काठमाडौँ, १६ असार । सरकारले व्यवस्थापिका संसदमा पेश गरेको नीति तथा कार्यक्रमप्रति काँग्रेसभित्रै असन्तुष्टि देखिएको छ ।
नेपाली काँग्रेस केन्द्रीय समिति र संसदीय दलको सोमबार बसेको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रमका विषयमा असन्तुष्टि देखिएको हो ।बैठकमा अधिकांश केन्द्रीय सदस्य एवम् सभासद्हरुले सरकारले व्यवस्थापिका–संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै आवश्यक सुझाव दिएको केन्द्रीय सदस्य एवम् प्रवक्ता दिलेन्द्रप्रसाद बडूले बताउनुभयो ।
बैठकमा केन्द्रीय सदस्य एवम् सभासद्हरुले नीति तथा कार्यक्रमले ऊर्जासम्बन्धी राष्ट्रिय प्राथमिकताका योजनालाई समेट्न नसकेको गुनासो गरेका थिए ।
हरेक जिल्ला र गाउँमा बजेट बाँडफाँड सन्तुलित तवरले हुुनुपर्ने माग गर्दै केन्द्रीय सदस्य एवम् सभासद्हरुले प्राथमिकतामा परेको ठूला योजनामा लगानीकर्तालाई जानकारी हुने गरी बजेट ल्याउन सरकारलाई सुझाव दिएको प्रवक्ता दिलेन्द्रप्रसाद बडूले जानकारी दिनुभयो ।
कार्यबाहक सभापति रामचन्द्र पौडेलको सभापतित्वमा पहिलोपटक बसेको काँग्रेसको बैठकमा संयुक्त राज्य अमेरिकामा उपचाररत सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उहाँको स्वास्थ्य अवस्थाबारे यथार्थ जानकारी गराइएको थियो ।
प्रवक्ता बडूका अनुुसार कार्यबाहक सभापति पौडेलले सोमबार बिहानमात्र सभापति कोइरालासँग टेलिफोन सम्पर्क भएको र चिकित्सकका अनुसार असार १८ देखि २३ गतेसम्म रेडियोथेरापी उपचार विधि सकेर दुई दिन आराम गरी प्रधानमन्त्री कोइराला स्वदेश फर्किनुहुने जानकारी बैठकमा दिनुभएको थियो ।
















प्रतिक्रिया