काठमाडौं । गएको शनिबार काठमाडौंमा झरी परिरहेको थियो । अलि चिसो पनि भएको, मौसम परिवर्तनले स्वास्थ्य बिग्रिएला कि भन्ने चिन्ताले घरबाट बाहिर निस्कौँ कि ननिस्कौँ भन्ने दोधार थियो । तर, नेपाल पर्यटन बोर्डको प्रेक्षालय भने कलाकार र हचलचित्र क्षेत्रका पारखीहरुले खचाखच थियो । त्यहाँ भारतीय अभिनेत्री शबाना आजमीका जीवनका कथा सुनाइरहेकी थिइन् । नेपाली अभिनेत्री स्वस्तिमा खड्का, आजमीको व्यक्तिगत, सामाजिक र पेशागत जीवनसँग सम्बन्धित अन्तरकुन्तरका प्रश्न सोधिइरहेकी थिइन् ।
चलचित्रको पर्दामा अनेक चरित्रमार्फत दर्शकको मन जितेकी आजमीले आफ्नो बाल्यकाल, अभिनय यात्रा, पारिवारिक सम्बन्ध, प्रेम, विवाह र महिलाको सामाजिक अवस्था बारे अनुभव र विचार सुनाइरहँदा उपस्थित सहभागी कुरा सुन्नमा मग्न थिए ।

काठमाडौं महानगरपालिकाले आयोजना गरेको ‘काठमाडौं फिल्म फेस्टिभल’ अन्तर्गत पर्यटन बोर्डमा आयोजना भएको ‘चलचित्र, महोत्सव र सार्थक जीवन (फिल्म्स्, फेस्टिभल्स एण्ड अ लाइफ वेल लाइभ्ड)’ विषयको प्यानल डिस्कसनको संवाद केवल दुई अभिनेत्री बीचको परिचयात्मक कुराकानीमा सीमित थिएन । यसमा अभिनयको यात्रा, कलाप्रतिको प्रतिबद्धता, सामाजिक चेतना, महिला समानता र व्यक्तिगत सम्बन्धका जीवन्त अनुभव मिसिएका थिए । फरक देश र पुस्ताका दुई अभिनेत्री एउटै मञ्चमा उभिएर आफ्ना अनुभव साट्दा संवाद रोचक बनेको थियो ।
६ महिनादेखि रङ्गमञ्चको वातावरण
संवादमा स्वस्तिमाले आजमीको अभिनय यात्रा प्रवेशसम्बन्धी जिज्ञासा राख्दै कुराकानी थालिन् । जवाफमा आजमीले आफ्नो बाल्यकाल र आमाको रङ्गमञ्चसँगको सम्बन्ध सम्झिइन् । उनकी आमा शौकत कैफी चर्चित रङ्गमञ्च अभिनेत्री थिइन् । आमाले आफूलाई छ महिनाको उमेरदेखि नै रिहर्सलमा लैजाने गरेको उनको भनाइ थियो ।

अभिनय र कलाको वातावरणमा हुर्किए पनि बाल्यकाल सहज थिएन । आर्थिक अभाव र सीमित स्रोत साधनका बीच बितेको बाल्यकाल सम्झँदै आजमीले भनिन्, ‘हामी एउटा सानो कोठामा बस्थ्यौँ । परिवारका आठ जना सदस्यले एउटै शौचालय प्रयोग गर्नुपथ्र्यो । मेरा बुबाले कमाएको सबै पैसा कम्युनिस्ट पार्टीलाई दिनुहुन्थ्यो । घर चलाउन हाम्रो परिवारले जम्मा ४० भारतीय रुपैयाँ पाउँथ्यो ।’
अभावले भरिएको पारिवारिक वातावरणमा आफूले काल्पनिक संसार निर्माण गर्न थालेको उनको भनाइ थियो । जीवनका कठिनाइले नै आफूभित्र कल्पनाशील बनाएको, सिर्जनात्मकताको विकासमा सघाएको उनले अनुभव सुनाइन् ।
अभिनयलाई नै पेशा बनाउने निर्णय गर्दा परिवारको साथ कस्तो थियो भन्ने प्रश्नमा उनले आफ्ना बुबा (जो कवि पनि थिए) नप्रख्यात कवि कैफी आजमीको सम्झना गरिन् । फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया (एफटीआईआई)मा अध्ययन गर्ने निर्णय सुनाउँदा बुबाले दिएको जवाफ उनको जीवनको महत्वपूर्ण प्रेरणा बनेको रहेछ ।
