लक्ष्मी काफ्ले
बिर्तामोड, १७ कात्तिक । वरिष्ठ न्यूरो सर्जन डा. वसन्त पन्त र जापानका वरिष्ठ न्यूरोसर्जनहरुको टोलीले बिर्तामोडस्थित बी एण्ड सी टिचिङ हस्पिटलमा तीनवटा जटिल शल्यक्रिया गरेको छ । उक्त टोलीले सोमबार दुईवटा र मङ्गलबार एउटा शल्यक्रिया गरेको हो ।
डा. पन्तसँग न्यूरो सर्जनमा विश्व प्रसिद्ध जापानको ओनिसी न्यूरो सेन्टरका संस्थापक डा. हिदेयुकी ओनिसी तथा वरिष्ठ न्यूरो सर्जनहरुको टीम बी एण्ड सीमा आएको हो । यो टिमले सोमबार पाँचथर निवासी २१ वर्षका अइन्द्र फागोको निःशुल्क शल्यक्रिया गर्यो । फागोको टाउको पछाडि ट्यूमर थियो । सिलिगुढीको अस्पतालमा ५ लाख रुपैयाँ लाग्ने भनेपछि फागोलाई फर्काएर बी एण्ड सी ल्याएको थियो । त्यसैगरी, तोपगाछीका ५५ वर्षीय खम्बरबहादुर विकको मेरुदण्डमा भएको ट्यूमरको शल्यक्रिया गरिएको छ । त्यस्तै, मंगलबार बुधबारेका ४७ वर्षीय पूर्णकुमार सुवेदीको शल्यक्रिया गरिएको छ ।
शल्यक्रियापछि अस्पताल परिषरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ न्यूरो सर्जन डा. पन्तले खम्मरबहादुरको शल्यक्रिया ६ घण्टा लगाएर गरिएको बताए । आफूले वर्षमा १ हजारभन्दा बढीको शल्यक्रिया गर्ने गरेको बताएका डा. पन्तले बी एण्ड सीलाई समय दिन थालेको प्रतिक्रिया दिए । ‘स्वास्थ्यको क्षेत्रमा राम्रो कामको शुरुआत भएको छ झापामा, यो राम्रो कुरा हो’, उनले भने, ‘त्यसैले मैले बी एण्डसीलाई समय दिन थालेको हुँ ।’ नेपालबाट भारत जाने विरामीलाई रोकेर भारतका विरामी नेपाल आउने वातावरण बी एण्ड सीले बनाउन सक्नु पर्ने पन्तले बताए । आफूले विश्व विख्यात ६० जना न्यूरो सर्जनलाई नेपाल आमन्त्रण गरेको पन्तले जनाए ।
एक फरक प्रसङ्गमा डा. पन्तले मेडिकल कलेजको नाममा ‘जे पायो त्यही’ भइरहेको धारणा राखेका छन् । ‘डा. गोविन्द केसी पटकपटक आमरण अनसन बस्नु जायज पनि हो’, उनले भने, ‘तर, गोविन्दको सबै कुरामा म चाहिँ सहमत छैन ।’
त्यसैगरी जापानको ओनिसी न्यूरो सेन्टरका संस्थापक डा. हिदेयुकीले काठमाण्डौंमा भर्खरै नेपाल जापान कन्फरेन्स सकेर आफूहरु झापा आएको बताए । ‘यहाँ हामीले तीनवटा शल्यक्रिया ग¥यौँ’, उनले भने, ‘नेपालमा यस्तो हस्पिटल हुनु मेरो लागि खुशीको कुरा हो ।’
शल्यक्रियापछि आयोजित कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईं, प्रवन्ध निर्देशक डा. रामबाबु गिरी, अस्पताल निर्देशक महेन्द्रकुमार प्रसाईं, प्रिन्सिपल डा. अमरनाथ ठाकुर, मेडिकल डाईरेक्टर डा. उमेशकुमार शर्मालगायतको उपस्थिति रहेको थियो । प्रिन्सिपल डा. ठाकुरले स्वागत गरेको कार्यक्रमको सञ्चालन प्रशासन प्रमुख टीका अधिकारीले गरेका थिए ।













प्रतिक्रिया