२८ आश्विन २०८३, बुधबार

राधिका आमाको जलेको सपनाले उब्जाएको प्रश्न

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-धर्मराज तिमिल्सीना

एउटा घर ढल्यो, तर त्यसका भित्ताभित्र हुर्किएका सपना, स्मृति, इतिहास र मानवीय करुणा कहाँ ढल्छन् र ? घर जलेपछि खरानी बाँकी रहन्छ। तर सपना जलिसकेपछि के बाँकी रहन्छ ? यो प्रश्नको उत्तर खोज्न बालकोटको त्यो भग्नावशेषतिर फर्किनुपर्छ, जहाँ राधिका शाक्यको ३३ वर्षको जागिर, श्रम, पसिना, पारिवारिक स्मृति र जीवनका असंख्य कथा एकैपटक खरानीमा परिणत भए। उहाँको संस्मरणमा बालकोटको घर केवल इँटा, ढुंगा र सिमेन्टको संरचना थिएनन् त्यो लामो संघर्षपछि बनाइएको आफ्नो संसार, हजारौँ पुस्तकको ज्ञानभण्डार, देश–विदेशबाट प्राप्त मायाका चिनो, पारिवारिक सम्झना र सार्वजनिक जीवनका अनेक ऐतिहासिक क्षणको साक्षी थियो। त्यसैले राधिका आमाको पीडा एउटा घर गुमाउनुको पीडा मात्र होइन। यो सपनाको भग्नावशेषमाथि उभिएर स्मृतिलाई बचाइराख्ने एउटा आमाको कथा हो।

राधिका आमाको पीडा एउटा घर गुमाउनुको पीडा मात्र होइन। यो सपनाको भग्नावशेषमाथि उभिएर स्मृतिलाई बचाइराख्ने एउटा आमाको कथा हो।

 

 

 


त्यो घर कसरी बनेको थियो ?

आज भग्नावशेष देख्नेहरूले सायद कल्पना गर्न सक्दैनन्, त्यहाँ एउटा घर बन्न कति वर्ष लाग्यो, कति पसिना बग्यो र कति अभावसँग सम्झौता गर्नुपर्‍यो। राधिका शाक्यले आफ्नो जीवनको सुरुवात सम्पन्नताबाट गरेकी थिइनन्। सानो घर, सामान्य जागिर र सीमित स्रोतबीच जीवन अघि बढ्दै थियो। त्यसैबीच १४ वर्षको जेल जीवन बिताएर निस्किएका केपी शर्मा ओलीसँग विवाह भयो। उहाँसँग तत्काल कुनै ठूलो आर्थिक आधार थिएन, थियो त देश र जनताका लागि केही गर्ने सपना। त्यो सपनासँगै राधिकाले पनि आफ्नो जीवन जोडिन्। घर बनाउने निर्णय पनि कुनै विलासिताको चाहना थिएन। जीवनका अनेक डेरा, जिम्मेवारी, स्वास्थ्य समस्या र बढ्दो सामाजिक–राजनीतिक सम्पर्कबीच एउटा आफ्नै घर आवश्यक भयो। ऋण लिएर, पुरानो घर बेचेर, आफन्तको सहयोग लिएर र आफ्नो श्रम–परिश्रम जोडेर त्यो घर क्रमशः उभियो।

आज भग्नावशेष देख्नेहरूले सायद कल्पना गर्न सक्दैनन्, त्यहाँ एउटा घर बन्न कति वर्ष लाग्यो, कति पसिना बग्यो र कति अभावसँग सम्झौता गर्नुपर्‍यो। राधिका शाक्यले आफ्नो जीवनको सुरुवात सम्पन्नताबाट गरेकी थिइनन्।

 

 

 

 

