२९ आश्विन २०८३, बिहिबार

संवैधानिक समितिमा सभासदको हाजिरी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

BiCC_CA_Savasadकाठमाडौ, १७ असार । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सचिव मुकुन्द शर्माले सोमबार बिहानको बैठकको सुरुमै सभासदहरूको हालसम्मको उपस्थिति संख्या पढेर सुनाए ।

समितिका विगत १७ बैठकमा कुन सभासद कतिवटामा आए भनेर सुनाउँदै गर्दा कांग्रेसका चन्द्र भण्डारीले बीचैमा रोके । आफू १५ वटा बैठकमा उपस्थित भएको तथ्य सुनेपछि उनले भने, ‘लौ म त सबै बैठकमा आएको छु ।’

समितिको बैठक हाँसोले गुन्जियो । हाजिरी नै देखाइदिउँला भनेपछि भण्डारी चुप लागे । आफ्नो हाजिरी संख्या सुन्दा सभासदहरू छेउका साथीहरूसँग खासखुस गर्दै थिए ।

सञ्चारकर्मीलाई बैठक कक्षमा निषेध गरिए पनि नजिकै उभिएर भित्रको संवाद सुन्न र अधिकांश सभासदको भावभंगी हेर्न सकिन्थ्यो । संविधानसभा सचिवालयका प्रवक्तासमेत रहेका शर्माका अनुसार यसरी बैठकमा हाजिरी संख्या सुनाउने संवैधानिक समिति मात्रै हो ।

समिति सभापति तथा एमाओवादी वरिष्ठ नेता बाबुराम भट्टराईले शीर्ष नेताहरू बाहिरी व्यस्तता देखाएर अनुपस्थित हुन थालेपछि हाजिरी सुनाउने व्यवस्था गरिएको बताए ।

‘संविधानसभाभित्र र बाहिरका दलसँग छलफल गरी संविधान निर्माणमा सहमति जुटाउने सबैभन्दा अहं दायित्य यही समितिलाई छ,’ उनले भने, ‘समितिमा ३० वटै पार्टीका अध्यक्ष र शीर्ष नेता हुनुहुन्छ । संविधान निर्माणका लागि उहाँहरू सबैबीच सहमति आवश्यक छ । हाजिरी संख्या सुनाउन थालेपछि नेताहरूको उपस्थिति बढेको छ ।’

तर भट्टराईकै पार्टीका अध्यक्ष पुष्पकमल दाहाल सबैभन्दा कम उपस्थित हुनेमध्ये पर्छन् । समिति सचिवालयको तथ्यांकअनुसार दाहाल जम्मा ६ बैठकमा आएका छन् । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल ६, उपाध्यक्ष विद्या भण्डारी ५, प्रधानमन्त्री सुशील कोइराला ८, कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा ८, कोषाध्यक्ष तथा शिक्षामन्त्री चित्रलेखा यादव ६, उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम ८, तमलोपा नेपालका अध्यक्ष महेन्द्र यादव ९, नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छे ८, राप्रपा नेपालका अध्यक्ष कमल थापा १० दिन उपस्थित भएका छन् ।

समितिका १७ वटै बैठकमा उपस्थित हुनेमा पूर्वकानुनमन्त्री प्रेमबहादुर सिंह मात्रै छन् । पहिले मस्यौदा समितिमा रहेका कांग्रेस उपसभापति रामचन्द्र पौडेल पनि संवैधानिक समितिमा सरेयताका सबै ८ बैठकमा आएका छन् ।

शीर्ष नेतामध्ये एमाले अध्यक्ष झलनाथ खनाल ४ वटामा मात्र अनुपस्थित रहे, उनी १३ बैठकमा सहभागी छन् । एमाले संसदीय दलका नेता केपी शर्मा ओली एउटा मात्र बैठकमा उपस्थित छन् । उनी अस्वस्थताका कारण लामो समय मुलुकभित्रकै तथा भारत र थाइल्यान्डका अस्पतालमा उपचारार्थ भर्ना भएका थिए । कान्तिपुर दैनिकबाट