२९ आश्विन २०८३, बिहिबार

ओली प्यानल बुढा पुस्ताको भिड हो: पाण्डे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

surendra-pandeyकाठमाडौ, १५ असार । नेकपा एमालेका नेता एवम पार्टीको नवौ महाधिवेशनमा महासचिवका प्रत्यासी सुरेन्द्र पाण्डेले ७० प्रतिशत महाधिवेशन प्रतिनिधि वरिष्ठ नेता माधवकुमार नेपालको पक्षमा निर्वाचित भएको दाबी गर्नुभएको छ । जतिसुकै तानातान भए पनि कम्तीमा ६० प्रतिसत मतबाट नेपाल अध्यक्षमा निर्वाचित हुने पाण्डेको दाबी छ ।

रिपोर्टर्स क्लब नेपालले आइतवार गरेको साक्षात्कारमा नेता पाण्डेले पूर्वाञ्चल, सुदुरपश्चिमान्चल, मध्यपश्चिमाञ्चल र प्रवास भारतबाट दुई तिहाई नेपाल पक्षका महाधिवेशन प्रतिनिधि निर्वाचित भएर आएको तथा पश्चिमाञ्चलमा आधा–आधा निर्वाचित भएर आएको दाबी गर्नुभयो । भन्नुभयो– ‘जतिसुकै घटाउन खोजे पनि हामी ६० प्रतिशत मतसहित चुनाव जित्छौ ।’

साक्षात्कारमा पाण्डेले मदन भण्डारीको जनताको बहुदलीय जनतवादको ब्याख्याता नेपाल भएकोले कसैले पनि भण्डारीको राजनीतिक सम्पत्तिको ब्याज खान नखोजे हुने चेतावनी समेत दिनुभयो । अब नेपालले कसैसँग पनि कुनै सम्झौता नगर्ने उहाँको स्पष्टोक्ति थियो ।

ओली पक्ष सबै बुढाखाडाको भिड भएको भन्दै उहाँले आफूहरुको पक्षमा नेपाल बाहेक सबै यूवा पुस्ता रहेकोले नेपालको एक कार्यकालपछि यूवापुस्तामा एमालेको नेतृत्व हस्तान्तरण हुने ठोकुवा गर्नुभयो ।

ओलीले एमालेलाई प्राईभेट कम्पनी बनाएको आरोप लगाउँदै उहाँले यसपटक ओलीको सिण्डिकेडलाई तोड्दै अघि बढ्ने दावी गर्नुभयो ।

पाण्डेले महाधिवेशनमा सत्ताको दुरुपयोग हुन नदिने र दुरुपयोग गरी सरकारी गाडी चढेर आउनेहरुलाई गाडी समेत कुदाउन नदिने घोषणा गर्दें भन्नुभयो– ‘बामदेब गौतम मात्रै शक्तिशाली होइन, हामी सत्तामा बसेर आएका छौँ, सडकबाट आएका हौइनौँ । सत्ताको दुरुपयोग चल्न दिँदैनौ । त्यो दुरुपयोग रोक्न हामी तयार छौं ।’

उहाँले झलनाथ खनालको अध्यक्ष बन्ने सम्भावना अन्त्य भइसकेको भन्दै अब चुनाव वा सर्वसम्मत जुन विधीबाट भए पनि माधवकुमार नेपालकै नेतृत्व हुने दावी गर्नुभयो । पाण्डेले भन्नुभयो– ‘नीति पनि नेपालकै हो । नेतृत्व पनि उहाँकै हुन्छ । ओलीपक्षसँग कुनै विचार छैन । उनीहरु बैचारिक बहसमा हारिसकेका छन ।’

पत्रकारहरुको तपाईको प्रतिस्पर्धी को त ? भन्ने जिज्ञासामा नेता पाण्डेले आफूलाई आफ्नो प्रतिस्पर्धी कोही पनि नभएको बताउनुभयो । उहाँले भन्नुभयो – ‘खोई मलाई थाहा छैन् । मलाई त जानकारी छैन् । म चाँहि महासचिवको उम्मेदवार हुँ । अरुको बारेमा प्रश्न नगर्नुहोस् । नेता पाण्डेले आफ्नो प्यानल नै विजयी हुने पनि उद्घोष पनि गर्नुभयो ।