काठमाडौं, २२ कात्तिक । कृषि मन्त्रालयको सहयोगमा फ्लोेरिकल्चर एशोसिएसन नेपालको आयोजनामा ललितपुरको जावलाखेल खेलमैदानमा जारी ९ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २८ लाख रुपैयाँ बढीको कारोबार गर्दै सम्पन्न भएको छ ।
देशमा जारी असहज परिस्थितीमा पनि अबलोकनकर्ताको उल्लेख्य सहभागिता रहेका कारण अन्तिम दिन सम्म २७ हजार भन्दा बढी अबलोकनकर्ताले मेला अबलोकन गरेको र २८ लाख रुपैयाँ भन्दा बढिको कारोबार भएको फ्लोरिकल्चर एशोसिएशनका कार्यक्रम संयोजक जेबि तामाङले बताए । देशमा जारी अघोषित नाकाबन्दीका कारण भएको इन्धन अभावमा पनि पुष्प पारखीहरु, उपभोक्ता र अबलोकनकर्ताको उल्लेख्य उपस्थिती रहेका कारण मेला सफल बनेको फ्यानका अध्यक्ष लोकनाथ गैरेले बताए ।
मेला शुरु भएको दिनदेखि अबलोकनकर्ता दैनिक बढेको बताउँदै मेला संयोजक तथा फ्लोरिकल्चर एशोसिएशन नेपालका उपाध्यक्ष दिलिप बादेले नजिकिदै गरेको तिहार लक्षित गरि गरिएको यो गोदाबरी मेलाले पुष्प पारखी तथा घर आँगन सजाउने पुष्प प्रेमीहरुलाई प्रत्यक्ष फाइदा पुगेको बताए ।
नजिकै आइरहेको तिहार पर्वलाई लक्षित गरी गोदावरी पुष्प मेला तथा प्रदर्शनी सुरु गरेको यस मेलाको नारा ‘रोपेर फूल गोदावरी, सजाऔ घर आँगन वरिपरि’ भन्ने रहेको थियो ।
मेलामा व्यवसायिक स्टल, सूचनामुलक र गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी स्टल सहित जम्मा ३६ वटा प्रदर्शनी कक्षहरु रहेका थिए । मेलामा गोदावरी फूलको विभिन्न प्रजातीका फूलहरुका साथै अन्य फूल बिरुवाहरु समेत प्रदर्शनीमा रहेका थिए ।
अर्को बर्ष पनि तिहार लक्षित गोदाबरी मेला गरिने फ्लोरिकल्चर एशोसिएशन नेपालले जनाएको छ । सोचे भन्दा बढि कारोबार भएकोमा खुशी ब्यक्त गर्दै मुस्कान नर्सरीका संचालक तथा फ्यानका कार्यसमिती सदस्य महेन्द्र सुबेदीले मेलामा सहभागि सबै ब्यबशायी सन्तुष्ट रहेको बताए ।
मेलामा सबैभन्दा क्रमशः गोदाबरी, बगन्बेली, सयपत्री, आलंकारिक बोटबिरुवा, फलफुलका बिरुवा लगायत बिभिन्न प्रजातीका फुल बिरुवाहरु धेरै बिक्री भएको मेलामा सहभागि ब्यबशायीले बताए ।
मेलामा फूल बिरुवालाई चाहिने मल, औजार र किटनासक औधषीको पनि राम्रो कारोबार भएको थियो । राष्ट्रिय बनस्पति उद्यानले ६० भन्दा बढि प्रजातीका बोट बिरुवाहरु तथा नेपालका रैथाने बोट बिरुवाहरु अबलोकनका लागि प्रदर्शनीमा राखिएको र यसबाट धेरै भन्दा धेरै अबलोकनकर्ताले जानकारी पाएको उद्यान प्रमुख दिपक लामिछानेले बताए ।















प्रतिक्रिया