१ कार्तिक २०८३, शनिबार

सिलाई कटाइबाटै आम्दानी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ki-nepal-womenमहोत्तरी, २० कात्तिक । घरको कामकाजमै सीमित रहेका महोत्तरीका ग्रामीण भेगका महिला सिलाई कटाई व्यवसायबाट मासिकरुपमा हजाराँै रुपैयाँ आम्दानी गर्दै आएका छन् ।

कामकाज नपाएर घरमै वेकाम भई आर्थिक सहयोगका लागि अरु समक्ष हात फैलाउने महिलाले सिलाई कटाई सम्बन्धी सीप ज्ञान हासिल गरी अहिले प्रतिमहिना रु आठ हजारदेखि रु १२ हजारसम्म आम्दानी गर्दै आएका छन् ।

सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले गाउँमै पुगी सामूहिकरुपमा दिएको सिलाई कटाईसम्बन्धी छ महिने तथा १५ महिने प्रशिक्षण कार्यक्रमबाट उनीहरु प्रशिक्षित भई यथेष्ट आम्दानी गर्दै आएका हुन् ।

जिल्लाको विभिन्न ग्रामीण क्षेत्रमा बसोबास गर्ने पिछडिएको समुदायका महिला तथा युवती मनग्य आम्दानी गरी घरपरिवारमा मानसम्मान पाउनुको साथै आत्मनिर्भर भई समाजमा अलग्गै पहिचान स्थापित गर्न सफल भएका हुन् ।

गाँउमै शिक्षण पेशासँगै नेपाल सरकारद्वारा सञ्चालित १५ महिने सिलाई कटाई सीपबाट प्रशिक्षित भई हाल व्यवसाय सञ्चालन गर्दै आउनुभएका हतिसर्वा गाविसकी नगीनाकुमारी चौधरीले मासिकरुपमा आपूmले रु १० हजारदेखि रु १५ हजारसम्म आम्दानी गर्दै आएको बताउनुभयो ।

उच्च शिक्षा अध्ययनको सिलसिलालाई जारी राख्दै चौधरीले अव आपूmलाई जीवनभरी नै अरुको सहारामा बाँच्नुपर्ने स्थिति नरहेको बताउनुभयो । श्रीमान्को कमाइले घर चलाउन धौधौ पर्न थालेपछि महोत्तरी बेलगाछीकी रुवी यादवले गाउँमै सिलाई मेसिन किनेर सुरु गरेको यो पेशाबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ ।

उहाँको कमाइले घरपरिवार चलाउनको लागि सहयोग एवम् राहत पुगेको छ । त्यस्तै साहुसँग ऋण लिएर दुई वर्ष पहिले गाउँमै सुरुवात गरेको यो व्यवसायले गर्दा घरपरिवार चलाउन कुनै समस्या नभएको गौशाला नगरपालिकाकी सन्जु कुमारीले समेत आर्यआर्जन गरी छोराछोरीलाई निजी विद्यालयमा पढाउँदै आउनुभएको छ ।

गृहणी महिलामाथि हुने हिंसाको मुख्य कारणमध्ये एक कारण सीपको अभाव पनि रहेको समाजसेवी एवम् शिक्षिका सुनिता महतोले बताउनुभयो । सरकारले यस्ता सीप जानेको महिला गृहणीको लागि विशेष प्याकेजमा भएपनि आर्थिक अनुदान उपलब्ध गराई उनीहरुलाई पुरुषको मुख हेरेर बाँच्नुपर्ने परिस्थितिको अन्त्य हुने विश्वास गर्नुभयो ।

सरकारले गृहीणी महिलालाई लक्षित गरी सिलाई कटाईलगायत अन्य सीपमूलक कार्यक्रम गाउँगाउँमा पु¥याउनुपर्नेमा स्थानीय महिलाले जोड दिएका छन् । समाजमा व्याप्त रहेको महिला हिंसा र गरिबीको समस्या अन्त्य गर्न र पुरुषप्रधान समाजमा महिलाको अस्तित्वलाई जोगाई राख्न यस्ता सीपको आवश्यकता रहेको उहाँहरुको भनाइ छ । रासस