– अर्घाखाँची, सिद्धाराका प्रणय भूसाल विगत फर्कन चाहन्नन्, तथापी उनलाई विगततर्फ नफर्की चित्त बुझाउन गाह्रो छ । सदरमुकाममा कुखुरा फर्म खोली ब्यापारमा लागेका उनी यतिबेला एक्लै छन् । बैदेशिक रोजगारीको सिलसिलामा कतार रहेका बेला सुत्केरी बेथाले च्यापिएकी उनकी श्रीमतीको उपचारमा ढिलाईले निधन भयो । आफू विदेश रहदाँ उपचार गर्न लैजाने कोही नहुदाँ प्रिय श्रीमतीलाई यो संसारमा राख्न असमर्थ भए । यो संगै भविश्यका उनका आनन्दरुपी सारा सपना चक्नाचुर भए ।
– नवलपरासी रामनगर घर भएका राजु मिश्र आर्थिकरुपमा सबल हुन आफ्ना बिरामी बुबालाई घर छाडी मलेसिया उडे । सेक्युरिटी गार्डको रुपमा काम थालेको एक हप्ता नपुग्दै बुबालाई गुमाउन पुगेको समाचार सुन्न पुगे । धेरै धनराशी खर्च गरेर बिदेश गएका उनी तत्काल घर फर्कन सकेनन् जसले बुबाको काजक्रीयामा जटिलता उत्पन्न भयो ।
– विज्ञान संकायमा स्नातक उतिर्ण धादिङ्गका बिकेश अर्याल घरपरिवारको आग्रहलाई लत्याउदै देशको बेरोजगारी शिक्षामा निराशिदै बिदेश हान्निए । गएको वर्ष दिनमै उनको सुतेको स्थानमै दुःखद निधन भयो ।
– खोटाङ्गकी उर्मिला राई अबैधानिक रुपमा बहराईन पुगिन् । न्युन तलबमा काम गरेकी उनी शाारीरिक तथा मानसिक रुपमा पीडित भईन् । नेपाल फिरेपनि उनको मनस्थिति परिर्वतन भयो जसले मानसिक रोगको गह्रो भारी बोकायो ।
फरक प्रकृतिका घटनाका केही प्रतिनिधिमुलक पीडाका उदाहरण हुन् यिनी । समस्या बिचका सम्भावना अनेक हुदाँहुदै पनि यतिबेला समस्याका धेरै चाङले नेपालीलाई छोप्दै लगेको छ । गाउँघर घुम्दा लाग्छ, गाँउ थप सुनसान र गाम्भिरर्यतामा छ । प्रत्येक टोल छिमेकबाट युवाहरुको उपस्थिति पातालिदै जाँदा यस्तै बोल्छ गाउँघरको चित्र । रेमिट्यान्सको दरमा वृद्धि हुदै गएपनि सबै पैसासँग तुलना गर्ने मापक यहाँ युक्तिसंगत नहोला किनकी परिवार, समाज, देश र त्यो भन्दा ठूलो आत्मियताको जरुरत छ । तर टाढिदै गएको घरपरिवारसंगको दुरीले शुभसंकेत भने अवश्य गर्देन । देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा मात्रै एक दिन गएर अवलोकन गर्ने हो भने पनि वैदेशिक रोजगारीमा युवा पलायन कति हुदैछ भनेर सहजै अनुमान लगाउन सक्छौ । कामको सिलसिलामा नेपाली रहेका मुलुकहरु मलेसिया, कतार, साउदी अरब, यूएई, कुवेत लगायतका देशमा नेपालीको संख्या उल्लेख्य रहदै आएको छ । अहिले नेपालबाट बैधानिक रुपमा रोजगारीका लागि विदेशिने करिब ४० लाखको हाराहारीमा पुगेका छन् । यो मात्र यकिन तथ्यांक होईन किनकी अबैधानिक रुपमा पनि केही लाखको हाराहारीमा नेपाली रोजगारीकै क्रममा बिदेशमा छन् । वैदेशिक रोजगारमा महिलाको संख्यामा समेत दिनानुदिन बढोत्तरी भइरहेको छ । शान्तिप्रक्रिया पछिका वर्षहरुमा बैदेशिक पलायन घट्नुपर्नेमा थप यसको संख्यामा गुणात्मक वृद्दि भईरहेको छ । दैनिक सरदर दुई हजारको हाराहारीमा नेपालबाट युवा बैदेशिक रोजगारीको लागि बाहिरी रहेको उदेकलाग्दो तथ्याङ्ग हामिमाझ छ । बैदेशिक यात्राबाट आर्जेको सिप, क्षमता र आर्थिक समृद्धताले समेत हामीमा खुसी भर्न सकेको छैन । नेपाल आमाले दैनिक सरदर ३÷४ जनाको संख्यामा आफ्ना सन्तति गुमाउनु परेको पीडा कम्ति हृदयविदारक छैन ।
“देशमा बढ्दै गैरहेको बेरोजगारीले बैदेशिक रोजगारी एकमात्र उत्तम विकल्पका रुपमा आम नेपाली युवावर्गमा रहदै आएको छ । बैदेशिक रोजगार आम नेपालीको लागि प्रिय बन्न सकिरहेको छैन, तैपनि अगाल्नुपर्ने बाध्यता छ ।”
