३० आश्विन २०८३, शुक्रबार

भारतलाई अन्तर्राष्ट्रिय कानुनको कठघरामा उभ्याउन अमेरिकाका नेपाली जागे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

narendra-modi

अमेरिका । भारतले नेपाल माथि लगाएको अघोषित नाकावन्दी विरुद्ध अमेरिकामा बृहद विरोध प्रदर्शन गरिने भएको छ ।

एशोसियसन अफ नेप्लिज इन अमेरिका (एएनए),गैरआवासीय नेपाली संघ (एनआरएन) नेप्लिज एशोसियसन इन  साउथ इष्ट अमेरिका (नासा),एशोसियसन अफ नेप्लिज इन मिडिल वेष्ट अमेरिका (एन्मा)लगायत अमेरिकामा क्रियाशिल नेपालीहरूका विभिन्न संघसंस्थाको आयोजनामा नाकावन्दीविरुद्ध अन्तर्राष्ट्रिय समर्थन प्राप्त गर्ने र नेपालीहरूको मानवअधिकार, सार्वभौम सत्ता, स्वतन्त्रता र पारवाहन अधिकार रक्षार्थ अमेरिकी सरकारको सहयोग जुटाउने उद्धेश्यले विरोध प्रदर्शनको तयारी गरिएको हो ।

नेपालीहरूका विभिन्न प्रतिनिधिमूलक संघंस्थाहरूको हालै सम्पन्न कन्फ्रेन्स बैठकले अमेरिकामा रहेका नेपालीहरूका सम्पूर्ण संघसंस्थाको उपस्थितिमा राजधानी वासिङटन डीसीमा विरोध कार्यक्रम गर्ने निर्णय गरेको हो । त्यसक्रममा राजधानी वासिङटन डीसीस्थित भारतीय दुतावासअगाडि प्रदर्शनसहित ज्ञापनपत्र बुझाइने भएको छ । यसका साथै न्यूयोर्क, नर्थ क्यारोलिना, क्यालिफोर्निया, टेक्सासलगायतका राज्यहरूमा पनि विरोधका विभिन्न कार्यक्रमहरू गरिने भएको छ ।

एशोसियसन अफ नेप्लिज इन अमेरिका (एएनए) का अध्यक्ष रोजर  अधिकारीको संयोजन र डीजे गोर्खालीले सञ्चालन गर्नुभएको कन्फ्रेन्स बैठकमा गैरआवासीय नेपाली संघ (एनआरएन) अमेरिकाका अध्यक्ष डा.केशव पौडेल, अमेरिकाको दक्षिण–पूर्वी राज्यहरूमा बस्ने नेपालीहरूको संगठन नेप्लिज एशोसियसन इन  साउथ इष्ट अमेरिका (नासा) का अध्यक्ष विमल नेपाल, मध्य पश्चिमी राज्यहरूमा बस्ने नेपालीहरूको संगठन एशोसियसन अफ नेप्लिज इन मिडिल वेष्ट अमेरिका (एन्मा) का अध्यक्ष सुशील शर्मा, अन्तर्राष्ट्रिय साहित्य समाज अमेरिकाका अध्यक्ष पदम विश्वकर्मा, युनाइटेड फ्लोरिडा नेपाल एशोसियशन तथा फ्लोरिडा एशोसियसन अफ नेप्लिज सोसाइटी, फ्लोरिडाका अध्यक्ष रामशरण थापा ,साउथ क्यारोलिना नेप्लिज एशोसियसनका अध्यक्ष सतीश गुप्ता, नेप्लिज एशोसियसन इन साउथ इष्ट अमेरिका (नासा)का महासचिव शिव बिष्टलगायतका बुद्धिजीवी तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो ।

त्यसैगरी बैठकमा एनआरएन अमेरिकाका महासचिव तिलक श्रेष्ठ, युनाइटेड फ्लोरिडा नेपाल एशोसियशन तथा फ्लोरिडा एशोसियसन अफ नेप्लिज सोसाइटी, फ्लोरिडाका पुर्व अध्यक्ष विकास देवकोटा,बानाका पुर्व अध्यक्ष विजय श्रेष्ठ, डा. पुरु श्रेष्ठ , जर्जियाबाट नेप्लिज एशोसियसन इन साउथ इष्ट अमेरिका (नासा)का शैलेन्द्र बज्राचार्य  , पशुपति न्यौपाने, कृष्ण श्रेष्ठका साथै डीसीबाट अनुप पहाडी र प्रेम संग्रौला, न्यूयोर्कबाट कृष्ण पोखरेल, भर्जिनियाबाट हरि शर्माका साथै राम थापा, शम्भु ढुंगाना, गोपाल रेग्मीलगायतका अगुवाहरू सहभागी हुनुहुन्थ्यो ।

नेपालीहरूको महत्वपूर्ण चाडपर्वका बेला भारतले लगाएको अघोषित नाकावन्दीका कारण जनजीवन कष्टकर बनिरहेको र गम्भीर मानवीय संकट उत्पन्न हुनसक्ने खतरा बढिरहेको अवस्थामा अमेरिकामा हुने प्रदर्शनले समस्या समाधानका लागि सरोकारवालाहरूलाई नैतिक दवाव पुग्ने अपेक्षा गरिएको छ । साथ आज साँझ ९:०० बजे बिशेष बैठक गर्न लागिएको कुरा एशोसियसन अफ नेप्लिज इन अमेरिका (एएनए) का अध्यक्ष रोजर अधिकारीले बताउनु भएको छ ।