काठमाडौं, १६ असार । डिआइजी बढुवा पुनरावलोकन समितिले एआइजीमा बढुवाका लागि सिफारिस भएका सातमध्ये दुई नाम संशोधन गरेको छ।
पुनरावलोकन समितिले बढुवा सिफारिस समितिमा पठाएको पत्रमा रमेशशेखर बज्राचार्य र केदार साउदको नाम हटाउँदै गणेश राई र नारायण बस्ताकोटीलाई बढुवा गर्न निर्देशन दिएको स्रोतले बतायो। आइतबार गृहसचिव, प्रधानमन्त्री कार्यालयका सचिव र प्रहरी महानिरीक्षक रहेको सिफारिस समिति बैठकले पुनरावलोकन समितिबाट आएको पत्र खोलेको हो।
जेठ दोस्रो साता गृहसचिव संयोजकत्वको डिआइजी बढुवा सिफारिस समितिले रिक्त ७ एआइजीका लागि राजेन्द्रसिंह भण्डारी, सुरेन्द्रबहादुर शाह, विज्ञानराज शर्मा, प्रतापसिंह थापा, वीरेन्द्रबाबु श्रेष्ठ, रमेशशेखर बज्राचार्य र केदार साउदको नाम सिफारिस गरेको थियो।
सिफारिसमा नपरेका नारायण बस्ताकोटी, गणेश राई, यादव अधिकारीसहित ६ जनाले लोकसेवा आयोग अध्यक्ष संयोजकत्वको बढुवा पुनरावलोकन समितिमा उजुरी दिएका थिए। समितिले बढुवा सिफारिसको वरीयताक्रमसमेत संशोधन गरेको छ।
स्रोतका अनुसार बढुवाका लागि दोस्रो नम्बरमा सिफारिस गरिएका शाहलाई तेस्रो नम्बरमा राख्दै तेस्रो नम्बरमा रहेका शर्मालाई दोस्रो नम्बरमा तानिएको छ। पहिलो नम्बरमा रहेका भण्डारी, चौथो नम्बरमा रहेका थापा र पाँचौं नम्बरमा रहेका श्रेष्ठको नाममा कुनै संशोधन भएको छैन।
प्रहरी नियमावली २०७१ ले बढुवा सिफारिसमा उजुरी परे पुनरावलोकन समितिलाई छानबिनका आधारमा नाम संशोधन गर्न सक्ने अधिकार दिएको छ। समितिको संशोधनअनुसारै निर्णयका लागि मन्त्रिपरिषद पठाउनुपर्ने व्यवस्था छ। मन्त्रिपरिषदले यही सिफारिसअनुसार निर्णय गर्नुपर्ने कानुनी प्रावधान छ। नागरिक दैनिकबाट













प्रतिक्रिया