घर निर्माण भयो, तर त्यससँगै एउटा संसार पनि निर्माण हुँदै गयो। त्यो घरमा केवल परिवार बस्दैनथ्यो। बालकोटको घरको अर्थ चार भित्ताभित्र सीमित थिएन। त्यहाँ नेता आउँथे, कार्यकर्ता आउँथे, साहित्यकार आउँथे, देश–विदेशका पाहुना आउँथे। बैठक हुन्थे। छलफल हुन्थे। चिया पाक्थ्यो। खाना पाक्थ्यो। कहिलेकाहीँ सयौँ मानिसका लागि खाजा तयार हुन्थ्यो। राधिका आमाको भान्साले कति मानिसको भोक मेटायो, त्यसको कुनै हिसाब छैन। त्यो घरको भान्सा एउटा अर्थमा राजनीतिक घरको भान्सा मात्र थिएन, आत्मीयताको भान्सा थियो। घरमा आएका मानिसका लागि खाना पकाउनु उहाँको नियमित जीवनको हिस्सा थियो। त्यसैले घरका कोठा–कोठामा मानिसका पदचिह्न थिए, भित्ताभित्तामा स्मृतिका तस्बिर थिए र दराज–दराजमा कसैले मायाले दिएको चिनो थिए, जहाँ मैले बाजुराको बढडिमालिका र बुढीनन्दा लाई चिनाउन दिएको तस्वीर उपहार पनि थिए, म जनप्रशासन क्याम्पसमा अनेरास्ववियुको अध्यक्ष हुँदै गर्दा एक कार्यकाल (१ वर्षमा) मा प्रकाशित गरिएका जर्नल, बीपीएएमपीएका प्रश्नपत्रको संगालो, डायरी र क्यालेण्डर अनि मेरो कार्यकालमा गरेका कामहरूको सूची सहितको तस्वीरहरू पनि थिए। आज ती सबै छैनन्। तर तिनले बोकेको मायाको अर्थ कहाँ हराउँछ ?

दश हजार पुस्तकको खरानी

सायद बालकोटको सबैभन्दा ठूलो क्षति घरको भौतिक संरचनाको क्षति थिएन। त्यो ज्ञानको एउटा सम्भावित संसारको विनाश। राधिका आमाले वर्षौँ लगाएर करिब दस हजार पुस्तक जम्मा गरेकी थिइन्। विषयअनुसार मिलाएर राखेकी थिइन्। धर्म, संस्कृति, महिला, राजनीति, अर्थतन्त्र, सार्वजनिक प्रशासन, स्थानीय सरकार, संसद्, कृषि, उद्योग, हिमाल, संस्कृति, अनुसन्धान र विभिन्न मुलुकसँग सम्बन्धित पुस्तक तथा दस्तावेजहरू त्यहाँ संग्रहित थिए। ६–७ हजार पुस्तक त कम्प्युटरमा अभिलेखसमेत भइसकेका थिए।

उहाँको सपना थियो। यो निजी संग्रहलाई एक दिन सार्वजनिक पुस्तकालय बनाउने। राधिका आमा भन्थिन् नयाँ पुस्ताले पढोस्। अनुसन्धानकर्ताले खोजोस्। इतिहास बुझ्न चाहनेले सामग्री पाओस्। तर त्यो सपना पूरा हुन पाएन। पुस्तकहरू जले। दस्तावेजहरू जले। तस्बिरहरू जले। उपहारहरू जले।

 

 

 

उहाँको सपना थियो। यो निजी संग्रहलाई एक दिन सार्वजनिक पुस्तकालय बनाउने। राधिका आमा भन्थिन् – नयाँ पुस्ताले पढोस्। अनुसन्धानकर्ताले खोजोस्। इतिहास बुझ्न चाहनेले सामग्री पाओस्। तर त्यो सपना पूरा हुन पाएन। पुस्तकहरू जले। दस्तावेजहरू जले। तस्बिरहरू जले। उपहारहरू जले। जीवनका प्रमाणहरू जले। तर एउटा प्रश्न बाँकी रह्यो। पुस्तक जलाउँदा ज्ञान पनि जल्छ र ? कागज जल्छ। अक्षरको प्रतिलिपि रहन सक्छ। तर ज्ञानको मूल्य जलाएर समाप्त गर्न सकिँदैन। त्यो घरमा देशभरको नेपाल थियो। बालकोटको घरमा केवल परिवारका वस्तु थिएनन्। नेपालका विभिन्न भूगोल र समुदायबाट प्राप्त उपहार थिए। हिमाली जिल्लाबाट ल्याइएका राडी–पाखी थिए। विभिन्न जातजातिका मौलिक पोसाक थिए। हस्तकलाका सामग्री थिए। ढुंगा, मूर्ति, पौभा र सांस्कृतिक चिनो थिए।