‘तिमीले जुनसुकै बाटो रोजे पनि म तिम्रो साथ दिनेछु । भोलि तिमीले जुत्ता सिलाउने मोची बन्ने इच्छा गरे पनि म तिम्रै साथमा हुनेछ । तर, त्यो पेशामा तिमी सबैभन्दा उत्कृष्ट हुनुपर्छ ।’ बुबाको भनाइ उद्धृत गर्दै आजमीले दिएको अभिव्यक्तिमा बुबाप्रतिको सम्मान र आत्मविश्वास झल्किन्थ्यो । उनको भनाइमा पेशा ठूलो वा सानोभन्दा पनि आफूले रोजेको काममा उत्कृष्ट बन्ने प्रतिबद्धता महत्वपूर्ण हुने जीवनदृष्टि थियो ।
अभिनेत्री खड्काले, आजमीको परिवारमा रहेको राजनीतिक चेतना, साहित्यिक वातावरण र लैङ्गिक समानताको सोचले उनको अभिनय जीवनलाई कसरी प्रभावित गर्यो भन्ने प्रश्न गर्दा, जवाफमा आजमीले आफ्ना बुबाले करिब ७५ वर्षअघि लेखेको एउटा कविताको प्रसङ्ग निकाल्दै बिम्बात्मक उत्तर दिएकी थिइन् । त्यस कवितामा महिलालाई पुरुषको पछाडि होइन, उनीहरूसँगै काँधमा काँध मिलाएर हिँड्न आह्वान गरिएको थियो ।
‘म हुर्कँदा समानता जीवनको स्वाभाविक नियम हो भन्ने लाग्थ्यो । तर १९ वर्षको उमेरमा पुगेपछि समाजमा समानता स्वाभाविक अवस्था नभई अपवाद रहेछ भन्ने महसुस गरेँ ।’ उनले जीवन भोगाइको अनुभव सुनाउँदै भनिन्, ‘परिवारबाट प्राप्त प्रगतिशील सोच र सामाजिक चेतनाले आफूलाई कलाकारका रूपमा मात्र नभई नागरिकका रूपमा पनि आकार दियो । त्यसैले आफूले अभिनय गर्ने चलचित्रमा मनोरञ्जनका साथमा सामाजिक प्रश्न र मानवीय संवेदनाका विषय समेटिएको छ या छैन भनेर स्क्रिप्टमा खोज्ने गर्थेँ ।’
‘कलाकारको जीवनमा एउटा यस्तो समय आउँछ, जब आफ्नो कामलाई केवल बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्मको जागिर जस्तो ठान्न सकिँदैन । यसबाट जीवनको अर्थ र मर्म महसुस हुन्छ । शोषण, दमन र मानव अधिकारका विषय चेतना जागृत हुन्छ । यसकारण अधिकारका विषयमा कलाकारहरु चुप लागेर बस्न सक्दैनन् ।’ उनले जागरणका लागि बिद्रोहका आवाज यतैबाट आउने बताइन् ।
संवादमा आजमी र स्वस्तिमाको अभिनय यात्रामा पनि केही समानता भेटिए । श्याम बेनेगल निर्देशित चलचित्र ‘अंकुर’बाट अभिनय यात्रा सुरु गरेकी आजमीले व्यावसायिक र कलात्मक दुवै धारका चलचित्रमा आफ्नो प्रभाव स्थापित गरेकी छन् । स्वस्तिमाले पनि व्यावसायिक चलचित्रबाट यात्रा सुरु गरे पनि ‘बुलबुल’ चलचित्रमा अभिनय गरेपछि पेशागत जीवनले नयाँ मोड लिएको हो । दुवै अभिनेत्रीले महिला पात्रका फरक आयाम र सशक्त भूमिकालाई आफ्नो अभिनय यात्रामा महत्व दिएका छन् ।
सन् १९७४ मा ‘अंकुर’मा गरेको अभिनयबाट राष्ट्रिय चलचित्र पुरस्कारमा सर्वोत्कृष्ट अभिनेत्रीको सम्मान पाएकी आजमीले त्यसपछि ‘अर्थ’, ‘मासुम’, ‘पार’ र दीपा मेहताको ‘फायर’ जस्ता चलचित्रमा प्रभावशाली अभिनय गरेकी छन् । ‘अमर अकबर एन्थोनी’, ‘परवरिश’ र ‘अवतार’ जस्ता लोकप्रिय चलचित्रमा आजमीको भूमिकामा दर्शक सन्तुष्ट छन् ।
