८ मंसिर २०८३, मंगलबार

बाँकेको चिसापानी मेलामा रातभर तनाव, प्रहरीद्वारा ८ राउण्ड हवाई फायर

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बाँकेको वैजनाथ गाउँपालिका–१ चिसापानीमा आयोजित मेलामा दुई समूहबीच विवाद चर्किएपछि प्रहरीले गोली चलाएर स्थिति नियन्त्रणमा लिएको छ । झडप रोक्न प्रहरीले आठ राउण्ड हवाई फायर गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी अंगुर जिसीका अनुसार सोमबार बिहान करिब ३ः४५ बजे इन्सास राइफलबाट हवाई फायर गरिएको थियो ।

मेलामा रातिको समयमा आगो तापेर बसिरहेका दुई समूहका युवाबीच विवाद सुरु भएपछि त्यसले उग्र रूप लिएको थियो । दुवै पक्षबीच ढुंगामुढा हुनुका साथै आगोको अगुल्टो प्रयोग गरेरसमेत आक्रमण भएको प्रहरीले जनाएको छ ।

झडप नियन्त्रणमा लिन पुगेको प्रहरी टोलीमाथि समेत आक्रमण भएको थियो । घटनामा प्रहरी सहायक निरीक्षक ९सई० सहित चार जना प्रहरी घाइते भएका छन् ।

दुई समूहबीचको भिडन्तले थप मानवीय क्षति हुन सक्ने अवस्था देखिएपछि प्रहरीले बल प्रयोग गर्नुपरेको एसपी जिसीले बताएका छन् ।

घटनामा एक सर्वसाधारणसमेत घाइते भएका छन् । उनको उपचार भइरहेको छ भने झडपमा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

चिसापानीमा लागेको उक्त मेला जागरण युवा क्लबले आयोजना गरेको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।