यसरी नै युवाजमात पलायन भैरहने हो भने युवाविहिनताको सामाना समेत बेहोनुपर्ला । पातालिदै गएको गाउँ समाजमा युवाको पलायनताले घरपरिवार खण्डित भएका छन् भने अनेक सामाजिक, पारिवारीक बेमेलका घटना बढ्दै छन् । निकै उर्वर भूमिहरुमा क्रमशः खेतिपाती गर्ने क्रममा ठूलो गिरावट आएको छ । कुनै भैपरि आउने घटनाहरुबाट समाज एक्लिदै छ । वैदेशिक रोजगारबाट आर्जेको धनराशिले शहरमा घर,घडेरी जोड्ने परम्परामा व्यापकता आएको छ । जसले गाउँघर रित्तिदै र शहर बजार भरिदै गएका छन् । अनेक सम्भावना बोकेका गाँउका ती पर्यटकिय स्थलहरु त्यत्तिकै हराउने/लोप हुने स्थितिमा पुगेका छन् । साँस्कृतिक धरोहरले भरिएका देशका कयौ परम्परा धान्न हम्मेहम्मे पर्ने गरेको छ । यस्ता संस्कृति र परम्पराहरु लोपको संघारमा पुगेका छन् । सबै शहर केन्द्रित हुदाँ शहरिया बसाँई अव्यबस्थित बन्दैछ । उचित लालनपालन र परिवारको मायाबाट परिवारहरु विमुख हुदैछन् । परिवारका सदस्यहरुको लामो समय भेटघाट नहुदाँ आत्मियतामा ह्रास आइरहेको छ उर्जाशिल समय अरु देशको काममा मात्रै कठोर मेहनतको पैसासँग साटिएको छ । बुढाबुढी आमाबुबा छोराछोरी पर्खाइको लामो समयका कारण न्यास्रो मान्दैछन् । कोही–कोही मनोरोगको सिकार बन्दै आफ्ना दिनहरु घटाउदै छन् । बिदेशमा कार्यस्थल असुरक्षित भैदिदाँ नेपाली श्रमिकले ज्यान गुमाएका दुःखद् समाचार आजभोली हामी धेरै सुन्दै छौ । उच्च तापक्रममा दिउँसो काम गर्ने र साँझ धेरै चिसो (एसी)मा बस्दा तापक्रममा उतारचढाव हुदाँ ज्यान गुमाउनेको संख्या बढि हुन गएको छ । बैदेशिक रोजगारीमा जाने नेपाली युवावर्ग अदक्ष भैदिदाँ कठिन र न्युन सिपयुक्त काममा आफुलाई संग्लन गराउन बाध्य छन् । भाषागत समस्या समेत मृत्युको दरलाई बढाउन सहायक भएको छ । सामाजिक समस्याले चरम सिमाहरु पार गर्देछन् जुन दिर्घकालिन रुपमा अझै बढ्ने कल्पनारुपी सत्य पुर्णतामा देखिनेछ/भेटिनेछन् । देशमा बढ्दै गैरहेको बेरोजगारीले बैदेशिक रोजगारी एकमात्र उत्तम विकल्पका रुपमा आम नेपाली युवावर्गमा रहदै आएको छ । लामो समयदेखी नेपालको राजनीतिक गोलचक्करमै रुमल्लिरहँदा युवाहरु निराश भई यही विकल्प अंगिकार गर्न बाध्य छन् । बैदेशिक रोजगार आम नेपालीको लागि प्रिय बन्न सकिरहेको छैन, तैपनि अगाल्नुपर्ने बाध्यता छ ।
पलायन भएका र हुने तयारीमा रहेका सबै युबावर्गले नेपालमै बसेर अब केहि गर्नुपर्छ भन्ने धारणा संकल्प गर्नु जरुरी छ । अब बिदेशमा रहेका नेपाली स्वदेश फर्कने र देशभित्र हुनेहरु नेपालमै बसेर केही गर्ने सकारात्मक प्रण लिनैपर्छ र बढ्दै गएको पलायनलाई घटाई देशलाई आत्मनिर्भर बनाउनैपर्छ । भर्खरै लामो कठिनाईका बाबजुत देशले संविधानसभाबाट संविधान पाएको छ । यो सबै नेपालीका लागी खुसीको कुरा हो । अबका दिनहरुमा यसको सफल कार्यन्वयनको ब्यग्र प्रतिक्षा सबैमा छ । संविधानले रोजगारमुखी ब्यवस्थालाई अझ परिस्कृृत ढङ्गले अगाडी बढाउन सहयोग गर्ने नै छ । यसले बिदेशिने हाम्रा नेपालीहरुको मनलाई पनि नेपालमै बसेर केही गर्नमा उर्जा थपेको छ । आशा गरौ,देशबाट विदेशिने क्रममा अब अवश्य कमी आउनेछ ।
(लेखक निक साईमन्स ईन्सिच्युटमा कार्यरत छन् । )













प्रतिक्रिया