कलात्मक चलचित्रमा काम गर्ने कलाकार व्यावसायिक चलचित्रमा सफल हुन सक्दैनन् भन्ने धारणा आफूले धेरै पटक सुन्नुपरेको आजमीको भोगाइ छ । उनका लागि चलचित्रको विधाभन्दा त्यसको कथा र प्रस्तुतिमा सशक्त अभिनय महत्वपूर्ण छ । उनी भन्छिन्, ‘एउटा कलाकारका लागि माध्यमभन्दा पनि कथा र त्यो कथा कति इमानदारीका साथ प्रस्तुत गरिएको छ भन्ने कुरा बढी महत्वपूर्ण हुन्छ ।’ उहाँले स्पष्ट पार्नुभयो । व्यावसायिक र कलात्मक चलचित्र बिचको अन्तरका विषयमा आफ्नो अनुभवलाई एक वाक्यमा व्यक्त गर्दै उहाँले भन्नुभयो, ‘व्यावसायिक चलचित्रले मलाई आर्थिक रूपमा सुरक्षित बनाएको छ भने कलात्मक चलचित्रले आत्मिक सन्तुष्टि दिलाएको छ ।’
विवाहको जगमा मित्रता र एकअर्काप्रतिको सम्मान
संवादले अभिनयबाट व्यक्तिगत सम्बन्धतर्फ मोड लिँदा स्वस्तिमाले आजमीसँग गीतकार, पटकथा लेखक तथा कवि जावेद अख्तरसँगको वैवाहिक सम्बन्धबारे जिज्ञासा राखिन् । फरक व्यक्तित्व भएका दुई व्यक्तिले कसरी एकअर्कालाई बुझ्छन् र सम्बन्धलाई सन्तुलित राख्छन् भन्ने प्रश्नको जवाफमा आजमीले भनिन्, ‘सम्बन्धको सबैभन्दा बलियो आधार मित्रता हो । जावेद मसँग सबैभन्दा धेरै मिल्ने साथी हुनुहुन्छ । म पनि उहाँसँग सबैभन्दा धेरै मिल्छु । यसैले हाम्रो सम्बन्ध सन्तुलित बनाएको छ ।’
आफूलाई न्यूनतमवादी र अख्तरलाई अधिकतमवादी स्वभावको व्यक्तिका रूपमा चित्रण गर्दै उनले भनिन्, ‘एकअर्काको व्यक्तित्व र व्यक्तिगत स्वतन्त्रताको सम्मान गर्नु सम्बन्धको महत्वपूर्ण पक्ष हो ।’ विवाद समाधानको उपाय बताउँदै उनले थपिन्, ‘कहिलेकाहीँ सामान्य बहस पनि विवादमा परिणत हुन सक्ने अवस्था आयो भने हामी एउटा सरल वाक्य प्रयोग गर्छौँ । त्यो हो, यसलाई छोडौँ । यो वाक्यले हामी बिचको तनाव तत्काल कम गर्छ । दुवै शान्त भएपछि फेरि त्यही विषयमा फर्किएर छलफल गर्छौँ ।’ उनले सम्बन्ध व्यवस्थापनको सुत्र सुनाइन् ।
प्रेममा एकअर्काका कमजोरी र सबल पक्षलाई स्वीकार गर्न सक्नु नै सबैभन्दा महत्वपूर्ण हुने उनको अनुभव छ ।

आजमीले आफ्नो सम्बन्धको प्रसङ्ग उठाएपछि स्वस्तिमाले पनि फिल्म निर्देशक निश्चल बस्नेतसँगको वैवाहिक जीवन बारे अनुभव सुनाइन् ।
‘स्वभावका हिसाबले आफूहरू निकै फरक भए पनि सोच र जीवनका आधारभूत मूल्यमा समानता छ ।’ खड्काको भनाइ थियो ।
‘हाम्रा बानी र व्यक्तित्व फरक छन् । उहाँ अन्तर्मुखी हुनुहुन्छ भने म बहिर्मुखी छु । तर हाम्रा आधारभूत मूल्य मान्यता र सोच धेरै हदसम्म समान छन् । जीवनप्रतिको दृष्टिकोण र इमानदारीको भावनाले हाम्रो सम्बन्धलाई बलियो बनाएको छ ।’ आफ्नो सम्बन्धका विषयमा खड्काले खुलेर सुनाइन् ।
