काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणनामा प्रदीप पौडेलले अग्रता लिएका छन्। पछिल्लो मतपरिणामअनुसार पौडेलले प्रतिस्पर्धी उदयशमशेर राणाको तुलनामा झन्डै दोब्बर मत प्राप्त गरेका छन्।
ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा शनिबार साँझदेखि जारी मतगणनामा पौडेलले १ हजार ३ सय ७० मत प्राप्त गरेका छन्। दोस्रो स्थानमा रहेका राणाको पक्षमा ७ सय ८३ मत परेको छ।
त्यस्तै, अमर पुनले ६ सय ८७ र सुनिल शर्माले ५ सय ३९ मत पाएका छन्। महामन्त्रीका लागि भएको प्रतिस्पर्धामा खुलातर्फ दुई जना र महिलातर्फ एक जना निर्वाचित हुने व्यवस्था छ।
हालसम्मको गणनामा खुलातर्फ पौडेल, राणा, पुन र शर्माबीचको मतान्तर देखिएको छ। यद्यपि अन्तिम नतिजाका लागि बाँकी मतगणना सम्पन्न हुनुपर्नेछ।
महिलातर्फको महामन्त्री पदमा डा. डिला संग्रौला (पन्त), महालक्ष्मी उपाध्याय (डिना) र रीता खनाल प्रतिस्पर्धामा छन्। यसअघि बिहानसम्म प्राप्त विवरणमा डिला अगाडि देखिएकी थिइन्। तर, महिलातर्फको पछिल्लो मतपरिणाम सार्वजनिक भइसकेको छैन।
यसैगरी, उपसभापति पदको मतगणनाबाट पनि नयाँ परिणाम प्राप्त भएको छैन। खुलातर्फ डा. चन्द्रकान्त भण्डारी, इन्जिनियर मधु आचार्य, गोविन्द भट्टराई, सुरेन्द्रराज पाण्डे, दीपक गिरी, धनराज गुरुङ र प्रा. डा. चन्द्रमोहन यादव प्रतिस्पर्धामा छन्।
समावेशीतर्फको उपसभापति पदमा विनोदकुमार चौधरी, जीवन परियार, फरमुल्लाह मन्सुर, सीता गुरुङ र रञ्जित कर्ण चुनावी प्रतिस्पर्धामा छन्। मतगणनाबाट खुलातर्फ दुई र समावेशीतर्फ एक जना उपसभापति निर्वाचित हुनेछन्।
कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल भने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्। अब बाँकी पदको अन्तिम टुंगो मतगणना सम्पन्न भएपछि लाग्नेछ।











प्रतिक्रिया