धनगढी । लामो समयदेखि बजेटविहीन अवस्थामा रहेको सुदूरपश्चिम प्रदेश सरकारले आज चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ।
प्रदेशसभा सचिवालयका अनुसार बुधबार साँझ ५ बजे बस्ने बैठकमा सरकारका आर्थिक मामिला तथा योजनामन्त्री चक्रबहादुर मल्लले बजेट वक्तव्य प्रस्तुत गर्नेछन्। त्यसका लागि प्रदेशसभाले आवश्यक कार्यसूचीसमेत तय गरेको छ।
सुदूरपश्चिम प्रदेशमा नयाँ आर्थिक वर्ष सुरु भएको लामो समय बितिसक्दा पनि बजेट पारित हुन सकेको थिएन। यसअघि गत असार १ गते तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारले प्रदेशसभामा बजेट पेस गरेको थियो। तर, सत्तारूढ दलभित्रै बजेटप्रति असहमति बढेपछि बजेट पारित हुन सकेन।
बजेटकै विषयमा तत्कालीन सरकारलाई नेकपा (एमाले) ले साथ नदिएपछि शाह नेतृत्वको सरकार संकटमा परेको थियो। त्यसपछि राजनीतिक समीकरण फेरिएसँगै एमालेको समर्थनमा खगराज भट्टको नेतृत्वमा साउन २९ गते नयाँ प्रदेश सरकार गठन भएको थियो।
सरकार परिवर्तनपछि लामो समयदेखि रोकिएको बजेट प्रक्रिया अघि बढाइएको हो। नयाँ सरकारले आज प्रदेशसभामा बजेट पेस गर्न लागेको हो।
बजेट पारित हुन नसक्दा प्रदेश सरकार पछिल्लो करिब तीन महिनादेखि ‘बजेट होलिडे’को अवस्थामा रहँदै आएको थियो। आज बजेट प्रस्तुत भएपछि प्रदेशको आर्थिक गतिविधि र विकास निर्माणका कामले गति लिने अपेक्षा गरिएको छ।











प्रतिक्रिया