कुनै वस्तु आर्थिक मूल्यमा महँगो थियो होला, कुनै सस्तो। तर राधिकाका लागि ती वस्तुको मूल्य बजारले निर्धारण गर्दैनथ्यो। ती वस्तुमा मानिसको माया जोडिएको थियो। कसैले आफ्नो गाउँबाट ल्याएर दिएको थियो। कसैले आफ्नो संस्कृति चिनाएको थियो। कसैले भेटको सम्झनास्वरूप दिएको थियो। त्यसैले एउटा वस्तु नष्ट हुनु भनेको केवल एउटा वस्तु हराउनु थिएन। त्यससँगै कसैको माया, कसैको संस्कृति र कसैको सम्झनाको एउटा अंश हराउनु थियो। उसैमाथि राधिका आमाले आफ्नो सबै सम्पत्ति आफू र केपी शर्मा ओलीको शेषपछि राज्यको हुने गरी हस्तान्तरण समेत गरिसकेको थियो। त्यो संग्रहालय थियो।

उहाँ सामान जम्मा गर्ने मान्छेभन्दा स्मृति जम्मा गर्ने मान्छे हुनुहुन्थ्यो। त्यसैले घर जल्दा सामान मात्र जलेनन्। उहाँका स्मृतिका पानाहरू पनि जले। तर सबैभन्दा ठूलो कुरा उहाँको सहयोगी मन जलेन। यहीँ आएर ‘राधिका आमा’को कथा अझ अर्थपूर्ण हुन्छ।

 

 

 

राधिका आमाको घरमा ‘मानिस’ सबैभन्दा ठूलो वस्तु थियो। उहाँको संस्मरण पढ्दा एउटा रोचक कुरा देखिन्छ, घरका सामानभन्दा बढी उहाँले ती सामानसँग जोडिएका मानिस र क्षण सम्झनुभएको छ। एउटा टेबल कसले दिएको ?, एउटा मूर्ति कहाँबाट आयो ?, कुन उपहार कसले दियो ?, कुन दिन कति मानिसलाई खाना खुवाइयो ?, कुन अवसरमा कुन तस्बिर खिचियो ? यी विवरणले एउटा गहिरो कुरा बताउँछन्। उहाँ सामान जम्मा गर्ने मान्छेभन्दा स्मृति जम्मा गर्ने मान्छे हुनुहुन्थ्यो। त्यसैले घर जल्दा सामान मात्र जलेनन्। उहाँका स्मृतिका पानाहरू पनि जले। तर सबैभन्दा ठूलो कुरा उहाँको सहयोगी मन जलेन। यहीँ आएर ‘राधिका आमा’को कथा अझ अर्थपूर्ण हुन्छ।

आफ्नो घर जल्यो। जीवनभरको परिश्रम खरानी भयो। पुस्तकालय नष्ट भयो। तस्बिर र दस्तावेजहरू गए। आफूले वर्षौँ जोगाएका मायाका चिनोहरू रहेनन्। यति ठूलो व्यक्तिगत पीडापछि पनि उहाँको लेखनी केवल प्रतिशोधको भाषामा दौडिएको छैन। उहाँ प्रश्न गर्नुहुन्छ, आन्दोलन र हिंसाबीचको सीमा कहाँ छ ? परिवर्तनका नाममा आगो लगाउँदा के–के जल्छ ? समाजले यस्तो घटना फेरि नदोहोरियोस् भनेर के सिक्ने ? यही प्रश्नले उहाँको पीडालाई व्यक्तिगत दुःखबाट सामाजिक प्रश्नमा रूपान्तरण गर्छ।

