–प्रदीप तिमल्सिना
मेलबर्न (अस्ट्रेलिया) । नेपालको चितवनमा जन्मिएका शंकर धरेल अस्ट्रेलियाको भिक्टोरिया राज्यको राजनीतिमा प्रवेशका लागि चुनावी मैदानमा उत्रिएका छन् । आगामी नोभेम्बर २८ मा हुने राज्य निर्वाचनमा उनी लिबरल पार्टीका तर्फबाट नर्दर्न मेट्रोपोलिटन क्षेत्रबाट माथिल्लो सदन (लेजिस्लेटिभ काउन्सिल)का उम्मेदवार बनेका हुन् ।
पेसाले कानुन व्यवसायी रहेका धरेलको उम्मेदवारीलाई नेपाली समुदायले मात्र नभई अस्ट्रेलियाको बहुसांस्कृतिक समाजमा विभिन्न पृष्ठभूमिबाट आएका नागरिकको सार्वजनिक जीवन र राजनीतिक सहभागिताको सन्दर्भमा पनि महत्त्वपूर्ण रूपमा हेरिएको छ ।
धरेलका शुभचिन्तक वासु ढकालले उनलाई अस्ट्रेलियाको मूलधारको राजनीतिमा भूमिका निर्वाह गर्न सक्ने क्षमतावान् उम्मेदवारका रूपमा चित्रण गरेका छन् ।
ढकालका अनुसार धरेल अस्ट्रेलियाको बहुसांस्कृतिक समाजको भावना बुझ्ने र विभिन्न समुदायका आवाजलाई राजनीतिक तथा सामाजिक क्षेत्रमा प्रतिनिधित्व गर्न सक्ने उम्मेदवार हुन् ।
अस्ट्रेलिया बहुसांस्कृतिक पहिचान भएको देश हो । यहाँ विभिन्न देशबाट आएका नागरिकले व्यवसाय, शिक्षा, स्वास्थ्य, कानुन, विज्ञान, कला र सार्वजनिक सेवामार्फत देशको विकासमा योगदान दिँदै आएका छन् । यस्तो अवस्थामा राज्य र संघीय राजनीतिमा पनि विविध समुदायको सहभागिता बढ्नु बहुसांस्कृतिक लोकतन्त्रका लागि महत्त्वपूर्ण मानिन्छ ।
धरेलको उम्मेदवारीले नेपाली मूलका नागरिकको राजनीतिक सहभागिताको विषयलाई पनि चर्चामा ल्याएको छ । चितवनमा जन्मिएर अस्ट्रेलियाको राजनीतिक प्रतिस्पर्धासम्म पुगेका धरेलको यात्रालाई शुभेच्छुकहरूले नयाँ पुस्ताका आप्रवासीका लागि प्रेरणाको रूपमा लिएका छन् ।











प्रतिक्रिया