३० आश्विन २०८३, शुक्रबार

भारतबाट खसीबोका नल्याइने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Goat Bakharaपोखरा, १६ कात्तिक । खसीबोका व्यवसायी सङ्घ पोखरा र कास्की खसी तथा कुखुरा मासु व्यवसायी समितिले अबदेखि भारतबाट खसीबोका नल्याउने भएका छन् ।

ती संंस्थाले आइतबार पत्रकार सम्मेलन गरी भारतले इन्धन र ग्यासलगायतका अत्यावश्यक वस्तु नेपालमा पठाउन आनाकानी गर्ने र अनावश्यक, कम महत्व र छिटो बिग्रने फलफूल, तरकारी भने पठाउने गरेको विरोधमा सो निर्णय गरिएको बताइएको छ ।

मधेसवादी दलहरुले गरेको आन्दोलनलाई समर्थन गर्दै भारतले अघोषित नाकाबन्दी गरेर नेपालीको जनजीवनलाई कष्टकर बनाएको भन्दै खसीबोका व्यवसायी समितिले जिल्लालाई चाहिने खसीबोका अबदेखि सुर्खेत, दाङ, नेपालगन्जलगायतका ठाउँबाट ल्याउने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

जिल्लामा मासिक छ हजार ५०० वटा खसीबोका खपत हुने गरेकामा त्यसको ६० प्रतिशत भारतबाट ल्याउने गरिएको थियो ।

जिल्लामा हाल दैनिक ५० हजार किलो कुखुरा र १० हजार किलो खसीबोकाको मासु बिक्री हुने गरेको बताइएको छ ।

कार्यक्रममा खसीबोका व्यवसायी सङ्घका अध्यक्ष ज्ञानबहादुर श्रेष्ठ, कास्की खसी तथा कुखुरा मासु व्यवसायी समितिका अध्यक्ष भोलानाथ ओझाले पत्रकारहरुले सोधेका प्रश्नको जवाफ दिनुभएको थियो । रासस