरुले मात्रै गर्नसक्ने भन्दै ओलीले यसमा ढिलो गर्न नहुने बताउनुभयो ।
कार्यक्रममा बोल्दै न्यूसाउथवेल्सका लागि अवैतनिक महावाणिज्यदूत दिपक खड्काले हामी यहाँ जतिसुकै सुखमा बसेपनि नेपालीहरुलाई परेको अप्ठेरोले पलपल पोलिरहेको छ भन्दै प्रभावकारी किसिमले यस मुद्दालाई सम्बोधन गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा अष्ट्रेलियाको नेपाली समूदायका अगुवा डा. होममूर्ति पन्तले भारतले लगाएको नाकाबन्दीका प्रमाणहरु के छन् तिनको गम्भीर विश्लेषण गरेर तिनलाई विश्वसामू प्रस्तुत गर्नुपर्ने बताउनुभएको थियो ।
दशैं, तिहार, छठ लगायतका महत्वपूर्ण चाडको पेरफेरिमा शुभकामना आदान प्रदानकोलागि आयोजित जलपान कार्यक्रममा अष्ट्रेलियास्थित भारतीय दूतावासमा बुझाउनका लागि हस्ताक्षर संकलन समेत गरिएको थियो । कार्यक्रममा उपस्थित सबैलाई अञ्जना ओलीले स्वागत गर्नुभएको थियो ।















प्रतिक्रिया