भग्नावशेष केवल बालकोटमा छैन। यदि एउटा समाजले आफ्ना घरहरूमा सुरक्षित राखेका स्मृति, पुस्तक, दस्तावेज र मानवीय सम्बन्धको मूल्य बुझ्न छाड्यो भने भग्नावशेष घरमा मात्र हुँदैन। समाजको चेतनामा पनि बन्छ। हामीले लोकतन्त्र चाहेका हौँ भने असहमतिको अधिकार पनि चाहिन्छ। परिवर्तन चाहेका हौँ भने प्रश्न गर्ने अधिकार पनि चाहिन्छ। तर परिवर्तनको बाटोमा कसैको घर, पुस्तकालय, इतिहास र स्मृतिलाई जलाउने अधिकार कसैलाई हुँदैन। किनकि आगोले विचारसँग बहस गर्दैन। आगोले पुस्तकको पक्ष र विपक्ष छुट्याउँदैन। आगोले इतिहास र व्यक्तिगत स्मृतिको फरक बुझ्दैन। आगोको स्वभाव एउटै हुन्छ मात्रै जलाउने। त्यसैले सभ्य समाजको पहिचान आगो बाल्ने क्षमतामा होइन, आगो निभाउने विवेकमा हुन्छ।

राधिका आमाको सबैभन्दा ठूलो सपना सायद बालकोटको घर आफैँ थिएन। घर त एउटा माध्यम थियो। त्यसभित्र एउटा परिवार थियो। एउटा पुस्तकालय थियो। देशभरका मानिसको माया थियो। इतिहास थियो। संस्कृति थियो। स्मृति थियो। र भविष्यका लागि ज्ञान बाँड्ने एउटा सपना थियो। त्यसैले आज बालकोटको त्यो घरको भग्नावशेषतिर हेर्दा प्रश्न उठ्छ। के घर ढल्यो भनेर सपना पनि ढल्यो ? सायद छैन। किनकि सपना इँटा र सिमेन्टमा मात्र बस्दैन। सपना मानिसको चेतनामा बस्छ। स्मृतिमा बस्छ। पुस्तकका अक्षरमा बस्छ। अर्को पुस्ताले सिक्ने पाठमा बस्छ। राधिका आमाको घर खरानी भयो होला, तर उहाँले लेखेर छोडेको स्मृतिले एउटा महत्वपूर्ण प्रश्न जीवित राखेको छ। हामी कस्तो समाज बनाउन चाहन्छौँ ? असहमतिको जवाफ आगोले दिने समाज कि संवादले दिने समाज ?

के घर ढल्यो भनेर सपना पनि ढल्यो ? सायद छैन। किनकि सपना इँटा र सिमेन्टमा मात्र बस्दैन। सपना मानिसको चेतनामा बस्छ। स्मृतिमा बस्छ। पुस्तकका अक्षरमा बस्छ। अर्को पुस्ताले सिक्ने पाठमा बस्छ। राधिका आमाको घर खरानी भयो होला, तर उहाँले लेखेर छोडेको स्मृतिले एउटा महत्वपूर्ण प्रश्न जीवित राखेको छ।

 

 

 

भग्नावशेषबाट उठेको एउटा करुण आवाज यो मानवीय करुणाको आवाज हो। आफ्नै घर गुमाएकी एउटी महिला देशमा बाढीपहिरोले घरबार गुमाएका, आफन्त गुमाएका मानिसहरूको दुःखमा पनि आफूलाई जोड्छिन्। आफ्नै पीडाको बीचमा अरूको पीडा देख्न सक्नु सामान्य कुरा होइन। त्यसैले ‘राधिका आमा’को वास्तविक परिचय शायद यही हो। आफ्नो घर खरानी हुँदा पनि अरूको घरमा चुलो बलोस् भन्ने चिन्ता गर्ने मन। यही मनले एउटा घरलाई घरभन्दा ठूलो बनाउँछ। आज बालकोटमा ती भित्ताहरू छैनन्। त्यो पुस्तकालय छैन। ती तस्बिरहरू छैनन्। ती उपहारहरू छैनन्। ती कोठाहरू छैनन्। तर एउटा कुरा बाँकी छ। त्यो घरभित्र देखेको सपना। र सपना खरानी हुँदैन। भग्नावशेषमाथि उभिएर राधिका आमा आज पनि त्यही प्रश्न गरिरहेकी छिन्, हामीले जलाएको घर फेरि बनाउन सक्छौँस तर जलेको मानवीयता कसरी पुनर्निर्माण गर्ने ? सायद यही प्रश्न नै ‘राधिका आमाका सपनाको भग्नावशेष’ को सबैभन्दा ठूलो अर्थ हो।