दुई अभिनेत्रीका अनुभवले सम्बन्ध टिकाउन समान स्वभाव वा रुचि नै आवश्यक नहुने, त्योभन्दा महत्वपूर्ण चाहिँ एकअर्काप्रतिको सम्मान, विश्वास र साझा मूल्य बोध आवश्यक रहेको सन्देश दिएको छ ।
पर्दामा मात्र होइन, समाजमा पनि पितृसत्ताविरुद्ध आवाज
संवादको महत्वपूर्ण हिस्सा महिलाको भूमिका र पितृसत्तात्मक सामाजिक संरचना विरुद्धको संघर्षमा केन्द्रित रह्यो । स्वस्तिमाले पर्दामा र पर्दा बाहिर महिलाले पितृसत्ताको सामना कसरी गर्न सक्छन् भन्ने प्रश्न राखिन् ।
आजमीले विगतका चलचित्रमा महिलालाई प्रस्तुत गर्ने तरिका र अहिले निर्माण भइरहेका चलचित्रका महिला पात्र बीच तुलना गरिन् । कुनै समय मूलधारका चलचित्रमा महिलालाई कमजोर, पुरुषको छायाँमा रहने वा पुरुष पात्रको कथालाई अघि बढाउने सहायक भूमिकामा सीमित गरिन्थ्यो । अहिले, अहिले महिला पात्रको प्रस्तुति र भूमिकामा क्रमशः परिवर्तन भइरहेको छ । मुख्य भूमिकामा महिलाहरुलाई पनि राख्न थालिएको छ । यसो हुनुको कारण आफ्ना कथा सुनाउनु हो । उनले भनिन्, ‘परिवर्तनका लागि भइरहेको यो संघर्षमा कलाकारको महत्वपूर्ण भूमिका हुन्छ । समाजलाई आफ्नै व्यवहार र सोचमाथि प्रश्न गर्न बाध्य पार्ने कथाहरू हामीले भन्नुपर्छ ।’ उनले विचार राखिन् । बलिया महिला पात्र र अर्थपूर्ण भूमिका सिर्जना गर्ने निर्देशकहरूको प्रशंसा गर्दै उनले युवा महिला कलाकारसँग अपेक्षा राख्दै भनिन्, ‘आफ्नो कामप्रति इमानदार हुनुपर्छ । र, आवश्यक पर्दा निर्भीक भएर आवाज उठाउनु पर्छ ।’
आजमीका लागि चलचित्र केवल मनोरञ्जनको माध्यम मात्र होइन । समाजको सोच र व्यवहार परिवर्तनमा योगदान दिन सक्ने प्रभावकारी माध्यम पनि हो । कलाकारले पदामा कस्ता पात्र र कथा प्रस्तुत गर्छन् भन्ने कुराले समाजमा महिलाप्रतिको दृष्टिकोण निर्माण गर्न सहयोग पुग्ने उनको धारणा छ ।
दर्शकको मायाले भावुक
दुई अभिनेत्री बीचको संवाद सकिन लाग्दा दर्शकका लागि प्रश्नोत्तरको समय छुट्याइएको थियो । त्यस क्रममा एक सहभागीले आफू शबाना आजमीका चलचित्र हेर्दै हुर्किएको र आज आफ्नै अगाडि उहाँलाई देख्दा विश्वास गर्न गाह्रो भइरहेको बताए ।
दर्शकको उक्त अभिव्यक्तिले आजमी भावुक बनिन् । लामो अभिनय यात्रामा आफूले कमाएको दर्शकको माया र सम्मानलाई उनले आत्मीयतापूर्वक स्वीकारेर उनले आभार व्यक्त गरिन् ।
स्वस्तिमाका प्रश्न र आजमीका जवाफले एउटा स्पष्ट सन्देश दिइरहेको थियो, ‘कलाकारको सफलता पुरस्कार र लोकप्रियतामा मात्र सीमित हुँदैन । आफूले रोजेको कामप्रतिको इमानदारी, समाजप्रतिको जिम्मेवारी, सम्बन्धमा आपसी सम्मान र समानताप्रतिको प्रतिबद्धताले पनि कलाकारको व्यक्तित्व निर्माण गर्छ ।’
यी संवादहरु दुई पुस्ताका अभिनेत्री बिचको भेट मात्र थिएन । कला, जीवन र सामाजिक परिवर्तन बारेको एउटा अर्थपूर्ण विमर्श समेत थियो ।















प्रतिक्रिया