ध्रुवराज अर्याल
लण्डन । पार्टीको नवौं राष्ट्रिय महाधिवेसनको संघारमा नेकपा एमाले बेलायतमा विवाद चुलिएको छ ।
माधव नेपाल र केपी ओली लाइनका दुई गुटमास्पष्ट विभाजित कार्यकर्ताबीच महाधिवेसन प्रतिनिधि चयनको विषयमा उत्पन्न विवादले मतभेद झनै बढाइदिएको हो । विवाद बढ्दै जाँदा दुबै पक्षका कार्यकर्ता फेसबुक लगायतका सामाजिक सञ्जालमा समेत आरोप प्रत्यारोपमा उत्रिन थालेका छन ।
महाधिवेशनमा भाग लिने एक महिलासहित दुई प्रतिनिधिको नाममा दुई पक्षबीच सहमति जुटन नसकेपछि गत साता निर्वाचन गरिएको थियो । त्यसक्रममा माधव नेपाल पक्षका मानिने बेलायत एमालेका अध्यक्ष रामशरण सिंखडा र उनकै पक्षकी शुष्मा राई विजयी भए । उनीहरुले ओली पक्षका भक्त गुरुङ र विमला सेनेलाई झिनो मतअन्तरले पराजित गरे । तर, निर्वाचनको परिणाम सार्वजनिक भएलगत्तै ओली पक्षले चुनावमा धांधली भएको भन्दै परिणाम स्वीकार नगर्ने बतायो ।
निर्वाचनका समितिका सबै सदस्यहरुसँगको मिलेमोतोमा अध्यक्ष सिंखडाले धाँधली गरेर चुनाव जितेको उनीहरुको दाबी छ । बेलायतबाहिर रहेका सदस्यको नाममा समेत मत हालिएको, हुलाकबाट मतपत्र पठाउने काम सहमतिविपरित एकलौटी रुपमा गरेको, मतपत्र कति छापिए भन्ने समेत आफूहरुलाई जानकारी नगराएको लगायतका आरोप ओली पक्षले लगाएको छ ।
उनीहरुले प्रवास इन्चार्ज भीम रावलले पनि नेपाल पक्षका प्रतिनिधी चयन गर्नकै लागि पार्टीकै विधानमा नभएको व्यवस्था गरेर एक महिला प्रतिनिधी अनिवार्य भनेर पत्र पठाएको दाबी गरेका छन । एमाले बेलायतका सल्लाहकार तथा महाधिवेशन प्रतिनिधिका पराजित उम्मेदवार भक्त गुरुङले भने, ’ठूलो अनियमितता गरेरै चुनाव जितेको घोषणा गरिएको छ , यो परिणाम हामीहरुलाई स्वीकार्य हुनै सक्दैन, यसबारे पार्टी केन्द्रबाट छानबिन होस भन्ने हामी चाहन्छौं ।’
उता माधव नेपाल पक्षले भने ओली समूहको आरोपको सिधै खण्डन गरेको छ । निर्वाचन समिति गठनदेखि निर्वाचन सम्पन्न गर्दासम्मको सिंगो पक्रिया नै दुवै पक्षको सहमति र सहभागितामा गरिएको भन्दै उनीहरुले धांधलीको आरोप मित्थ्या भएको बताए । महाधिवेसन प्रतिनिधिमा निर्वाचित अध्यक्ष सिंखडाले भने, ‘लोकतन्त्रको सुन्दरता भनेकै निर्वाचनको परिणाम स्वीकार गर्नु हो, यो त जबजको पनि सार हो । आफनो पक्षमा नभएपछि चुनाव नै धाँधली भएको हुने संस्कार अन्त्य हुन आवश्यक छ ।’
निर्वाचन समितिका संयोजक कमलराज खनालले पनि निर्वाचन निष्पक्ष भएको दाबी गरे । ‘सबै साथीहरुकै सहमतिमा अत्यन्तै पारदर्शी रुपमा काम भएको छ ।, खनालले भने, ‘आफनो पक्षमा नतिजा नआएकै कारण केही साथीहरुले आवेग पोख्नुभएको होला । विस्तारै उहाँहरु पनि परिणाम स्वीकार गर्न आउनुहुन्छ भन्ने हाम्रो अपेक्षा छ ।’
बेलायत एमालेका संगठन विभाग प्रमुख खनालको संयोजकत्वमा गठित निर्वाचन समितिमा आर्थिक विभागका कृष्ण भण्डारी र प्रचार विभागका कुमार केसी सदस्य थिए । निर्वाचन समिति गठनका बेला सदस्यहरुको नाममा ओली पक्षले समेत सहमति गरेकोे थियो । तर, निर्वाचनमा पराजित भएपछि उनीहरुले समिति एकपक्षीय रुपमा अध्यक्ष सिंखडाको पक्षमा लागेको र उनीहरुको प्रचारप्रसारमा समेत लागेको आरोप लगाएका छन् ।
दुई पक्षबीचको विवाद र मतभेदहरु फेसबुकका भित्ताहरुमा समेत छरप्रष्ट हुन थालेका छन । दुई पक्षबीचको जुहारी र खिचातानीलाई दुवै पक्षका नेताहरुले विचारको संघर्ष भनेर भनेपनि छताछुल्ल भइरहेका घोंचपेच, आरोप प्रत्यारोप र मतभेदले बेलायत एमालेभित्रको गुटबन्दीलाई थप बलियो बनाइरहेको छ ।














प्रतिक्रिया